+
+
Shares
जेनजी आन्दोलनको १ वर्ष :

खर्ब नजिक भौतिक क्षति, पुनर्निर्माण पर्खिँदै संरचना

आन्दोलनको तारो बनेका ठूला सरकारी संरचनाको पुनर्निर्माणको गति सुस्त छ । बानेश्वरस्थित संसद भवन यसको एक प्रतीक हो ।

अच्युत पुरी अच्युत पुरी
२०८३ भदौ २३ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका कारण २ हजार ६७१ भवनमा क्षति पुगेको सरकारी तथ्यांक छ, जसको मूल्यांकन ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ भएको थियो ।
  • सरकारले क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि तीन वर्षे रणनीति बनाएको छ, जसअनुसार चालु र आगामी आवमा संघीय सरकारले १०/१० अर्ब रुपैयाँ विनियोजन गर्नेछ ।
  • संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत र अन्य संरचनामा ठूलो क्षति भएको छ, तर पुनर्निर्माणको गति सुस्त रहेको अधिकारीहरूले बताएका छन् ।

२३ भदौ, काठमाडौं । २३ र २४ भदौ २०८२ को जेनजी आन्दोलनका कारण भौतिक क्षति १ खर्ब नजिक भयो । २ हजार ६७१ भवन क्षतिग्रस्त भए ।

सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन सचिव रविलाल पन्थको संयोजकत्वमा आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक सम्पत्ति तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार पार्न समिति गठन गरेको थियो । त्यो समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार यस आन्दोलनमा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो ।

जुन कुल गार्हस्थ उत्पादनको १.३८ प्रतिशत बराबर हो । साथै सो क्षति गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटको आधारमा ४.३० प्रतिशत बराबर हो । भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माणलाई एक वर्षपछि विश्लेषण गर्दा कतिपय सरकारी संरचना खण्डहर बनिरहेका छन् ।

सरकारले तत्कालै क्षतिग्रस्त भवन र संरचनाहरूको प्राविधिक परीक्षण गरेको थियो । त्यसबाट प्रयोग गर्न योग्य संरचनालाई तत्काल रंगरोगन गरेर पुनः सञ्चालनमा ल्याइयो । क्षतिग्रस्त भवनमध्ये ९०४ वटा भवनको गत आवमै मर्मत सुरु भएको थियो । ४ सय ९४ भवन गत आवमै मर्मत सम्पन्न भई सञ्चालनमा ल्याइएको थियो । गत आवको तथ्यांक अनुसार कुल क्षतिग्रस्त भवनमध्ये ३५ प्रतिशत भवन भने पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेको अवस्था छ ।

मर्मत नगरी वा पुनर्निर्माण नगरी सञ्चालनमा ल्याउन नसकिने संरचनाको हकमा भने चालु आवको बजेटमा समावेश गरी सोही अनुसार कार्यान्वयन अगाडि बढाइएको छ । यद्यपी आन्दोलनको तारो बनेका ठूला सरकारी संरचनाको पुनर्निर्माणको गति सुस्त छ । बानेश्वरस्थित संसद भवन यसको एक प्रतीक हो । भैसेपाटीस्थित मन्त्रीनिवास पुनर्निर्माण भइरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय रहेको मूख्य भवन खण्डहर छ ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्यालका अनुसार आन्दोलनको सबैभन्दा बढी केन्द्रमा रहेको संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) पुनर्निर्माण गर्ने वा नयाँ बनाउने भन्ने निर्णय नभएका कारण प्रक्रियामा अगाडि बढ्न सकेको छैन । ‘यो भवन ३०/३५ वर्ष पुरानो भयो, आगलागी र आगजनीले यसको भित्री संरचना पूर्ण रुपमा ध्वस्त भएको छ,’ उनले भने, यो अवस्थामा पुनर्निर्माणभन्दा नवनिर्माण गर्न ठिक हुने देखिएपछि यो भवनमा काम अगाडि बढेको छैन,’ उनले भने ।

यसबाहेक अन्य संरचनाको हकमा भने कुनै न कुनै रुपमा प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए । गोदावरीथित सम्मेलन हलको डिजाइनको काम सम्पन्न भएको छ । अब निर्माणले गति लिने उनले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतमा रेट्रोफिटको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको भवनको समेत डिजाइन तयार रहेको र अब काम सुरु हुने उनले बताए । दमकस्थित भ्यूटावरमा भौतिक क्षति अधिक पाइएको छ । सो भवनको समेत पुनर्निर्माण सुरु गरिएको छ । उपमहानिर्देशक अर्यालका अनुसार चालु आवमा मन्त्रालय गाभिने प्रक्रियाका दौरान कतिपय कार्यक्रम बजेटमा छुटेका थिए । यी कार्यक्रमलाई पुनः मन्त्रिपरिषद्बाट स्वीकृत गराएर मन्त्रालयको बजेटमा समावेश गर्नुपर्ने देखिएको छ।

उता, सिंहदरबारमा बढी क्षतिग्रस्त भवनमा समेत पुनर्निर्माणका प्रारम्भिक काम मात्र सुरु भएका छन् । सिंहदरबारमा तत्कालीन गृह मन्त्रालयको भवन पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम जारी छ । सर्वोच्च अदालत भवनको पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

धेरै लागत लाग्ने यस्ता संरचना बहुवर्षीय आयोजनामा समावेश गरी क्रमशः पुनर्निर्माणमा जाने भएकाले अहिले पूर्वतयारीका काम बढी भइरहेको पूर्वाधार विकास मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार नेपाल प्रहरीका धेरै भवनहरू यस आन्दोलनमा जलेका थिए । यी भवन स्थानीय समुदायको अग्रसरतामा केही तत्कालै सञ्चालनमा ल्याइयो, केही संरचना निर्माणाधीन छन् ।

आन्दोलनका दौरान राष्ट्रपति कार्यालय, संघीय संसद भवन, केन्द्रीय सचिवालय सिंहदरबार, सर्वोच्च अदालत र अन्य अदालतहरू, संवैधानिक आयोग/निकाय/मन्त्रालय र मातहतका निकाय, प्रदेश सरकार तथा मातहतका निकायमा ठूलो क्षति भएको थियो । यसबाहेक स्थानीय तह र सुरक्षा निकाय, ती निकायसम्बद्ध सरकारी भवन, निजी आवासीय भवन, राजनीतिक दलका कार्यालय, व्यवसायिक प्रतिष्ठानका भवन र संरचनामा क्षति पुगेको थियो ।

सरकारी र सामुदायिक संरचनाको पुनर्निर्माणमा ढिला हुनुको अर्को कारण क्षतिग्रस्त भवनको बीमा नहुनु पनि हो । गत वर्ष सरकारले गरेको अध्ययनअनुसार क्षतिग्रस्त २ हजार ६७१ भवनमध्ये १३० वटा भवनको मात्र बीमा भएको छ ।

यसमध्ये सरकारी १९ र निजी क्षेत्रका १११ भवनको मात्र बीमा भएको हो । सरकारले अघिल्लो वर्ष अत्यावश्यक मर्मतका लागि मात्र स्रोतको जोहो गरी भवनहरू सञ्चालनमा ल्यायो । चालु आवमा भने पुनर्निर्माणका लागि बजेट विनियोजन गरिएको छ । यस वर्ष धेरै ठेक्का लगाइसक्ने योजनामा पूर्वाधार मन्त्रालय छ ।

यस्तो थियो भौतिक संरचनाको क्षति

आन्दोलनबाट २ हजार ६७१ भवन क्षतिग्रस्त बनेको सरकारी तथ्यांक छ । एक वर्षपछि ती भवनमध्ये कति पुनर्निर्माण भए, कति खण्डहर छन् यकिन तथ्यांक भने छैन । राष्ट्रिय योजना आयोगका अनुसार आन्दोलनबाट सरकारी/सार्वजनिक क्षेत्रमा ५३ प्रतिशत क्षति पुगेको थियो । निजी क्षेत्रमा ४० प्रतिशत बराबर क्षति भएको थियो ।

सामुदायिक तथा अन्य क्षेत्रमा ७ प्रतिशत बराबर क्षति थियो । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै क्षति बागमतीमा छ । आन्दोलनका क्रममा कुल २ हजार ६७१ भवनमा क्षति पुगेको थियो । जसमध्ये ७९.८ प्रतिशत सार्वजनिक भवन थिए ।

भवनमा मात्र ३९ अर्ब ३१ करोड बराबरको क्षति भएको थियो । यस आन्दोलनमा १३ अर्ब रुपैयाँ बराबरका सवारी साधन जलाइएको थियो । अन्य भौतिक क्षति २० अर्ब ३६ करोड ४० लाख रुपैयाँ बराबर भएको छ ।

नगद तथा बहुमूल्य वस्तुको क्षति २ अर्ब ८१ करोड र अस्थायी तथा निजी सम्पत्तिको क्षति ९ अर्ब २ करोड बराबर भएको तथ्यांक राष्ट्रिय योजना आयोगको छ । निजी क्षेत्रको क्षति ३३ अर्ब ५४ करोड बराबर छ । यसमध्ये प्रतिष्ठानतर्फको क्षति २७ अर्ब ४९ करोड र घरपरिवारमा भएको क्षति ६ अर्ब ५ करोड थियो । राजनीतिक दलका कार्यालय, सामुदायिक संघ संस्थाका संरचना तथा सम्पत्तिको क्षति ५ अर्ब ९७ करोड बराबर रहेको राष्ट्रिय योजना आयोगको आंकडा छ ।

यस आन्दोलनले १३ अर्ब ८७ करोड बराबरको वस्तु तथा सेवा उत्पादनमा नोक्सानी पुगेको थियो । २ हजार ९९९ व्यक्तिको रोजगारीमा प्रत्यक्ष असर पुगेको थियो । त्यसमध्ये २ हजार ३५३ जनाले पूर्णरुपमा रोजगारी गुमाएका थिए । आयोगको पुनर्निर्माण कार्ययोजना अनुसार सार्वजनिक क्षेत्रमा भएका भवनको पुनर्निर्माण/मर्मत र सवारी साधन तथा अन्य भौतिक वस्तुको खरिद/मर्मतका लागि कुल ३६ अर्ब ३० करोड लाग्ने अनुमान छ ।

भूकम्पको पुनर्निर्माणमाथि आगजनीको प्रहार

गत वर्ष आन्दोलनको तारो बनेका आधा संरचना भूकम्पपछि पुनर्निर्माण भएका थिए । सोही अवधिमा मुलुकले सबैभन्दा धेरै सार्वजनिक ऋण बोक्नु परेको थियो । तर, यसरी निर्माण गरिएका भवन आन्दोलनका दौरान पुनः क्षतिग्रस्त बनाइयो । आयोगका अनुसार क्षतिग्रस्त भवनमध्ये ४६ प्रतिशत भवन १० वर्ष भित्र निर्माण भएका थिए । ४८ प्रतिशत भवन १० देखि ४९ वर्षको बीचमा निर्माण भएका थिए । ६ प्रतिशत भवन ५० वर्ष भन्दा पुराना थिए । यसरी बढी क्षति हुनेमा सरकारी भवन अधिक थिए ।

१० करोड माथिका ५७ संरचनामा क्षति

क्षति रकमको हिसावले यस आन्दोलनबाट १० करोड रुपैयाँभन्दा बढी लागतका ५७ वटा संरचनामा क्षति पुगेको देखिएको छ । १ लाखदेखि १० लाख रुपैयाँसम्मका भवन ९२१ वटामा आगजनी गरिएको थियो । १० लाखदेखि १ करोडसम्मका १ हजार ११४ भवनमा आगजनी भएको थियो । १ करोडदेखि १० करोडसम्मका ३१२ वटा भवनमा क्षति पुर्‍याइएको थियो ।

पुनर्निर्माणको तीन वर्षे रणनीति

सरकारले जेनजी आन्दोलनमा आंशिक तथा पूर्ण क्षति भएका सरकारी भवन तथा संरचनाको पुनर्निर्माणको काम आगामी आर्थिक वर्षभित्र सक्ने गरी तीन वर्षे रणनीति बनाएको छ ।

राष्ट्रिय योजना आयोगले गत चैतमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र भौतिक सम्पत्तिको पुनव्र्यवस्थापनसम्बन्धी कार्ययोजना २०८२ सार्वजनिक गरेको थियो । सो कार्ययोजनामा तीन वर्षे रणनीति समेटिएको हो । कार्ययोजनामा पुनर्निर्माणका लागि तीन वटै तहका सरकारले बजेट विनियोजन गर्ने उल्लेख छ । रणनीति अनुसार गत, चालु र आगामी आव गरी तीन वर्षभित्र पुनर्निर्माणको काम सक्ने गरी लक्ष्य राखिएको छ ।

सोही अनुसार राष्ट्रिय आयोजना बैंक, मध्यमकालीन खर्च संरचना तथा मन्त्रालयस्तरीय बजेट सूचना प्रणालीमा प्रविष्ट गरी कार्यान्वयन गर्ने रणनीतिमा उल्लेख छ ।

सरकारले सेवा संचालनका लागि आवश्यक पर्ने भवन र भौतिक सम्पत्तिको मात्र पुनर्निर्माण गर्ने भनेको छ । चालु र आगामी आवलाई संघीय सरकारबाट १०/१० अर्बका दरले बजेट विनियोजन गरी पुनर्निर्माणको काम सक्ने रणनीतिमा उल्लेख छ । प्रदेशहरुले हरेक वर्ष डेढ अर्ब र स्थानीय तहले सवा ३/३ अर्ब विनियोजन गरी पुनर्निर्माण कार्यान्वयन गर्ने समेत रणनीतिको लक्ष्य छ ।

पुनर्निर्माणलाई बजेटको सम्बोधन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटले जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रवलीकरण तथा पुनर्निर्माणको कामलाई प्राथमिकता दिने घोषणा बजेट भाषणका दौरान गरेका थिए । सोही अनुसार पूर्वाधार विकास मन्त्रालयले चालु आवका लागि ६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?