Comments Add Comment

सिंगे लामाः एक कुल्ली कसरी फिल्म निर्माता बने ?

एउटा फुच्छे केटो कर्म खोज्दै-खोज्दै शहरमा पाइला टेक्न आइपुग्छ । दुरदराजको हिमाली बस्तीमा हुर्केका, बुवाआमा गुमाएका, बेसहरा छन् उनी । पढ्न लेख्न पाएनन्, करैले दुई कक्षा पास गरे । खान-लाउनकै दुःखले काम खोज्दै हिँड्छन् । कुल्ली काम गर्छन् । फुच्छे छरितो, फुर्तिलो र निडर छन् । त्यसैले उनलाई ठूल-ठूला चट्टान फुटाउनका लागि ब्लाष्टिङ पड्काउने काममा खटाइन्छ । खासगरी सलेदोमा आगो सल्काउने काम ।

त्यसपछि उनी उक्लन्छन्, हिमाली भेगमा । त्यो चिसो लेकमा पसिना चुहाउँछन् । हिँउ पर्न थालेपछि काम गर्न कठिनाइ हुन्छ । उनी कामदारहरुको पछि लागेर त्रिशूली आइपुग्छन् । काम वापत खाना खाएर दैनिक तीन रुपैयाँ पाउँछन् । धादिङतिरका मजदुरसँगै मिसिएर काठमाडौं आइपुग्छन् । काठमाडौं आउनुको एउटै ध्येय हो, भारी बोकेर खाने ।

*****

उनैले आज शहरमा आफ्नो बेग्लै साम्राज्य बनाएका छन् । फिल्मी क्षेत्रमा को छैनन् उनलाई चिन्ने ? सिंगे लामा भनेपछि जसले पनि भन्नसक्छ, ‘ए, फलानो दाइ ?’

हो, कथा सिंगे लामाकै हो । रसुवाको चिलिमेबाट कर्म खोज्दै-खोज्दै उनले जतिबेला काठमाडौंमा पाइला टेके, उनीसँग एकसरो लुगा सिवाय केही थिएन । थियो त जोश, जाँगर, ताकत र इमान्दारिता । वस्, यत्तिकै जगमा उनले आफूलाई यसरी उभ्याए कि आज उनी मन खोलेर दिनसक्ने भएका छन् ।

उनीसँग दिने कुरा पैसा मात्र छैन, सीप एवं कौशल पनि छ । इमान्दारिता र विश्वास पनि छ । नेपाली सिनेमामा स्पट ब्वाई हुँदै कला निर्देशकदेखि निर्मातासम्म उनी त्यसै बनेका होइनन् ।

चलचित्र ‘जात्रा’, ‘हरि’, ‘जात्रै-जात्रा’का लगानीकर्तामध्येका एक हुन् उनी । प्रदीप भट्टराई निर्देशित ‘जात्रा’ व्यवसायिक हिसाबले सफल चलचित्र मानिन्छ । ‘जात्रै-जात्रा’ले पनि सुस्ताएको चलचित्र बजारमा उकास्न मद्दत गर्‍यो । चलचित्र ‘हरि’ले लगानीकर्ताको खल्ती त भरेन यद्यपी मन भने राखिदियो । निर्देशकीय शिल्पको हिसाबले उत्कृष्ट चलचित्र थियो, हरि ।

अब सिंगे लामा नयाँ चलचित्र बनाउने तयारीमा छन् । उक्त चलचित्रको कथा उनकै जीवन-भोगाइको एक अंश हुनेछ ।

त्यसो त अहिले चलिरहेको ‘जात्रै जात्रा’को सुरुवाती अवधारणा पनि सिंगे लामाले नै जन्माएका हुन् । उनले आँट नगरेको भए ‘जात्रा’ निर्माण हुने थियो ? यसै भन्न सकिदैन ।

‘जात्रा’को जन्म

सिंगे लामा मह सञ्चारमा आवद्ध थिए । उनको भूमिकाचाहिँ कला निर्देशकको । अर्थात आर्ट डाइरेक्टर । त्यहीँ थिए, प्रदीप भट्टराई । प्रदीप मह सञ्चार अन्तर्गत निर्माण हुने हास्य श्रृंखलाको मुख्य सहायक निर्देशक थिए । उनले थुप्रै हास्य श्रृंखलाबाट आफ्नो निर्देशकीय कौशल निखार्दै गएका थिए ।

यस्तैमा एकदिन सिंगे लामाले भने, ‘हामी पनि फिल्म बनाउने कि ?’ यो प्रश्न राख्नुको खास अर्थ पनि थियो । किनभने सिंगेले ‘हामी’ भनेर ती सबैलाई संकेत गरेका थिए, जसमा चलचित्रसम्बन्धी केही न केही सीप र कला थियो । कसैसँग आर्ट डाइरेक्सनको सीप थियो, कसैसँग साउन्डको । कसैसँग निर्देशकीय खुबी थियो, कसैसँग निर्माण नियन्त्रणको । बाँकी रह्यो लगानीको कुरा । त्यसका लागि पनि हिम्मत गर्ने साथीहरु थिए ।

सुरुमा त प्रदीप केही हच्किए । निर्देशन गर्नु बच्चाको खेल होइन भन्ने कुरा उनलाई राम्रो ज्ञान थियो । उनले सोझै ‘अँ गरौं’ भनेनन् । सिंगे लामाले ढाडस दिए, ‘तपाईं अगाडि बढ्नुहोस्, हामी साथ दिन्छौं ।’

करिब एक वर्ष लगाएर प्रदीपले चलचित्रको स्क्रिप्ट तयार गरे । सबै फाइनल भएपछि निर्देशक/समीक्षक मनोज पण्डितलाई देखाए । तर, उनले पहिलो ड्राफ्ट बदर गरिदिए । प्रदीप पछि हटेनन् । अर्को स्क्रिप्ट लेख्न थाले । १७ दिनमै तयार भयो ।

प्रदीप भट्टराईले चलचित्रका लागि संभावित थुप्रै नाम लेखेका थिए । त्यस बीचबाट सिंगे लामाले नै रोजेका हुन्, जात्रा ।

जात्रै जस्तो जीवन

सिंगे लामा आज जुन ठाउँमा छन्, इमान बेचेर होइन । आफ्नै बलबुतो र स्वाभिमानले आएका हुन् । मजदुर बनेर काठमाडौंमा पाइला राखेका उनी अहिले सफल चलचित्र निर्माता बनिसकेका छन् । गाउँमा जन्मिएका, दुःखले हुर्किएका एउटा ठिटो कसरी चलचित्रको रंगीन संसारमा हेलिन आइपुग्यो ? कथा रोचक छ ।

अतः यो कथा सुरु हुन्छ, मजदुरीबाट नै । पर्यटकको भारी बोक्न भनेर आएका उनले घर ढलानको काम गर्न थालेका थिए । नुवाकोटका एकजना थिए, प्रेम दाइ भन्ने । उनैले हप्काए, ‘तँ कहाँबाट यहाँ आइस् ? अब के गर्छस् ?’

सिंगेले जवाफ फर्कायो, ‘भारी बोक्न आएको काम पाइएन दाइ, जे भेट्यो त्यही गर्छु ।’

प्रेम दाइ ढलान गर्ने ठेक्कापट्टा लिन्थे । उनैले ढलानको काम लगाइदिए । सिंगेको कामचाहिँ ढलान गर्ने कराही बटुल्नु र मिलाउनुपर्थ्यो । अरु मजदुरले हातमा प्लाष्टिक वा पञ्जा लगाउँथे । तेल दल्थे । उनलाई केही थाहा भए पो ! नाङ्गो हात सिमेन्ट र बालुवामा घोटिएर रगत चुहिएला झैँ हुन्थ्यो । कति घाउ हुन्थ्यो ।

बाटो खन्ने मजदुर, कुल्ली, फुटपाथे व्यापारी हुँदै सिंगे लामा कसरी चलचित्रमा छिरे ? कसरी आर्ट डाइरेक्टर हुँदै निर्मातासम्म बने ?

उनलाई यो काम त्यति जाती लागेन । अनि लागे सिमेन्ट बोक्न, नरदेवी नजिक । एक बोरा सिमेन्ट बोकेबापत सात रुपैयाँ पाइन्थ्यो । ‘त्यो सात रुपैयाँ त ठूलो पैसा नि,’ सिंगे भन्छन्, ‘त्यती पैसाले मखन गल्लीमा मासु र भात टन्न खान पाइन्थ्यो ।’

त्यसबेला उनी सात-आठ बोरा सिमेन्ट बोक्थे, दिनभरमा । दिनभर सिमेन्ट बोक्दा-बोक्दा मान्छे पनि सिमेन्ट जस्तै धुस्रोफुस्रो हुने ।

उनी बस्ने मखन गल्लीमै एक साहु थिए । उनले बिहानको काम थपिदिए पानी बोक्ने । त्यसबापत उनले कोठाको पैसा तिर्न नपर्ने । खाना पनि सित्तैमा । मखनकै एउटा पसलमा सुत्थे । त्यही धरानका एक साहु थिए, जीवन श्रेष्ठ । उनले भने, ‘यसरी बस्नुभन्दा मेरो पसल हेर, किन यहाँ फोकटमा बस्छौ ?’

उनको फुटपाथमा पसल थियो । सिंगे अब फुटपाथमा बसेर पसल हेर्न थाले । कस्मेटिक सामानहरु टीका, नेल पोलिस, लिपिस्टिक यस्तै यस्तै फिँजाइएको थियो । कुन सामान कतिमा बेच्ने भनेर साहुले नै ठूलठूला नेपाली अक्षरमा लेखिदिएका थिए । सिंगेलाई त्यो अक्षर बुझ्न गाह्रो थिएन । त्यसो त उनी केही चलाख पनि थिए । साहुले भनेको कुरा बुझिहाल्थे ।

केही वर्ष उनले फुटपाथकै सामान बेचिदिए । पछि उनै साहु जीवन श्रेष्ठले भने, ‘आफैं पनि बेच्ने भए, बेच । म सामान दिन्छु ।’ दिनभर जति सामान बेच्न सकिन्छ बेच्ने । जे बेच्न सकिन्छ बेच्ने । नाफा जति आफैं खाने । काइदाको अफर थियो त्यो ।

माग्ने बुढासँगै फुटपाथे व्यापारी

सिंगे अब आफ्नै सामान बेच्न थाले । बास भोटेबहालमा थियो । व्यापार सुन्धाराको फुटपाथमा । खासगरी उनले ब्यागको पसल थापे । साहुकै ब्याग कारखाना थियो । ब्याग बेचेर दिनमा १३, १४ सय रुपैयाँ कमाउँथे ।

बीचमा उनी झापा गए । झापाबाट फर्केर फेरि फुटपाथमा व्यापार गरे । कोटेश्वर, कलंकीको फुटपाथमा पसल फिजाउन थाले । त्यही फुटपाथमा उनको चिनजान भएको थियो, केदार घिमिरेसँग । केदार त्यसबेला ‘माग्ने बुढा’ बनिसकेकै थिएनन् । बरु फुटपाथमा काँइयो, टीका, नेलपोलिस बेच्थे । त्यही बेचेर ट्याम्पु किनेका थिए । दुई-तीन वटा ट्याम्पु किनेर सोही रुटमा चलाएका थिए ।

उनलाई कलाकारितामा रुचि रहेछ । कता-कता धाइबस्थे । सिंगेलाई उनको खास मतलब थिएन ।

त्यसबेला सिंगेलाई पैसाको दुःख थिएन । तर, यसरी कमाएको पैसा बचत गर्नुपर्छ । बैंकमा राख्नुपर्छ । अरु कमाइ गर्न विदेश जानुपर्छ । लगानी बढाउनुपर्छ भनेर कसैले उनलाई सिकाएन । साथीहरु रमझममा रमाउने खालका थिए । फिल्म हेर्ने, मिठोमसिनो खाने । त्यही रमझममा सिंगेका दिहरु वित्न थाले । तर, जाँडरक्सी, चुरोट खाँदै खाएनन् । बरु उनी रंगशालामा सितेरियो कराँते सिक्न थाले । कहिले पौडी खेल्न जान्थे ।

सिनेमा घरको गेटपाले

व्यापार चलेकै थियो । कराँतेको गुरुले उनलाई अर्को काम थपिदिए, झापाको सुरुंगामा गएर कराँते सिकाउने । उनी झापा लागे । सुरुंगामा बिहान बेलुकी उनी कराँते सिकाउँथे । दिनभर के गर्ने ?

नजिकै एउटा सिनेमा घर थियो । त्यहाँ उनलाई चेकिङ अर्थात टिकट जाँच गर्ने काम दिइयो । त्यही बेला उनले सिनेमा घरको माहोल नियाले । कसरी प्रोजेक्टर चलाइन्छ, कसरी पर्दामा दृश्यहरु चल्छ ? सबै बुझे ।

सिनेमा घरमा प्रोजेक्टर चलाउने अपरेटरको खाँचो थियो । त्यही खाँचो परिपूर्ति गरिदिए सिंगे लामाले । पर्दामा सिनेमा देखाउनका लागि ठूलो रिल घुमाउनुपर्थ्यो । रिल घुमाउँदा घुमाउँदै पाखुरा पूरै गल्ने । प्रोजेक्टर चलाउने ठाउँमा खपिनसक्नु गर्मी हुन्थ्यो । त्यसै त गर्मी ठाउँ । तीन-चार वटा पंखा चलाएरमात्र बस्न सकिने । प्रोजेक्टर चलाउँदा चलाउँदै निद्राले झ्याप्पै छोप्ने ।

प्रोजेक्टर चलाइरहँदा उनले साउन्डदेखि दृश्य समायोजनसम्म प्राविधिक कुराहरु राम्ररी सिके । एक हिसाबले भन्ने हो भने सिनेमाको कखरा बुझ्ने पहिलो पाठशाला थियो त्यो ।

सिनेमाको चाहिँ उनी क्रेजी थिए । पहिले पनि कमाएको पैसा सिनेमा हेरेर सक्थे । सिनेमा पनि अंग्रेजी हेर्नुपर्ने । एक्सन कमेडी हेर्नुपर्ने । त्यतीले नपुगेर डेक र क्यासेट भाडामा लगेर कोठामै पनि सिनेमा हेर्थे ।

उनले ‘सौता’, ‘ट्रक ड्राइभर’ जस्ता चलचित्रहरुको उनले रिल घुमाए । दुई वर्ष प्रोजेक्टर चलाएपछि उनी काठमाडौं आए । फेरि सुरु भयो फुटफाथको काम ।

‘ल आयो है, सस्तो सस्तो’ भन्दै लुगाफाटो झुन्ड्याएर बेच्न थाले । त्यही बखत केदार घिमिरेका दाजुले उनलाई अर्को काम पनि मिलाइदिए । कामचाहिँ घरको रंगरोगन गर्ने थियो । रंग लगाउने ढंग त त्यती पुग्दैनथ्यो, खाक्सी दल्ने काम गर्थे । त्यही क्रममा उनले काठको काम सिके । सामान्य फर्निचरको काम जाने ।

त्यही क्रममा उनको कान्छा लामासँग भेट भयो, उनी फिल्म सुटिङमा ड्रेस व्यवस्थापनको काम गर्दा रहेछन् । उनले भने, ‘सिंगे दाइ, फिल्ममा एकजना रंग दल्ने मान्छे चाहिएको रहेछ, गर्ने हो ?’

नन्दु अधिकारी भन्ने दाइ थिए, आर्ट डाइरेक्टर । उनैले एक विज्ञापनका लागि सिंगेलाई आर्ट डाइरेक्सनको काम सिकाए । ‘म जे पनि मान्ने, जे पनि गर्ने । त्यही भएर नन्दु दाइ खुसी भएछ,’ सिंगे सम्झन्छन्, ‘उनले आफूसँगै फिल्ममा काम गर्नुपर्छ भनेपछि म दंग परें ।’

सिंगेलाई चलचित्र कसरी बन्छ, कसरी सुटिङ गरिन्छ, कलाकार कस्ता हुन्छन् ? हेर्नु थियो । नजिकबाट बुझ्नु थियो । नन्दु अधिकारीले नै उनलाई चलचित्रको संसारमा पुर्‍याइदिए र भएभरको काम सिकाइदिए । सेट लगाउनेदेखि, लाइट मिलाउनेसम्मका सबै काम उनले सिके ।

पछि उनले किशोर रानाको ‘घामछाया’बाट असिस्टेन्ट आर्ट डाइरेक्सनको काम सुरु गरे । आर्ट डाइरेक्सनको कामसँगै उनले लाइट मिलाउने काम पनि गरे । सुटिङमा जे काम पर्छ, त्यही गर्थे । एक फाइट डाइरेक्टर थिए, उनलै बम-बारुद बनाउन र पड्काउन पनि सिकाए । पछि ‘बसन्ती’ चलचित्रमा उनले ड्रेसको असिस्टेन्ट भएर काम गरे ।

‘बन्धकी’ नामक चलचित्रबाट उनी आर्ट डाइरेक्टर भए । एकातिर उनी सुटिङको काम भ्याउँथे, अर्कोतिर रत्नपार्कमा नन्दु अधिकारीसँग मिलेर समोसा, पकौडा बेच्थे । साथसाथै चलचित्रको पोस्टर टाँस्ने ठेक्कापट्टा पनि लिन्थे ।

त्यही कामले डोहोर्‍याउँदै उनलाई मह सञ्चारभित्र प्रवेश गराएको थियो । मह सञ्चारमा उनले सेट डिजाइन गर्नुपर्थ्यो । अर्थात आर्ट डाइरेक्टरको काम गर्नुपर्थ्यो । त्यही काम गर्दागर्दै उनी र प्रदीप भट्टराईबीच कार्यगत एकता हुन थाल्यो । मदनबहादुर-हरिबहादुर लगायत अनगिन्ती हास्य श्रृंखलामा एकसाथ जोडिएपछि गफैगफमा एकदिन सिंगेले भने, ‘अब चलचित्र बनाउनुपर्छ ।’

प्रदीपले सुरुमा कुराको मेलोमेसो पाएनन् । सिंगेले नै ढाडस दिए, ‘तपाईं अगाडि बढ्नुहोस्, हामी साथ दिन्छौं ।’

प्रदीप स्क्रिप्ट लेख्न थाले । चलचित्र बन्यो । शहरभरी हल्ला फैलियो, ‘एउटा गजबको सिनेमा लागेको छ ।’ चलचित्र थियो, जात्रा । त्यही चलचित्रबाट प्रदीप निर्देशक भए र सिंगे निर्माता ।

****

आज उनी पछाडि फर्केर हेर्छन् । रसुवाको बाटोमा काम गर्ने त्यो कुल्ली केटोलाई समय र परिस्थितिले आज कहाँ ल्याइपुर्‍यायो ?

पढेका थिएनन्, जानेका थिएनन् । गर्दै र सिक्दै अघि बढे । इमान र श्रमकै बलमा आजको मोडसम्म आइपुगे । सम्झी ल्याउँदा उनलाई सन्तोष लाग्छ, आफैंप्रति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment