Comments Add Comment

विप्लवका तीन नेतालाई ६ दिन थुनामा राख्न अनुमति

३१ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका तीन जना नेतालाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, झापाले समूहका टीका पोखरेल, प्रविण मिश्र र अनुल सारु मगरलाई थुनामा राखेर अनुसन्धान गर्न मंगलबार अनुमति दिएको हो ।

प्रहरीका अनुसार पोखरेल समूहका झापा जिल्ला जनसरकार प्रमुख, मिश्र सेक्रेटरी र मगर स्पेसल टाक्स फोर्स (एसटीएफ) सदस्य हुन् ।

झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले तीनै जनाविरुद्ध विष्फोटक पदार्थ, हातहतियार तथा खरखजना, चन्दा असूली र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धान थालिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘बरामद दस्तावेज र हतियारका सम्बन्धमा विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

यो पनि पढ्नुहोस झापामा रहेको विप्लवको गोप्य कार्यालयमा प्रहरी छापा

१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय, बिर्तामोडको सहकार्यमा झापा प्रहरीले सोमबार दिनभर चलाएको अपरेशनका क्रममा बिर्तामोडको विद्युत् प्राधिकरण पछाडि रहेको गोप्य कार्यालयबाट ती सामग्री बरामद भएका थिए ।

उनीहरुमाथि २२ भदौमा चारपाने चोकमा रहेको सहारा सहकारी बचत कार्यालयमा प्रेसर कुकर बम विष्फोट र गौरादह नगरपालिकाका प्रशासकीय अधिकृत सागर मिश्रको गाडीमा बम प्रहार गरेको अभियोग लगाइएको छ ।

उनीहरुले नै झापाको अर्जुनधारा, दमक लगायतका स्थानमा रहेका एनसेल टावरमा विष्फोटन र आगजनी गराएको प्रहरी निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment