+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ

पार्टी विभाजनको आधार केन्द्रीय कमिटीको निर्णय देखिए पनि एकीकृत समाजवादीभित्र मतभेद पार्टी गठनदेखि नै चल्दै आएको थियो । तत्कालीन नेकपाको विभाजनका कारण चार वर्षअघि एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथ खनालबीच संगठनात्मक, सैद्धान्तिक र राजनीतिक रुपमै मतभेद थियो ।

सइन्द्र राई सइन्द्र राई
२०८२ कात्तिक १४ गते २३:५०

१४ कात्तिक, काठमाडौं । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ ।

अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय बहुमतका आधारमा लिए सँगै सम्मानित नेता झलनाथ खनाल सहितका नेताहरुले त्यसमा विमति राखेका छन् ।

धुम्बाराहीमा तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल लगायतले यथास्थितिमा एकता गर्न नसकिने अडान लिएका थिए ।

पदाधिकारी बाहेक १२३ जनाले बोलेको केन्द्रीय कमिटी बैठकमा पनि मतभेद देखिएको थियो । वरिष्ठ नेता वेदुराम भुसालले माओवादी केन्द्र, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वका नेकपाबाट फुटेको चरन पुन, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकता गर्ने गृहकार्य चलिरहेको ब्रिफिङ गरेका थिए ।

यही प्रस्तावमा केन्द्रीत रहेर नेताहरुले धारणा राखे । ‘यथास्थितिमा एकता गर्नु हुँदैन भन्ने एउटा हिस्सा उभियो, तर धेरैले एकतामा जानुपर्ने राय राखे,’ एक पोलिटब्यूरो सदस्य भन्छन् । एकताको प्रस्तावमा मुख्य असहमति पूर्वप्रधानमन्त्री खनाल र महासचिव भूसालले राखेका थिए ।

दुवैले एकता संख्या बढाउनलाई मात्र गरिन नहुने विश्लेषण सुनाएका थिए । तर यसअघि जस्तो भिन्न मत राख्नेहरुबीच अध्यक्ष नेपालले सहमतिको प्रयत्न गरेनन् । एकैपटक अथवा रातारात एकताको निर्णय नभएकाले धेरै व्याख्याको आवश्यकता नपर्ने निष्कर्ष उनले सुनाए ।

‘यो सुटुक्क र व्यक्तिगत रुपमा एकता गरेको पनि होइन । सचिवालय र स्थायी कमिटीको निर्णय अनुसार वार्ता टोली बनाएर बकाइदा एकता प्रक्रिया अगाडि बढाइएको हो,’ पार्टीभित्रको अहसमतिले एकता नरोकिने अडान अध्यक्ष नेपालले सुनाए ।

एकताको बाँकी निर्णय चाहिँ सचिवालय बैठकले गर्ने जानकारी पनि दिए । ‘केही जोडकोण मिलाउन बाँकी छ, सचिवालय बसेर त्यसबारे निर्णय हुन्छ,’ माधव नेपालले भने । यसपछि आफ्नो प्रतिवेदन पारित गराउन अनुमति मागेका थिए ।

तर पार्टीका सम्मानित नेता झलनाथ खनालले एकताको निर्णय नमान्ने अडान लिए । ‘हाहा हुहुले हुँदैन । मैले ३० बुँदाको दस्तावेज रोखेको छु,’ खनालले भन्दै थिए । तर यतिमै माइक काटियो र बैठक सकियो । ‘माइक काटिएपछि बैठक सकिएको जानकारी भयो, हामी हिड्यौं,’ एक नेताले भने ।

पेलेर निर्णय लिए पार्टी एकताबद्ध नरहने सन्देश झलनाथ खनालले बैठकको शुरुमै गराएका थिए । उपचारत पत्नीलाई दिल्लीमै छोडेर बैठकमा सहभागी हुन आएको जानकारी सहित खनालले माधव नेपालसँग पार्टी फुटाएर माओवादीमा नमिसाउन आग्रह गरेका थिए । तर उनको आग्रह र चेतावनी बेवास्ता गर्दै अध्यक्ष नेपाल अगाडि बढेका छन् ।

‘हामी एकताबद्ध नै हुनुपर्‍थ्यो । तर आज बहुमतले निर्णय गर्नुपर्ने पर्यो,’ उपाध्यक्ष जयन्ती राई भन्छिन्, ‘पार्टी विभाजित हुनु हुन्थेन । आज त्यही परिस्थिति बन्यो ।’

केन्द्रीय कमिटीपछि खनालले पनि पार्टी विभाजन भएको सन्देश सार्वजनिक गरिसकेका छन् । ‘एमालेसँगको विद्रोहको औचित्य पुष्टि नगर्दै पार्टीलाई मओवादीमा लैजाने जबर्जस्ती निर्णय गरियो,’ खनालले अनलाइनखबरसँग भनेका छन्, ‘पार्टीलाई बिसर्जन गरियो ।’ पार्टी पुनर्गठनका लागि अब नेताहरुसँग छलफल गर्ने र कानुनी प्रक्रियामा जाने पनि खनालले बताए ।

पुरानै अन्तरसंघर्ष

पार्टी विभाजनको आधार केन्द्रीय कमिटीको निर्णय देखिए पनि एकीकृत समाजवादीभित्र मतभेद पार्टी गठनदेखि नै चल्दै आएको थियो । तत्कालीन नेकपाको विभाजनका कारण चार वर्षअघि एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथ खनालबीच संगठनात्मक, सैद्धान्तिक र राजनीतिक रुपमै मतभेद थियो ।

खनाल र उनी पक्षधर नेताहरु समाजवादी क्रान्तिलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने अडानमा थिए भने माधव नेपाल पक्षधर चाहिँ जनताको बहुदलीय जनवाद (जबज) छोड्न नहुने पक्षमा थिए । मतभेदकै कारण लामो समय यो पार्टीले सैद्धान्तिक रुपमा आफूलाई प्रष्ट पार्न सकेन ।

राजनीतिक संघर्षमा माधव नेपालले माओवादी र कांग्रेस सहितको दलहरुसँग सहकार्य चाहन्थे भने झलनाथ पक्षधरले एमाले सहितको वाम सहकार्यको वकालत गथ्र्यो ।

संगठनात्मक अन्तरसंघर्ष त समानान्तर कमिटीहरुसम्मै पुगेको थियो । युवा र विद्यार्थी संगठनले समानान्तर नेतृत्व अभ्यास गर्न थालेको धेरै भइसकेको छ । पार्टी गठन हुँदैमा हरेकजसो कमिटीमा शक्ति संघर्ष देखिन थालेको थियो । पछि जोडिएका घनश्याम भूसालको समर्थन पनि खनाल पक्षधरमै देखिन पुगेको थियो । यद्यपि अन्तरसंघर्षमा महासचिव भूसालको भूमिका कतिपय सन्दर्भमा मध्यमार्गी जस्तो देखिन्थ्यो ।

गत वर्ष असारमा सम्पन्न दशौं महाधिवेशनमा त भूसालले नेतृत्वकै दावी गरेका थिए । त्यो महाधिवेशनमा माधव नेपालसँग मिल्न पुगेका खनालले लगत्तै आफ्नो पोजिसन लिँदै अन्तर्संघर्षलाई कायम राखे ।

माधव नेपालले अपानिबाटै खनाल पक्षका कृष्णकुमार विश्वकर्मालाई युवा संघको अध्यक्ष र आरती लामालाई अनेरास्ववियूको अध्यक्षबाट हटाएपछि झलनाथ खनालले सार्वजनिक चेतावनी सहित अडान लिएका थिए ।

यही अन्तरसंघर्षबीच माधव नेपालले प्रचण्डसँग मिलेर पार्टी एकताको निर्णय लिए । वेदुराम भुसाल नेतृत्वको वार्ता टोलीले एकताबारे छलफल गर्नु प्राविधिक विषय मात्र भएको नेताहरु बताउँछन् । ‘प्रचण्ड र माधव नेपालको स्वार्थ मिलेर हतारमा एकता गर्नुभयो । वार्ता टोली प्राविधिक विषय मात्र हो,’ एक नेता भन्छन् ।

एकतामा नजाने को को ? 
अन्तरसंघर्ष हल नहुँदै माओवादी सहितका दलहरुसँग एकता गर्ने माधव नेपालको निर्णयलाई अस्वीकार गर्ने पक्षधर नेताहरु पनि ठूलै संख्यामा रहेको दावी गरिएको छ ।
‘यथास्थितिमा माओवादीसँग मिसन हुन्न भन्नेहरु केन्द्रीय कमिटीमा झण्डै डेढ सय जना जति छौं, अब कतिले कस्तो निर्णय लिन्छन् भन्ने हेर्न बाँकी छ,’ खनाल निकट एक नेता भन्छन् । तर बहुमत भने माधव नेपालसँगै हुने उनी स्वीकार्छन् । ‘पहिले पनि बहुमतमै हुनुहुन्थ्यो । अझ यही बैठकमा ८० जना थप्नुभएको छ,’ उनी भन्छन्, ‘संख्याको के कुरा भयो र ?’

यो पक्षको दाबी अनुसार सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव भूसालसहित डा.बिजय पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, वंशीधर मिश्र, अमरबहादुर थापा, किसान श्रेष्ठ, दामोदर अर्याल, अशेष घिमिरे, आरती लामा, हिरेन्द्र शाही, अर्जुन राईले प्रष्ट रुपमा पुनर्गठनको अडान लिएका छन् ।

यो सूचीमा धर्मराज निरौला, विजय चौधरी, केदारप्रसाद सञ्जेल, प्रेमल खनाल, शंकर पोखरेल, शेरबहादुर केसी, केशरी रेग्मी, शिव भण्डारी, अब्दुल हुसेन खाँ, प्रभा बज्राचार्य लगायत छन् ।

‘यही पार्टी बनाउनुपर्छ भन्नेहरु अझ धेरै संख्यामा छन् । जनप्रतिनिधि भएकाले कतिपयले चाहेर पनि खुल्न सक्नु भएको छैन,’ एक नेता भन्छन् । कानुनी रुपमा प्रतिनिधि पद जाने भएकाले पनि अध्यक्ष नेपालको निर्णय स्वीकार्न बाध्य भएकाहरुले कुनै न कुनै रुपमा पार्टी पुनर्गठनलाई साथ दिने ती नेता बताउँछन् ।

‘प्रष्ट सैद्धान्तिक खाका सार्वजनिक नगरी भीड जम्मा गर्न एकता भनिदैछ,’ उनी भन्छन्, ‘जेनजी विद्रोहपछि हामी सवभन्दा धेरै प्रष्ट हुनुपर्ने भनेकै सैद्धान्तिक कुरामा हो । भ्रष्टाचार नगर्ने पार्टी कसरी बन्छ भन्ने विषयमा हो, पार्टीलाई कसरी पुनर्गठन गर्छौ भनेर जनतालाई विश्वास दिलाउनेमा हो ।’ तर नेताहरुको संकट टार्नलाई माधव नेपालले एकताको नाममा पार्टी विभाजन गरेको उनको आरोप छ ।

पार्टी विभाजन हुँदा माधव नेपाललाई साथ दिने निचोडमा पुगेकी उपाध्यक्ष जयन्ती राई भने एकता आवश्यकता समेत रहेको तर्क गर्छिन् । ‘यसलाई वाम एकताको आधारमा रुपमा हेर्नुपर्छ । भोलि एमालेसम्म एकता गर्ने जग यसले बनाउँछ,’ उनी भन्छिन्, ‘मेरो आग्रह छ– अझै समय छ, पार्टी विभाजन नगरौं ।’

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?