Comments Add Comment

रन्जना कम्प्लेक्समा यसरी देखाए व्यापारीले ‘दादागिरी’

२ असोज, काठमाडौं । न्यूरोडस्थित रञ्जना कम्पेल्क्समा लत्ताकपडाको मनपरी मूल्य कायम गरिएको सूचनापछि अनुगमका लागि तीन टोली बिहिबार दिउँसो सवा १ बजे त्यहाँ पुगे । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका ती टोली पुग्दा कम्प्लेक्समा दशैंका उपभोक्ताको भिडभाड नै थियो ।

विभागका शाखा अधिकृतहरु कपिलप्रसाद रेग्मी, रमेशकाजी श्रेष्ठ र निरज कुमार खत्रीको नेतृत्वमा रहेको पाँच–पाँच जनाको तीनतिर छरिएर सुरु गरेको अनुगमन केहीबेरमै बिथोलियो । अनुगमनमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्च ललितिपुरका अध्यक्ष ध्रुबलाल तण्डुकारका अनुसार व्यापारीले अनुगमन टोलीलाई अवरोध गर्नुका साथै धाकधम्की पनि दिएका थिए ।

अनुगमन टोलीले उक्त कम्प्लेक्समा रहेका पसलहरुमा मूल्य सूची भए–नभएको विषयलाई मुख्य चासो दिएको थियो । अनुगमन थालिएको पहिलो पसलमा मूल्य सूची, खरिद बिलबिजक जस्ता सबै नियम पूरा गरेको पाइयो । तण्डुकारको टोलीले सँगैको अर्को पसलमा अनुगमन गर्न थालेको थियो । उक्त पसल कम्प्लेक्सका व्यवसायी समितिका अध्यक्षको थियो । त्यो पसलमा कुनै पनि मापदण्ड पूरा नभएको पाएपछि विभागको टोलीले पसलको कामदारलाई मालिक बोलाउन लगाएर ५० हजार जरिवाना गरेको तण्डुकारले बताए ।

अध्यक्षको पसलमा जरिवाना गर्दै गर्दा विभागको अर्को दुई टोली भएको ठाउँमा भने लफडा सुरु भइसकेको थियो । होहल्ला मच्चिएको सुनेर तण्डुकार पनि त्यहाँ पुगे । त्यहाँ त एक सयभन्दा धेरै मानिसहरुले विभागका दुई टोलीलाई घेराउमा पारिसकेका थिए । उनीहरुले टोलीका सदस्यहरुमाथि तिव्र आक्रोश व्यक्त गरिरहेका थिए ।

‘यीनीहरुलाई कुट्नु पर्छ, बोरामा हालेर यहाँबाट फ्याँक्नु पर्छ भन्दै होहल्ला भइरहेको थियो,’ तण्डुकारले भने, ‘कम्प्लेक्सका अध्यक्षले गल्ति महसुस गरेर जरिवाना तिर्न तयार भए पनि अरु व्यवसायीले उत्पात मच्चाए ।’

त्यसपछि कम्पलेक्सका अध्यक्षले अनुगमनलाई अवरोध नगर्न व्यापारीलाई आग्रह गरे । यही बेला प्रहरी उपरीक्षकको कमाण्डमा थप प्रहरी घटनास्थलमा आयो । प्रहरीको रोहोबरमा थप ३ वटा पसललाई जनही ५० हजारको दरले जरीवाना गरेर जम्मा ५ वटा पसल अनुगमन गरियो र पौने तीन बजे टोलीलाई प्रहरीले भिडबाट निकाल्यो ।

प्रहरीले उद्धार गरेको अनुगमन टोली फर्किने बितिक्कै न्यूरोड लगायतका बिभिन्न क्षेत्रका व्यवसायिक समूह वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग आएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । अपरान्हको करिब ४ः३० बजे विभाग आएका व्यवसायीले विभागको अनुगमन जायज भए पनि दशैंभरी अनुगमन नगर्न दबाव दिएको महानिर्देशक गौचनले बताए ।

आफूले चाहिँ कानूनले दिएको अधिकार प्रयोग गरेर अनुगमन झनै कडाई गर्ने बताएर पठाएको उनको भनाइ छ ।

‘विभाग कानुनी ढंगले अघि बढ्छ, अनुगमन रोकिदैन, गल्ती गर्नेलाई छोडिदैंन,’ महानिर्देशक गौचनले भने ।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायव उपरिक्षक बासुदेव खतिवडाले अनुगमन टोलीमाथि व्यवसायीले सामान्य अवरोध गरेको अनलाइनखबरलाई जानकारी दिए ।

‘हामी कानूनको पालना गर्छौं, तर हामीलाई पूर्व सूचना हुनुपर्छ भन्दै व्यवसायीले होहल्ला गरेको देखेको हुँ,’ उनले भने, ‘अनुगमन टोलीलाई बन्धक नै बनाएको चै भन्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment