 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूहबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ।
- एकता प्रक्रियामा रहेका दलका नेताहरुले एक साताभित्रै एकता घोषणा गरी निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रमाणपत्र लिने तयारी गरिरहेका छन्।
- एकतापछि नयाँ पार्टीको नाम 'नेकपा समाजवादी' राख्ने सहमति भएको छ र राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद–लेनिनवाद मात्र रहने छ।
१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूह सहितको पार्टी एकता अन्तिम चरणमा पुगेको छ । एकताको गृहकार्य अन्तर्गत नै शनिबार एकता प्रक्रियामा रहेका दलका नेताहरुको बैठक बोलाइएको छ ।
एकता प्रक्रियामा संलग्न नेताहरुले एक साताभित्रै एकता घोषणा गर्ने र निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रमाणपत्र लिने तयारी भइरहेको बताएका छन् ।
निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि दल दर्ताको प्रमाणपत्र कात्तिक ३० गतेभित्र लिनुपर्ने तालिका निर्धारण गरेको छ । त्यसैले सकेसम्म छितो एकता घोषणा गरी दल दर्ताको निवेदन आयोगमा बुझाउनुपर्ने बाध्यता दलहरुलाई छ ।
‘सबै कुरामा सहमति भइसकेको छ । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकको औपचारिक निर्णय मात्र कुरिरहेका थियौं, उसले पनि एकतामा जाने निर्णय गरेको सुन्नमा आएको छ, अबको एक साताभित्रै एकताको औपचारिक घोषणा गर्ने गरी गृहकार्य भइरहेको छ,’ माओवादी केन्द्रका एक नेताले भने ।
एकता वार्ता समितिकी सदस्य एवम् माओवादी केन्द्रकी नेता रेखा शर्माले माओवादी केन्द्रले राजनीतिक–वैचारिक मुद्दामा एकरुपता हुने दलहरुबीच एकता र अन्य दलसँग मोर्चा गरेर जाने निर्णय अनुसार विभिन्न दल र समूहबीच एकताको गृहकार्य अन्तिम चरणमा पुगेको बताइन् ।
को–को बीच हुँदैछ एकता ?
एकता प्रक्रियाको छलफलमा रहेका नेताहरुका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी), प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको गृहकार्य भइरहेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा सहभागी अधिकांश नेताहरु माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा उभिएका छन् । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले पनि माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरिसकेको छ ।
विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यको जिम्मेवारीमा रहेका चिरन पुन समूहले पनि शुक्रबार काठमाडौंको पेप्सीकोलामा अलग्गै भेला गरेर माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । भेलाले पुनलाई महासचिव र जितेन्द्र सीलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
नेता पुनले आफ्नो नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समितिले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको जानकारी दिए ।
‘हामी समाजवादी मोर्चामा रहँदादेखि नै मोर्चामा आबद्ध दलहरुबीच पार्टी एकता गर्ने समझदारी बनेको थियो, तर विप्लवजी त्यो समझदारीबाट पछि हटेपछि हामी अगाडि बढेका छौं,’ पुनले अनलाइनखबरसँग भने ।

प्रचण्डको नेतृत्वमा एकता नस्वीकारेका विप्लव पक्षका नेताहरुले ११ कात्तिकमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसको तीन दिनपछि नै सो पार्टीमा विग्रह आएको हो ।
माओवादी केन्द्रबाट अलग भएका गोपाल किराँतीलाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको छ । यही प्रयास अनुसार प्रचण्डले कात्तिक ११ गते किराँतीसँग भेटेर एकतामा आउन आग्रह गरेका थिए ।
किराँतीले पनि त्यसको पुष्टि गर्दै प्रचण्डसँग ‘नजिक’ भएको प्रतिक्रिया दिए । उनले अनलाइनखबरसँग भने, ‘हामी प्रचण्डजीसँग नजिक छौं र फेरि जुट्ने छौं । तर त्यो ठोस हुन बाँकी छ ।’
नयाँ पार्टीको नामः नेकपा समाजवादी, सिद्धान्तः मार्क्सवाद–लेनिनवाद
एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको नेताहरुले बताएका छन् । एकतापछि जनवादी केन्द्रीयता र नेपाली विशेषतासहितको वैज्ञानिक समाजवादमा जाने मार्ग तय गरिएको छ । यसैगरी राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद र लेनिनवाद मात्र रहने छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले माओवादीले ‘माओवाद’ छोड्ने र मार्गदर्शक सिद्धान्तका रुमपा ‘मार्क्सवाद–लेनिनवाद’लाई आफूहरूले मान्ने गरी सहमति जुटेको बताए ।
माओवादी केन्द्रसहित पार्टी एकता प्रक्रियामा तत्काल अघि बढ्ने बताउँदै उनले भने, ‘धेरै कुराहरु हामीले छलफल गरेर डकुमेण्ट आदानप्रदान गरेर मिलाइसकेका छौं । हामी आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेका हौं ।’
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले माओवादी केन्द्रसँग एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको जानकारी दिए । विभिन्न विकल्पमा छलफल भइरहेको छ । तर नेकपा समाजवादी नाम फाइनल हुने बढी सम्भावना छ,’ उनले भने ।

यसैगरी तत्कालीन समाजवादी जनता पार्टीको नेतृत्व गरेका र पछि नेकपा एमालेमा समाहित भई हाल निष्कृय रहेका प्रेमबहादुर सिंहले पनि माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरेका छन् ।
उनले बदलिँदो राजनीतिक परिस्थितिपछि सबै वामपन्थी र कम्युनिस्ट पार्टीहरुबीच एकता अपरिहार्य बनेको बताए । सोही अनुसार नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेको उनले बताए ।
पार्टी एकताको घोषणा अन्तिम चरणमा पुगेको बताउँदै सिंहले भने, ‘यही कात्तिक २० गतेभित्रै पार्टी एकता घोषणा गर्ने र लगत्तै निर्वाचन आयोगमा गएर दल दर्ताको प्रमाणपत्र लिने गरी गृहकार्य भइरहेको छ ।’
अशोक राईलाई पनि प्रस्ताव
माओवादी केन्द्रसँग एकता प्रक्रियाको छलफलमा रहेका नेताहरुका अनुसार अशोक राई नेतृत्वको जसपासँग पनि एकताको प्रस्ताव पुगेको छ । यसबारे छलफल गर्न अध्यक्ष राईले यही कात्तिक १९ र २० गते केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
अध्यक्ष राईले माओवादी केन्द्रबाट एकताको प्रस्ताव आएको पुष्टि गर्दै अनलाइनखबरसँग भने, ‘प्रचण्डजीबाट एकताको प्रस्ताव आएको छ । त्यो लगायतका अन्य समसामयिक परिस्थितिमा छलफल गर्न कात्तिक १९ र २० गते केन्द्रीय समिति बैठक बोलाएका छौं ।’
राईले धेरै राजनीतिक दलभन्दा थोरै हुनु राम्रो हुने आफ्नो धारणा सुनाउँदै एकता प्रक्रियामा रहेकाहरुलाई शुभकामना दिए । उनले भने, ‘भदौको आन्दोलनपछि त झन् दलहरुबीच एकता सहकार्य अत्यन्त आवश्यक देखिएको छ । जसजसले एकतामा जाने निर्णय गरिसक्नु भएको छ, उहाँहरुलाई शुभकामना छ ।’

नेताहरुका अनुसार कौशल कुमार सिंह नेतृत्वको लोक दल र पिछडा वर्ग महासंघ (ओबीसी)का नेताहरुसँग पनि एकताको छलफल भइरहेको छ । एकता नभएका दलहरुसँग मोर्चा बनाएर सहकार्य गर्ने सहमति नेताहरुबीच भएको छ ।
प्रेमबहादुर सिंहले भने, ‘हाम्रो दुईवटा प्राथमिकता हो– एउटा एकता र अर्को विचार मिल्नेहरुसँग सहकार्य । विप्लवजी, अशोक राईजी लगायतसँग तत्काल एकता नभए पनि मोर्चा बनाएर सहकार्य गर्ने कुरा छ ।’
पछिल्लो राजनीतिक घटनाक्रमले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र हालसम्मका राजनीतिक उपलब्धि गुम्ने खतरा भएकाले आफूहरु प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको नेतृत्वमा एकता र ध्रुवीकरणमा लागेको सिंहले बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4