Comments Add Comment

सुन्दर सुदूरपश्चिमका झाँकीहरु (फोटो फिचर)

यसपालि हाम्रो गन्तव्य टाढा छ । देशकै पश्चिमी भेगमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जाँदैछौं ।

यसअघि पश्चिममै पर्ने बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुगेका हौं । यसपाली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै एक पिल्लरमा अडिएको कर्णाली–चिसापानी पुल, नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल, चाँदनी दोधारा पुल र गड्डा चौकीमा रहेको नेपाल–भारतको पश्चिम बोर्डरसम्म पुग्ने लक्ष्य लिएका छौं ।

सुदुरपश्चिमको तराई भागको संस्कृति बुझ्न हामी नयाँबस्ती कटानमा रहेको रानाथारु सामुदायिक होम्स्टेमा केही दिन बिताउने छौं । आउनुहोस्, हाम्रो यात्रामा तपाईं पनि मानसिक रुपले जोडिनुस् ।

०००

पहिलो दिनको यात्रा काठमाडौँदेखि बुटवलसम्मको छ । कुरिनटारमा खाना खाएर हामी अघि बढ्छौं । बर्दघाटको बजारमा हामीले तातो जेरी र चिसो उखुको जुस खाँदै केहीबेर बिश्राम गर्‍यौं । बुटवल पुग्दा रात परिसकेको थियो । केहीबेर बुटवल बजार घुमेर हाम्रो पहिलो दिनको यात्रा समापन गरियो ।

दोस्रो दिन छुट्टै रोमाञ्चक थियो । कोहलपुर पुग्न बाँकेको घनघोर जंगल काट्नुपर्ने । त्यो बाटोमा हामीलाई बर्दिया र रारा जाँदाका सम्झनाहरु आइरहे । त्यति बेला निकै पानी परेको थियो । यसपाली भने घाम मज्जाले लागेको छ । यात्रा गर्न धेरै सहज छ ।

जंगल काटेपछि तराईको भौगोलिक र सांस्कृतिक विशेषता बोकेका ठुला हरिया फाँटहरु देखा पर्न थाल्छन् । कृषिप्रधान देश नेपालमा यी खेतहरुको महत्व निकै छ ।

त्यो साँझ हामीले कोहलपुरमा नै बितायौं ।

तेस्रो दिन हामी प्रमुख गन्तव्यमा पुग्नुपर्ने छ । यात्राको केहीबेरमा हामी बर्दिया निकुञ्ज हुँदै कर्णाली–चिसापानी पुल पुग्यौं । बीचमा एउटा पिल्लर र तारहरुमा अडिएको यो पुललाई अंग्रेजीमा Cable Stayed Bridge भनिन्छ । यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ । यो सुन्दर पुल र तल कलकल बग्ने कर्णालीको सग्लो पानीको रमाइलो सम्झना बोकेर हामी अघि बढ्यौं ।

बाटोमा निकुञ्जका जनावरहरु फाट्टफुट्ट देखिन्थे । कैलाली पुगेपछि हामी त्यहाँको प्रख्यात घोडाघोडी ताल हेर्न गयौं । यो ताल महाभारत कालभन्दा पनि पहिलेदेखि नै एक पवित्र तीर्थस्थल थियो भन्ने जनबिश्वास छ ।

कैलालीबाट कञ्चनपुर पुगेपछि हामी लिंगा लिंगेश्वर धाम हेर्न गयौं । कञ्चनपुरको बेद्कोटमा पर्ने यो धाम प्राकृतिक शिवलिङ्गको धाम भनेर प्रख्यात छ । भिरालो जमिनमा करिव ६५ फिट जति उचाई भएका माटोका ढिस्काहरु करिब १३५ मिटरसम्म फैलिएका छन् । चुरे क्षेत्रमा पर्ने यस धाममा पुग्दा सबैको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

यही विश्वास बोकेर हामी पुरानो सञ्चालनमा नआएको महेन्द्रनगर एयरपोर्ट हुँदै नयाबस्ती कटानतिर लाग्यौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पश्चिम भागमा बसाइएको यो रानाथारु बस्तीलाई नयाबस्ती कटान भनेर चिनिन्छ । हाम्रो अबको केही दिनको बासस्थान रानाथारु सामुदायिक होम्स्टे पनि यै गाउँमा पर्छ ।

हामी केहीबेरमा हाम्रो होमस्टे पुग्यौं । साँझ परेपछि हल्का झरी पर्‍यो । हामी भने होमस्टेका स्थानीयबासीहरुसँग छलफल गर्न थाल्यौं ।

हाम्रो चौथो दिनको बिहानी अलिक फरक थियो । त्यहाँका सबैजसो स्थानीयबासीहरु सधैं झैं आफ्नो नित्य कर्ममा लाग्नु भयो । हामी भने गाउँ डुल्न हिँड्यौं ।

०००

कम्युनिटी होमस्टे नेटवर्कद्वारा सञ्चालित यस रानाथारु होमस्टेमा ८ ओटा घर छन् । प्रत्येक घरमा दुई–दुईवटा कोठाहरु छन्, जसमा ४ जनासम्म पाहुनाहरु अट्न सक्छन् । प्रत्येक घरका सफा कोठाहरु अनि बाहिर सुन्दर बगैंचा । परम्परागत शैलीका यी घरहरुले त्यहाँका स्थानीयवासी संस्कृतिका निकै धनी छन् भन्ने थाहा हुन्छ ।

रानाथारुहरु त्यहाँ धेरै पहिलेदेखि बस्दै आएको समुदाय हो । त्यसैले उनीहरुको भाषा पनि फरक छ ।

आज गड्डाचोक बोर्डर र चाँदनी दोधारा पुल जाने दिन । हामी बाइकमा हावा हालेर महेन्द्रनगर चोकतिर लाग्यौं । महेन्द्रचोकको पान, सुपारी पात, चेर्री, सुपारी र चुन मिश्रित मिठो स्वाद । महेन्द्रचोकबाट १० मिनेट बाइकमा गड्डाचोक बोर्डर पुगिन्छ । यो बोर्डर पारी भारतको उत्तराखण्ड राज्यमा पर्छ ।

बोर्डरबाट हामी साँझ पर्ने बेलामा चाँदनी/दोधारा पुल घुम्न गयौं । महाकाली नदि पार गर्नलाई बनाइएको यति लामो पुलले मानिसलाई ओहोरदोहोर गर्न धेरै सजिलो भएको छ । सुर्यास्तसँगै हामी होमस्टेतिरै फर्कियौं ।

होमस्टेमा दिदीहरुले ढीकरी, पापडजस्तै विभिन्न प्रकारका स्थानीय खानेकुराहरु मजासँग बनाउँदै हुनुन्थ्यो । धेरै ठाउँ भ्रमण गरेर फर्केको दिन भएर होला त्यो रात बेस्सरी भोक पनि लागेको थियो ।

पाँचौ दिन बल्ल हामी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन गर्न जाँदै छौं । सन् १९७६ सालमा वन्यजन्तु संरक्षण छेत्रको स्थापना भएको यस परिसरलाई सन् २०१७ मा बल्ल राष्ट्रिय निकुञ्ज बनाइएको हो ।

दुर्भाग्यको कुरा निकुञ्ज केही समयदेखि बन्द रहेछ । बर्खाको समयमा भित्र घाँसहरु निकै बाक्लो र अग्ला हुन्छन् । त्यसैले जनावरहरु राम्रोसँग देखिंदैन । बरु हिंस्रक जनावरहरुको डर धेरै हुन्छ । त्यसैले पर्यटकहरुको सुरक्षाको लागि निकुञ्ज प्रवेश बन्द गरिएको रहेछ । तर पनि हाम्रो आग्रहमा निकुञ्जको अफिस वरपर घुम्ने मौका भने हामीलाई मिल्यो ।

पानी पर्ला जस्तो मौसम छ । हामी पैदलयात्रा गरेर निकुञ्ज अवलोकन गर्न अघि बढ्यौ । एकैछिनमा पानी पर्न थालिहाल्यो । हामी एकैछिन ओत लाग्यौं ।

यो निकुञ्ज ४३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने बन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ ।

यस निकुञ्जमा पाइने मुख्य जनावर भनेको बाह्रसिङ्गे हो । हालै गरिएको गणनामा बाह्रसिंगेको जनसंख्या २ हजार २ सय ४६ पुगेको छ । अत्यन्तै लोपोन्मुख जनावर, जस्तै बाघ, एकसिंगे गैडा, जंगली हात्ती, निल गाई र कृष्णसार पनि यो निकुञ्जमा पाइन्छन् । त्यस्तै यहाँ ४२४ प्रजातिका चराचुरुङ्गीहरु रहेका छन् ।

निकुञ्जको प्राकृतिक सौन्दर्य, यहाँ रहेका विभिन्न वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गीका कारण यहाँ घुम्न आउने पर्यटकको संख्या वर्षेनी बढ्दो छ । निकुञ्जको छेउछाउ मात्र घुमेर हामी रानाथारु समाजको सांस्कृतिक कार्यक्रम हेर्न होमस्टे फर्कियौं । उक्त कार्यक्रममा रानाथारु समाजका तिन किसिमका नृत्यहरु हेर्ने मौका पायौं ।

थडङ्ग्वा होरी र लोहकङ्ग्वा होरी नामक नृत्यहरु एकैचोटि नाचिने रैछ । यी नाच पहिले–पहिले फागु पुर्णिमामा एक महिनासम्म, राति नाचिन्थ्यो रे । त्यस्तै कलाकार होरी नामक नाच भने पूर्णिमापछि एक हफ्ता सम्म दिउँसोको समयमा नाचिने रहेछ ।

यो संस्कृतिक कार्यक्रममा हामीले रानाथारुको परम्परागत पोशाक पनि देख्ने–बुझ्ने मौका पायौं । केटाहरुले लगाउने पोशाकलाई झगिया र फेटा भनिन्छ । अनि केटीहरुले लगाउने पोशाकलाई अङ्गिया, घाङ्घरिया र हार भनिन्छ ।

होमस्टेको बसाईं, रानाथारु समुदायको संस्कृति र परम्परा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन, दोधारा चाँदनी पुल र नेपाल–भारतको पश्चिम सीमासम्मको यात्रा । यो सुदुरपश्चिमको भ्रमण हाम्रो लागि छोटो र मिठो भयो ।

नेपाल : एक स्वर्गको टुक्रा

नेपालमै बसेर नेपाललाई राम्रोसँग बुझ्न र देश–विदेश सबै ठाउँमा चिनाउन हामीले nepal8thwonder नाम राखेर एउटा अभियान सुरु गर्‍यौं । यो अभियानकै क्रममा हामीले ‘Heaven Is Myth Nepal is Real’ नामक भिडियो शृङ्खला तयार पार्ने निर्णय गर्‍यौं । १२ महिनामा सकेसम्म पुर्वदेखि पश्चिमसम्मका हिमाल, पहाड, तराई सबै क्षेत्रहरु समाबेस गराउन १२ ओटा एपिसोड निकाल्ने संकल्प गर्‍यौं ।

यस सिलसिलामा हामीले नेपाललाई अझै गहिरिएर बुझ्ने र बुझाउने प्रयत्न गरेका छौं । विश्वमा रहेका ७ आश्चर्यपछि नेपाल आफैमा ८औ आश्चर्य हो । नेपाल एउटा स्वर्गको टुक्रा हो भन्ने भनाइलाई हामीले यात्रामार्फत महसुस गरेका छौं ।

यहाँका अग्ला हिमश्रृङ्खलाको काखैमा बस्ने शेर्पा जातिका मानिसहरु प्राय बौद्ध र बोन धर्म मान्ने गर्छन । यी हिमाली भेगहरुमा शान्तिका प्रतिक गुम्बाहरु हुने गर्छन् । यिनै भेगहरुमा हिमचितुवा जस्ता लोपोन्मुख जनावरहरु पनि बस्ने गर्छन् । रारा, तिलिचो, गंगापुर्ण तालजस्ता ठुला र उचाइमा रहेका तालहरु यहाँ पर्छन् । मुक्तिनाथ, कालिन्चोक, पथीभराजस्ता धार्मिक स्थलहरु पनि यहाँ पर्छन् ।

आश्चर्यलाग्दो इतिहास बोकेका आकाशे गुफाहरु पनि यहाँ प्राचीनकालदेखि रहीआएका छन् । सिञ्जा उपत्यका जस्तो नेपालको खस–आर्य जातिको पुरानो बासस्थान पनि यहाँ पर्छ । यो हिमाली भेगमा बर्षमा धेरै समय हिउँ पर्छ, त्यसैले यो क्षेत्र निकै चिसो छ ।

नेपालको पहाडी भेग झनै लोभलाग्दो छ । पूर्वमा इलामजस्तो चियाबारीले भरिएको रमणीय स्थल । र मध्यभागमा लम्जुङ्ग, घान्द्रुक र ल्वाङको घले–गुरुङ सभ्यता । म्याग्दीको मगर सभ्यता, उनीहरुको सीपमूलक परम्परा र कलात्मक संस्कृति । मोहरे डाँडाबाट देखिने अन्नपूर्ण हिमश्रृङ्खला र धौलागिरी हिमश्रृङ्खलाको मनोरम दृष्य । पोखरा उपत्यकामा गरिने विभिन्न साहसिक एडभेन्चर्स । यो पहाडी भेग हिउँदमा चिसो र गर्मी मा शितल रहन्छ ।

मध्य र पश्चिम तराईमा रहेका थारु जातिहरु, उनीहरुका विभिन्न नृत्यहरु, उनीहरुले रेखदेख गर्दै आएका राष्ट्रिय निकुञ्जहरु । त्यहाँ देखिने विभिन्न लोपोन्मुख जनावरहरु, जस्तै गैंडा, बाघ र हात्ती । त्यस्तै पूर्वी तराईमा पर्ने मधेसको छुट्टै रहनसहन । तराईमा खेति गर्ने ठुला–ठूला हरिया फाँटहरु छन् । यो भागमा धेरै समय गर्मी हुन्छ । हिउँदमा भने यहाँ शीतलहर चल्छ ।

पर्यटकीय दृष्टिकोणले नेपालको अर्को विशेषता भनेको यहाँ ट्रेकिङ गर्ने हजारौं रुटहरु छन् । आफ्नो नियमित व्यस्त जीवनबाट टाढा प्रकृतिको आनन्दमा रमाउँदै २/३ दिनदेखि लिएर २५/२६ दिनसम्म ट्रेकिङ गर्ने रुट यहाँ प्रशस्त छन् ।

यसरी सानो क्षेत्रफल भएपनि भौगोलिक, प्राकृतिक र सांस्कृतिक विविधता व्यापकरुपमा रहेको नेपाललाई संसारकै आठौं आश्चर्य भन्दा फरक नपर्ला ।

हाम्रो यो यात्रामा साथ दिने सबैलाई हामी मुरी–मुरी धन्यवाद दिन चाहन्छौं । र हामीलाई यात्रा गर्दा चाहिने साधन स्रोत र हौसला निरन्तर रुपमा दिंदै आउनुभएका नेपाल पर्यटन बोर्ड, होन्डा नेपाल र कम्युनिटी होमस्टे नेटवर्कर्लाइ विशेष धन्यवाद दिन चाहन्छौ । हाम्रो यो एउटा प्रयासलाई आत्मसात गरेर सल्लाह सुझाव दिनुहुने सबैलाई हृदयदेखि नमन गर्न चाहन्छौं ।

अझै धेरै ठाउँ पुग्न र बुझ्न बाँकी छ । यो पहिलो शृंखला सकिए पनि हाम्रो यात्रा सँधै चलिरहने छ ।

तस्वीर : केशव दुलाल, विजय मगर, हेमन्त भण्डारी

भिडियो : नेपालएड्थवण्डर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment