+
+
Shares

पटकपटक ठगीमा मुछिएका दुई विवादित धर्मगुरु जेनजी स्मृति सभाका पाहुना

पटकपटक समातिँदै, छुट्दै गरेका उनै दुई विवादास्पद पात्रहरु जेनजी स्मृति सभामा मानसम्मानसहित मन्चमा आसीन बने । यही कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले विभिन्न पार्टीका नेता, केही पत्रकारलगायतलाई धम्कीपूर्ण शैलीमा भने– ‘अझै पनि समय छ, सुध्रिनुस् ।’

नारायण अधिकारी नारायण अधिकारी
२०८३ भदौ २३ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि जेनजी शहीद दिवसको स्मृति सभामा गृहमन्त्री सुदन गुरुङ, मन्त्रीहरू, सांसद र शहीद परिवार उपस्थित भए।
  • त्यस सभामा विवादित पृष्ठभूमि भएका विजय भण्डारी र श्रीनिवास आचार्य पनि मञ्चको अग्रभागमा अतिथि बनेर बसेका थिए।
  • गृहमन्त्री गुरुङले कार्यक्रममा विभिन्न पार्टीका नेता र केही पत्रकारलाई 'अझै पनि समय छ, सुध्रिनुस् ।' भने।

२३ भदौ, काठमाडौं । जेनजी शहीद दिवसको अवसरमा मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि स्मृति सभा आयोजना गरियो । गत वर्ष आजकै दिन भएको जेनजी आन्दोलनको ठिक एक वर्षमा भएको स्मृति सभा रास्वपाका नेता, सांसददेखि मन्त्रीहरूसम्म उपस्थित भए ।

गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित भए भने कानुनमन्त्री सोबिता गौतम, मन्त्री महावीर पुन, मन्त्री सुनिल लम्साल, रास्वपा सांसद, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल लगायतको उपस्थिति रह्यो । जेनजी शहीदका परिवार तथा आफन्तहरू, जेनजी अगुवाहरूको पनि उपस्थिति रह्यो ।

शहीद परिवारका आफन्तदेखि जेनजी घाइते, मन्त्रीसम्म उपस्थित रहेको यो स्मृतिसभामा दुई जना विवादित पात्रको समेत प्रवेश भयो । उनीहरू त्यहाँ सहभागी हुनमात्रै पुगेका थिएनन्, अतिथिकै रूपमा गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्रीसँगै मन्चको अग्रभागमा आसनग्रहण गरेका थिए ।

जबकि, अन्य मन्त्रीदेखि सांसद र पूर्वगृहमन्त्री अर्यालसमेत ती दुई विवादित पात्रको पछिल्तिर बसेका थिए । यसरी जेनजी स्मृति सभामा पाहुना बनेर पुगेका दुई विवादित व्यक्ति हुन्, विजय भण्डारी र श्रीनिवास आचार्य ।

आफूलाई धर्मगुरू भन्ने बालयोगेश्वर विजय कृष्णमूर्ति अर्थात् विजय भण्डारी र अर्का  श्रीनिवास आचार्यले जेनजी स्मृति सभामा राम्रै मानमनितो र सत्कार पाए । उनीहरूले गृहमन्त्री गुरुङलाई पानसमा बत्ती बाल्ने बेला सहयोगका हातसमेत बढाएका थिए ।

जेनजी स्मृति सभामा अतिथि बनेर पुगेका यी दुवैको विगत भने निकै विवादित छ। दुई वर्षअघि २०८१ साउनमा पशुपतिमा एक महिनासम्म चलेको कोटिहोममा एकल आयोजक थिए भण्डारी । त्यो कोटिहोममा उठेको पैसाको विषयलाई लिएर ठूलो विवाद उठेको थियो ।

रिपोर्टिङ गर्न गएका पत्रकारहरूलाई समेत प्रवेश नदिई आक्रमण गरिएको भन्दै त्यतिबेला खुबै विरोध भएको थियो ।

यसअघि पोखरामा भएको महायज्ञमा पनि ठूलो विवाद भयो । महायज्ञका लागि भन्दै पोखराका सडक तथा ऐतिहासिक चौतारीमा रहेका रुखबिरुवाका हाँगाबिँगा काटेपछि विवादमा तानिएका थिए ।

त्यतिमात्रै होइन, भण्डारीविरुद्ध त थुप्रै मुद्दासमेत चलेका थिए । १५ वर्षदेखि धर्मको आवरणमा सर्वसाधारणलाई ठग्दै आएका विजय भण्डारीले झण्डै एक दशकदेखि ठगी मुद्दा झेलिरहेका थिए । २०८१ कात्तिकमा पीडितहरूको रकम फिर्ता गरेर मिलापत्रमार्फत मुद्दा टुंग्याएपछि पनि उनको ठगीको शृङ्खला रोकिएको छैन ।

भण्डारी विरुद्धको ठगी मुद्दा पाँच वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन थियो । ११ कात्तिक, २०८१ मा उनीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा मिलापत्र भयो । उनले ठगिएकाहरूलाई रकम फिर्ता गर्न तयार भए, अनि पीडितहरूसँग मिलापत्र गर्ने वातावरण बन्यो ।

गुल्मी धुर्कोट स्थायी ठेगाना भएका भण्डारीले काठमाडौंमा मानव कल्याण आध्यात्मिक परोपकार संघ, नेपाल नामक संस्था आवरण गरेर ठगी धन्दा सुरु गरेका थिए ।

मानव कल्याण आध्यात्मिक परोपकार संघ नामक संस्था गठन गरेर धार्मिक कार्यक्रमको आवरणमा अमेरिका पठाइदिन्छु भनी उनले २०६८ सालदेखि नै विभिन्न व्यक्तिसँग रकम उठाएका थिए । कतिपयसँग एक लाख रुपैयाँका दरले बैना मागेका थिए भने कतिपयले १० लाख रुपैयाँसम्म दिएका थिए ।

पीडितहरूको जाहेरीका आधारमा विष्णु भण्डारी, उनकी पत्नी सुलोचना भण्डारी, बाग्लुङका कमलनयन पौडेल भनिने कमल पौडेल लगायतविरुद्ध जाहेरी परेको थियो ।

२०६८ सालदेखि सुरु भएको यो ठगी धन्दा २०७१ सालमा विजय भण्डारी पक्राउ नपर्दासम्म जारी थियो । जाहेरीपछि अनुसन्धानका क्रममा प्रहरीले छाउनी हाउजिङभित्र विजय भण्डारी बस्ने घर नम्बर २१ मा छापा मार्‍यो । प्रहरीले उनी बस्ने घरबाट रजिस्ट्रर, चेक, चन्दा रसिद लगायतका कागजात बरामद गरेको थियो ।

उनले डाइनामिक डेरिमेरिम इन्भेस्टमेन्ट प्रालिका नाममा कम्पनी खोलेको भेटिएको थियो । प्रहरीले अरविन्द योग मन्दिरको नाममा रसिद प्याड र अरू कागजातलाई पनि ठगीको प्रमाण मानेको थियो ।

काठमाडौं प्रहरीले त्यतिबेला उनलाई पक्राउ गरी एक करोड २७ लाख रुपैयाँ ठगीको आरोपमा मुद्दासहित अदालतमा पेस गरेको थियो । उनले अदालतको बयानमा आफूले रकम लिएको स्वीकार गरे । आफूले लिएको सबै रकम दान भएको उनको जिकिर थियो ।

काठमाडौंमा मुद्दा चलेपछि विष्णु भण्डारीले आफ्नो धन्दा रोकेनन्। उनले चैत २०७५ सालमा गुल्मी दरबार गाउँपालिका–४ वीरबासस्थित रुन्खादह माविको भवन निर्माण गर्ने भनी महायज्ञ सञ्चालन गरेका थिए । करिब ५० लाख रुपैयाँ संकलन भएकोमा विद्यालय व्यवस्थापन समितिलाई थाहै नदिई उनले रकम बोकेर हिँडेका थिए ।

भण्डारीविरुद्ध ठगी बाहेक वैदेशिक रोजगारीको कसुर गरेको आरोपमा अर्को मुद्दा पनि चलेको थियो । उनले धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै ३ जनाबाट १२ लाख रुपैयाँ लिएका थिए । पछि रकम फिर्ता गरेनन् । ठगेको आरोपमा उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा चलेको थियो ।

२७ जेठ २०७५ मा वैदेशिक रोजगार न्यायाधीकरणले उनलाई डेढ वर्ष कैद र डेढ वर्ष जरिबानाको फैसला सुनायो । उनी २०६८, २०७१ र २०७६ सालमा गरी पटकपटक थुनामा परेका थिए । उनै विवादित पात्र भण्डारी अहिले जेनजी स्मृति सभामा अतिथि बनेर पुगेका छन् ।

उनीसँगै जेनजी स्मृति सभामा पुगेका अर्का श्रीनिवास आचार्य पनि विवादित पात्र हुन् । कतिसम्म भने, आफैंलाई गोली हान्न लगाएर साम्प्रदायिक हिंसा फैलाउनेसम्मको काम श्रीनिवासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।

यो घटना २०७५ सालको हो । आफैंलाई गोली हान्न लगाएर साम्प्रदायिकता फैलाउन खोजेपछि जिल्ला प्रहरी कार्यालय मोरङले श्रीनिवासलाई पक्राउ गरी मुद्दा चलाएको थियो । त्यतिबेला उनीविरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा मुद्दा चलेको थियो ।

त्यतिबेला मोरङका एसपी अरुण बीसी थिए । हिन्दु राष्ट्रको आन्दोलन उछाल्न श्रीनिवासले आफूमाथि गोली हान्न माधव चौधरीलाई लगाएको अनुसन्धानबाट खुलेको थियो । चौधरी र लक्ष्मीराज अधिकारी पक्राउ परेपछि यो रहस्य खुलेको थियो । त्यसपछि श्रीनिवास पक्राउ परेका थिए ।

यो घटनापछि पनि श्रीनिवास पक्राउ पर्ने शृंखला भने रोकिएन । गौहत्या गर्नेलाई हत्या गर्ने भन्दै उनले भाषण दिएका थिए । त्यसपछि २०८० असोजमा उनी सुनसरीमा पक्राउ परेका थिए । त्यतिबेला उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलेको थियो ।

त्यसपछि छुटेका श्रीनिवास २०८० मंसिरमा पनि पक्राउ परे । दुर्गा प्रसाईंको नेतृत्वमा त्यतिबेला गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि श्रीनिवास पक्राउ परेका थिए ।

प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित पुगेका उनले भिडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका थिए । त्रिशूलसहित पुगेको उनको टोलीले प्रहरीलाई आक्रमण गर्न थालेपछि पक्राउ गरिएको हो ।

गेरुवस्त्रमा त्रिशूलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको थियो । त्यतिबेला पनि उनी छुटेका थिए । पटकपटक विवादमा पर्ने, पक्राउ पर्ने अनि छुट्ने गर्दै आएका उनै दुई विवादास्पद पात्रहरु अहिले जेनजी स्मृति सभामा मानसम्मानसहित मन्चमा आसीन बनेका छन् ।

यही कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले विभिन्न पार्टीका नेता, केही पत्रकारलगायतलाई धम्कीपूर्ण शैलीमा भनेका छन्– ‘अझै पनि समय छ, सुध्रिनुस् ।’

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?