News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजनामा कार्यरत ९१९ जना अझै सम्पर्कविहीन छन् ।
- नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाका प्रतिनिधिसहितका संयुक्त टोलीले रसुवागढी, चिलिमे, लाङटाङ र त्रिशूलीका आयोजनामा खोजी तथा उद्धार गरिरहेका छन् ।
- रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको रोंगास्थित केबल टनेलमा ड्रोनमार्फत खोजतलास गर्दा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ ।
२३ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ । नेपाली सेनाका अनुसार मंगलबार रसुवा र नुवाकोटका विभिन्न आयोजनामा संयुक्त टोली परिचालन गरी खोजी कार्य गरिएको छ ।
रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरेको छ ।
संयुक्त टोलीले रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको रोंगास्थित केबल टनेलमा ड्रोनमार्फत खोजतलास गर्दा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ ।
त्यस्तै लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
चिलिमे जलविद्युत आयोजनामा भने टनेलभित्र प्रवेश गरेर खोजी कार्य भइरहेको छ । विदेशी प्राविधिकसहितको संयुक्त टोलीले ६–६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारेको छ ।
स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत् आयोजनाको टनेलसम्म ठूला उपकरण लैजान सडकमा रहेको ठूलो ढुंगा विष्फोट गरी हटाइएको छ । ‘मेजर रक’सम्म पुग्न अझै ९५ मिटर बाँकी रहेको सेनाले जनाएको छ ।

टनेलभित्र विन्च मेसिन र बकेटको प्रयोग गरी भग्नावशेष हटाउने काम भइरहेको छ । संयुक्त टोली टनेलभित्र करिब ११५ मिटरसम्म प्रवेश गरेर खोजी कार्यमा जुटेको छ ।
त्यस्तै माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोलीले मुख्य प्रवेश टनेलमा करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरेको छ ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउस तथा टनेलमा नेपाली सेनाका ३४ जना, सशस्त्र प्रहरी बलका चार जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ ।
माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा नेपाली सेनाका १०१ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली खोजीमा परिचालित छ । तीनवटा एस्काभेटर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर आयोजनाको कार्यालय तथा आवासगृह क्षेत्रमा खोजी गरिएको भए पनि त्यहाँ सम्पर्कविहीन व्यक्ति फेला नपरेको सेनाले जनाएको छ ।

भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी प्राविधिक तथा सम्बन्धित आयोजनाका प्रतिनिधिसहितका टोली खोज तथा उद्धारमा परिचालित छन् । बाढीले पुरिएका संरचना, टनेलभित्र जमेको लेदो तथा भग्नावशेष र भौगोलिक कठिनाइका कारण खोजी कार्य चुनौतीपूर्ण बन्दै आएको छ ।
रसुवा र नुवाकोटमा रहेका विभिन्न ११ वटा जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिक गरेर अझै पनि ९१९ जना सम्पर्कविहिन छन् ।
प्रतिक्रिया 4