Comments Add Comment

आज फेरि सिंगापुर जाँदै प्रधानमन्त्री

५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाने भएका छन् । सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लागेका हुन् ।

चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् । यसअघि पनि उनले त्यही स्वास्थ्य परीक्षण गराएका थिए । अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि नौ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री ओली यसपटक कति समय त्यहाँ रहन्छन् भन्नेबारे केही पनि बताइएको छैन ।

प्रधानमन्त्री ओली मिर्गौलाको विरामी हुन् । उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । मिर्गौला प्रत्यारोपणपछि भारत र बैंकक गएर स्वास्थ्य परीक्षण गर्ने गरेका प्रधानमन्त्रीले बीचमा स्वदेशमै उपचार गराएका थिए । तर, उनी गत साउन १८ गते सिंगापुर गएका थिए ।

मिर्गौला प्रत्योपणका विरामीहरुले निश्चित समयपछि औषधि परिवर्तन गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । कतिपयले१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई पनि औषधि परिवर्तन गर्नुपरेको छ । नयाँ औषधिले काम नगरे नयाँ मिर्गौला प्रत्यारोपण गर्नुपर्ने विकल्प रहन्छ । ओलीले के गर्ने भन्ने निश्चित भएको छैन । प्रधानमन्त्री स्वयं र उनको सचिवालयले पनि स्वास्थ्यबारे विस्तृतमा केही जानकारी दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment