Comments Add Comment

मन्त्रीको भ्रमण र पुरस्कारका लागि आवको पहिलो महिनामै रकमान्तर

६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपालबीच नेकपा सचिवालय बैठकमा बिहीबार भएको ‘भनाभन’ कै वरिपरि आजका दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् ।

कान्तिपुरले ‘लाञ्छनामा उत्रिए नेपाल– ओली’ शीर्षक दिएर प्रमुख सत्तारूढ दल नेकपामा देखिएको कलहबारे मुख्य समाचार बनाएको छ । ओली र नेपालबीच सचिवालय बैठकमै चर्काचर्की भएपछि बैठक अप्रिय बनेको कान्तिपुर समाचारमा उल्लेख छ ।

अन्नपूर्णले सर्वसम्मत ढंगले पार्टी चलाउन ओलीले प्रस्ताव गरेलगत्तै बैठकमा आरोप–प्रत्यारोप चलेको उल्लेख गरेको छ । बैठकमा ओली, नेपालसँगै, प्रचण्ड र महासचिव विष्णु पौडेलले राखेका भनाइलाई अन्नपूर्णले जस्ताको तस्तै छापेको छ ।

नागरिकले स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि नेपालले स्वास्थ्य लाभको लागि दिएको शुभकामनासमेत ओलीले अस्वीकार गरेको लेखेको छ । ‘ओलीले आफ्नो स्वास्थ्यका विषयमा नेपालले नकारात्मक टिप्पणी गर्दै हिँडेको भन्दै शुभकामना अस्वीकार गरेका हुन्’, नागरिककाे समाचारमा लेखिएकाे छ ।

त्यस्तै, प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि आजका पत्रपत्रिकाहरूले चासो राखेका छन् । अन्नपूर्णले प्रधानमन्त्रीको निजी चिकित्सकलाई उद्धृत गर्दै ओलीको शरीरमा एन्टिबडीको मात्रा बढी देखिएको जनाएको छ ।

कान्तिपुरले शरीरमा एन्टिबडीको मात्रा बढी देखिएकाले त्यसकाे निराकरणका लागि  प्रधानमन्त्री सि‌ंगापुर गएकाे उल्लेख गरेकाे छ ।

मन्त्रिपरिषद् बैठक भिडियो कन्फरेन्सबाटै

प्रधानमन्त्री स्वदेश वा विदेश रहेका बेला अब भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने भएको छ । यसअघि प्रधानमन्त्री सशरीर उपस्थित भएपछि मात्रै मन्त्रिपरिषद् बैठक बस्थ्यो ।

नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ लाई संशोधन गरी मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्था गरेको कान्तिपुर समाचारमा लेखिएको छ ।

आ.व.को पहिलो महिनामै रकमान्तर

आर्थिक वर्षको सुरुवाती महिनादेखि नै सरकारले रकमान्तर गर्न सुरु गरेको छ ।

कारोबार दैनिकका अनुसार करिब ७ वटा फाइलबाट डेढ करोड निकासा गर्दै अर्थ मन्त्रालयले निकासा रकम मन्त्रीको भ्रमणदेखि प्रधानमन्त्रीको नामको पुरस्कारमा खर्च भएको देखाएको छ ।

अर्थ मन्त्रालयलाई उद्धृत गर्दै कारोबारले लेखेको छ– सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामै वित्तीय अनुशासनको नारालाई लत्याउँदै झण्डै २ करोड रुपैयाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले साउन महिनामा ७ वटा फाइलबाट प्रतिनिधिमण्डल भ्रमण तथा स्वागत खर्च, आर्थिक सहायता, भैपरी आउने खर्चलगायतका नाममा यो रकम निकासा गरेको हो । समाचार अनुसार, उद्योग मन्त्री मातृकाप्रसाद यादवको रसिया भ्रमणका लागि पनि यही रकमान्तर गरिएको रकमबाट टिकट काटिएको पाइएको छ । यद्यपि, यादवको स्वास्थ्यमा समस्या आएपछि भ्रमण स्थगित गरेर टिकट रद्द गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment