Comments Add Comment

प्रचण्डपत्नी सीताको बिमारको भित्री कथा !

Photo Credit : onlinekhabar/File photo

१६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड यतिबेला पारिवारिक भ्रमणका लागि दुबईमा छन् । मंगलबार दुबई प्रस्थान गरेका प्रचण्डले पत्नी सीताको इच्छा पूरा गर्न भ्रमण गरेको निकटस्थहरुलाई बताएका छन् । यो उनीहरुको विशुद्ध पारिवारिक भ्रमण हो ।

राजनीतिमा व्यस्त प्रचण्डले पछिल्लो समय परिवारलाई समय दिइरहेका छन् । परिवारसँग विभिन्न रिसोर्टमा रमाउनु, उपचारका लागि विभिन्न देश पुग्नु र बिहे गरेको ५० वर्ष भएको उपलक्ष्यमा फेरि बिहे गर्नु प्रचण्डले पत्नी सीताको खुशीका लागि देखाएको प्रेम हो । प्रचण्डको पत्नीप्रेमबाट सीताले जटिल रोगसँग संघर्ष गरिरहेको थाहा लाग्छ ।

पुत्र वियोगमा विचलित भइरहेकी सीता जीवनभर निको नहुने रोगबाट पीडित छिन् । सोही कारण पनि उनको खुशीका लागि प्रचण्ड मरिमेटेर लागिरहेका छन् । पछिल्लो भ्रमण त्यसैको निरन्तरता भएको उनी आफैंले बताइसकेका छन् ।

मंगलबार प्रचण्डको टोली दुबई प्रस्थान गर्दैगर्दा विमानस्थलबाट खिचिएको भिडियोमा सीतालाई छोरी रेणु र नातिनीले सम्हालेर भित्र लगेको देखिन्छ । उक्त भिडियो हेर्दा सीताको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको प्रष्ट हुन्छ ।

त्यसो त सीताका यस्ता तस्वीर र भिडियो बाहिरिएको यो पहिलोपटक भने होइन । उनी अस्वस्थ भएको समाचार बाहिरिएको एक वर्ष नाघिसकेको छ । त्यसयता स्वास्थ्य अवस्थालाई लिएर धेरै समाचार बाहिरिए पनि सीतालाई के भएको हो भन्ने वास्तविकता स्पष्ट भइसकेको थिएन ।

प्रचण्ड परिवार दुबई जाँदै गर्दा सीताको नाजुक अवस्थाको भिडियो सार्वजनिक भएपछि प्रचण्ड परिवारको दुबई प्रस्थान पारिवारिक भ्रमण बताइए पनि उपचारकै लागि हो कि भन्ने धेरैले अड्कल काटेका छन् ।

सीताको उपचारका लागि हो त दुबई भ्रमण ?

सीताका निजी चिकित्सक डा. युवराज शर्मा प्रचण्ड परिवारको पारिवारिक भ्रमण विशुद्ध आराम गर्नका लागि भएको बताउँछन् । सीताले यहाँ दिक्दारी महुसस गरेपछि छोटो समयका लागि भए पनि उनीहरु दुबई गएको शर्माको भनाइ छ । डा. शर्माका अनुसार अहिले सीताको ‘डायबिटिज’ नियन्त्रणको क्रममा छ भने ‘पीएसपी’ले सताइरहेको छ ।

‘उहाँ (सीता) पहिलेभन्दा हिँडडुल गर्न र बोल्न सक्ने हुनुभएको छ, यही मौका पारेर फ्रेस हुन जानुभएको हो,’ डा. शर्माले भने, ‘उपचार त हामीले यहाँ नै नियमित गराइरहेका छौँ, अहिले तत्काल विदेशमा उपचार गराउने सेड्युल नै छैन ।’

कसरी पत्ता लाग्यो सीताको रोग ?

नेपाल तथा सिंगापुरको अस्पतालमा उपचार गराएरसमेत स्वास्थ्यमा सुधार नआएपछि प्रचण्ड परिवारसहित पाँच महिनाअघि अमेरिका पुगेका थिए । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार पश्चात उनलाई निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) लागेको पत्तो लागेको थियो ।

सीताले लामो समयदेखि सुगर तथा अन्य दीर्घ रोगहरुको औषधि खाइरहेकी थिइन् । सुगरले गलाएका कारण उनी बेला-बेलामा बिरामी परिरहन्थिन् । तर, यति घातक रोग ‘पीएसपी’ लाग्छ भनेर कसैले अनुमान गरेका थिएनन् ।

लगभग १६ महिनाअघि सीतालाई लिएर प्रचण्ड सिंगापुर प्रस्थान गरे । सिंगापुर पुग्नुअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआईपी कक्षको सोफामा प्रचण्ड पत्नी सीता सुतेको तस्वीर सार्वजनिक भयो । छेउमा बसेका प्रचण्ड निराश देखिन्थे । सोही कारण सीता गम्भीर बिरामी भएको हुनसक्ने खबर त्यतिबेलै बाहिरिएको थियो । तर, त्यतिबेला उनलाई ‘पीएसपी’ रोगले च्यापेको सार्वजनिक भइसकेको थिएन ।

सिंगापुर पुगेपछि सीताले पानीमा डुबुल्की मारिरहेको केही तस्वीर सार्वजनिक भए । त्यहाँका डाक्टरहरुले ‘सीतालाई पार्किन्सनको लक्षण देखिएको’ बताएका थिए ।

त्यसलगत्तै गत कात्तिकमा प्रचण्ड सीतालाई लिएर तातोपानीको कुण्डमा नुहाउन म्याग्दी पुगे । त्यहाँबाट पनि तातोपानीमा डुबुल्की मारेको तस्वीर सार्वजनिक भयो । त्यसपछि सीताको स्वास्थ्य अवस्थाबारे फेरि चर्चा भयो ।

त्यस्तै सात महिनाअघि सीतालाई धापाखेलस्थित सुमेरु अस्पतालको आईसीयुमा एक सातासम्म राखियो । उनका निजी चिकित्सक डा. युवराज शर्माले विभिन्न रोगका कारण उनी थलिएको बताएका थिए । सीताको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कम भएको उनले जानकारी दिएका थिए ।

यसरी पटक-पटक श्रीमती बिरामी भएर हैरान भएका प्रचण्डले अमेरिका पुगेपछि बल्ल सीतालाई ‘पीएसपी’ भएको थाहा पाए । त्यसयता प्रचण्डले राजनीतिसँगसँगै परिवारलाई पनि समय दिन थालेको देखिन्छ ।

के हो पीएसपी ?

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक (एनआईएनडीएस) का अनुसार, पीएसपीले शरीरको गतिदेखि व्यक्तिको मनोदशा र सोचलाई समेत प्रभावित बनाउँछ । पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो ।

मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रुपमा कमजोर बनाउँछ ।

विश्व चर्चित स्वास्थ्य साइट वेभमेडको अनुसार पीएसपी अत्यन्तै कम मानिसहरुलाई देखिन्छ । यो रोगको लक्षण पार्किन्सनसँग मिल्न गए पनि पार्किन्स नै भने होइन।

पीएसपीले मानिसहरुलाई हिँड्न गाह्रो बनाउने, निद्रा नलाग्ने र मष्तिष्कमा रक्त सञ्चार बन्द गराउनेसमेत गर्छ । वेभमेडका अनुसार यो रोग लागेपछि बानी ब्यहोरा परिवर्तन हुनेदेखि साथीभाइ तथा परिवारबाट टाढा बस्न मन लाग्छ ।

पीएसपीको बिरामीलाई किन पानीमा डुबुल्की मार्नु पर्ने ?

चिकित्सकहरूका अनुसार मनतातो पानीमा डुबुल्की मार्दा हाडजोर्नी, नशा र अन्य मानसिक रोगहरुको लागि प्रभावकारी हुन्छ । यस्तो उपचार पद्दतिलाई ‘हाइड्रोथेरापी’ उपचार भनिन्छ ।

फिजियाट्री मेडिसिन विशेषज्ञ डाक्टर राजु ढकालका अनुसार हाइड्रोथेरापी उपचार पद्दतिमा औषधि प्रयोग हुँदैन । यो उपचार पद्दतिबाट शरीरको कडापन कम भएर दुखाइ कम हुने सम्भावना बढ्छ । उनी भन्छन्, ‘शरीरको प्रतिरक्षा प्रणाली, पाचन प्रणाली र औषधि खाँदा हुने साइड इफेक्टलाई पनि हाइड्रोथेरापीले नियन्त्रण गर्छ ।’

ढकालका अनुसार नशाको रोग मात्रै हैन, अनिद्रा, तनाव र मानसिक रोगीहरूलाई पनि ‘रिल्याक्स’ फिल गराउनको लागि हाइड्रोथेरापी गरिन्छ । हाइड्रोथेरापी’ ब्लड सर्कुलेशन र ब्लडको क्वालिटी राम्रो बनाउन प्रभावकारी हुन्छ । शरीरका अनावश्यक विकारका पदार्थहरू निष्कासनसमेत गर्छ । शरीरका कोषहरुमा पोषण भर्नु पनि यो थेरापीको गुण हो । र, यसले कुनै साइड इफेक्ट गर्दैन ।

के पीएसपीले मानसिकरुपमा प्रभाव पार्छ ? उपचार के त ?

वेभमेडका अनुसार यो रोग लागेका मानिसहरुलाई आफूले के बोलिरहेको छु भन्ने पनि थाहा हुँदैन । आफ्नो नाम बिर्सने, घरपरिवार तथा आफन्त बिर्सनेसम्म हुन्छ । यस्तो रोग लागेको बिरामीलाई एक्लै छोड्नु हुँदैन ।

यो रोग लागेपछि पूरै निको हुने उपचार पद्दति र औषधि बनिसकेको छैन । यो रोगले निम्त्याउने समस्याहरू भने व्यवस्थापन गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

लामो समयदेखि ‘पीएसपी’बाट पीडित भएकै कारण प्रचण्डपत्नी सीताले आफूलाई सम्हाल्न सकिरहेकी छैनन् । उनको जटिल रोगलाई हेर्ने चिकित्सकले भनेका छन् कि उनको रोग निर्मूल पार्न सकिन्न । तर, औषधिको माध्यमबाट तत्काल नियन्त्रण गर्न भने सकिन्छ ।

चिकित्सकहरुले पीएसपीका लागि ‘सिनमेट’ भन्ने औषधि सिफारिस गरेका छन् । सिनमेटमा ‘लेभोडोपा’ नामक ‘डोपोमाइन’ हुनाले हातखुट्टा बाउँडिने समस्यालाई यसले कम गर्छ । त्यस्तै ‘एण्टिडिप्रेसान्ट’ स्लिपिङ पिल्सले बिरामीलाई निदाउन सहयोग गर्छ भने दुखाइ कम गर्न मद्दत गर्छ ।

एनआइएनडीएसका अनुसार यो रोगले सुरुवाती चरणमा शरीरको चाल बिगारिदिन्छ । त्यसपछि विस्तारै दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुने हुन्छ । रोग बढ्दै जाँदा मानिसको मनोदशा अस्थिर हुने, उदासी बढ्ने र कुनै कुरामा पनि रुचि नहुने हुन्छ ।

वेभमेडका अनुसार यी औषधिले रोग निर्मुल पार्ने होइन, समस्याहरु तत्काललाई समाधान गर्ने मात्र हो ।

यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ । सामान्यतया पीएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिहरुमा देखिने गरेको भए पनि कसैकसैलाई यो रोगले चाँडै पनि समात्न सक्छ ।

रोगले च्याप्दै लग्दा ठोस बस्तु निल्न गाह्रो हुने, अनुहारमा एकै प्रकारको भाव रहने र बढ्दो उमेरसँगै अल्जाइमर्स र पार्किन्सन्सका जस्ता समस्यासमेत आउने डाक्टरहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment