Comments Add Comment

सुनकाण्डमा सर्वोच्चको आदेश : कारबाहीमा परेका न्यायाधीशकै निर्णय सदर

उच्च अदालतले थुनामा राख्न भनेका गोल्यानलाई छाड्न आदेश

१७ साउन, काठमाडौं । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत बिराटनगरले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

यसअघि सुनकाण्डमा उच्च अदालत विराटनगरका न्यायाधीशले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै न्यायपरिषदले कारबाही गरेको थियो । तर, तिनै न्यायाधीशले गरेको आदेशलाई भने सर्वोच्चले सदर गरिदिएको छ ।

उच्च अदालतले थुनामा राख्न आदेश दिएका व्यापारी महावीर गोल्यानलाई सर्वोच्चले १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने अरुको हकमा उच्च अदालतकै आदेशलाई सर्वोच्चले सदर गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले अन्य व्यक्तिको हकमा उच्च अदालतकै आदेशलाई सदर गरे पनि गोल्यानको हकमा भने उच्च अदालतको आदेश रीतपूर्वक नभएको भन्दै बदर गरिदिएको छ । गोल्यानलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो भने उच्च अदालतले पनि त्यसलाई सदर गरेको थियो ।

सुनकाण्डकै आदेशमा पदीय आचरण अनुसार कर्तव्य निर्वाह नगरेको भन्दै न्याय परिषदले न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेको थियो भने न्यायाधीशहरु साधुराम सापकोटा र थीरबहादुर कार्कीलाई गम्भीररुपमा सचेत गराउँदै २ वर्ष बढुवा रोक्का गरेको थियो ।

यो पनि पढ्नुहोस ३३ किलो सुनकाण्डका अभियुक्तलाई छाड्ने ५ न्यायाधीश ‘कारबाही’मा

त्यस्तै मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, न्यायाधीश जनक पाण्डे र सारंगा श्रेष्ठलाई ध्यानाकर्षण गराएको थियो ।

सुनकाण्डसम्बन्धी आदेशपछि विराटनगर उच्च अदालतका न्यायाधीशमाथि न्यायपरिषदले ६ महिना लगाएर अनुसन्धान गरेको थियो । त्यसका लागि सर्वोच्च विश्वम्भर श्रेष्ठ, केदारप्रसाद चालिसे र मीरा खड्का रहेको समिति पनि गठन गरिएको थियो ।

जिल्ला अदालतले सुनकाण्डमा मुछिएका धेरैजसोलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, बाहालवाला र पूर्वप्रहरी अधिकारीलाई उच्च अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

उच्च अदालत बिराटनगरको आदेशपछि पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल रिहा भइसकेका छन् । उच्च अदालतले एसएसपी श्याम खत्री र डीएसपी सञ्जयकुमार राउतलाई भने थुनामा राख्ने आदेश दिएको थियो । सर्वोच्चले यही आदेशलाई निरन्तरता दिएको छ ।

सर्वोच्चले राप्रपा नेता भुजुङ गुरुङ, हुण्डी कारोबारी रामकुमार तिवारी, गोरेका सहयोगी डा. डेविट भन्ने छिरिङ वाङ्देल घले, थाई एयरका कर्मचारी विरेन्द्रमान श्रेष्ठ, तुलाराम थारु, राजन थापा, हेमन्त गौतम, सम्बिरप्रसाद तोलांगे, मदन सिलवाल, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, अमरमान डंगोल, लाक्पा शेर्पा, पुण्यप्रसाद लामा तामाङ, राजु महर्जन, दोराम खत्री, कपिलराज पुरीलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्चकै आदेशलाई सदर गरेको छ ।

त्यस्तै उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका मदनप्रसाद घिमिरे, राजकुमार दारुका, राजेन्द्रकुमार श्रेष्ठ, विमल पोद्दार, इम्तियाज उद्दिन, सञ्जय खेतान भन्ने प्रभात अग्रवाल, सलमान खानको हकमा पनि सर्वोच्चले धरौटीमा रिहाकै आदेशलाई निरन्तरता दिएको छ ।

धरौटीमा रिहा हुने अन्यमा रेवन्तकुमार आचार्य, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, बालकृष्ण खड्का र ठाकुरप्रसाद ढुंगानासमेत रहेका छन् ।

उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सुन तस्करी र सनम हत्याका प्रतिवादीमध्ये २७ जनाले सर्वोच्चमा निवेदन दिएका थिए । त्यस्तै १९ जनाको हकमा उच्च अदालतले गरेको आदेश बदर गर्न माग गर्दै सरकारले सर्वोच्चमा निवेदन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment