News Summary
Generated by OK AI. Editorially reviewed.- ट्राफिक प्रहरीले अष्टमीसम्म काठमाडौं छाड्नेको संख्या ५ लाख ४१ हजार ३२६ पुगेको जनाएको छ।
- दशैं लक्षित जाँचमा मादक पदार्थ सेवन गर्ने ६७७ चालक कारबाहीमा परेका छन् र २६ जनालाई नियन्त्रणमा लिइएको छ।
- यान्त्रिक जाँचका क्रममा १०४ वटा सवारीसाधनमा पनि आवश्यक कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
२ कात्तिक, काठमाडौं । अष्ठिमीको दोस्रो दिन अनलाइनखबरको टिम काठमाडौंको मुख्य चोक–चोकमा पुग्यो । सधैं सवारीको जाम हुने चोक–चोकमा पुगेका थियौं ।
बानेश्वर, कोटेश्वर, जडिबुटी, सातदोबाटो कलंकी, त्रिपुरेश्वर, थापाथली, माइतीघर लगायतका चोकमा पुग्दा अघिपछि भन्दा न्यून सवारी चलेका थिए । तर, सुनसान भने थिएन ।
कोटेश्वर र कलंकी नाकाबाट दशैं मनाउन मानिसहरू बाहिरिरहेका थिए । ट्राफिक प्रहरीका अनुसार अष्ठमीको दिनसम्म पाँच लाख ४१ हजार ३२६ जना काठमाडौँ छाडेका छन् ।
काठमाडौंमा विभिन्न पेसा, सरकारी कार्यालय, व्यापार व्यवसायलगायत काममा आएका हुन्छन् । उनीहरू दशैं मनाउन गाउँघर जाने गर्छन् । ‘दशैंका लागि सार्वजनिक सवारीसाधन प्रयोग गरेर काठमाडौँ उपत्यका छोडेर गइरहनु भएको छ’, प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लले भने, ‘दशैंको समयमा काठमाडौँभित्रको सवारी चाप निकै कम हुन्छ । धेरै मानिस र सवारीसाधन उपत्यकाबाहिर गइसकेका छन् ।’
बसपार्कदेखि नागढुंगासम्म र कोटेश्वरदेखि बल्खुसम्मका बाहिरिने नाकामा सवारीसाधनको चाप बढेको देखियो । र, ट्राफिक प्रहरीले २४ घण्टा नै निगरानी गरिरहेको छ । ‘चालकलाई पनि आराम चाहिन्छ। रातभरि सवारी चलाउने र फेरि फर्केर आउने गर्नु हुँदैन। आवश्यकताअनुसार अर्को चालकको व्यवस्था गर्नुपर्छ। जाँदा एक जना र फर्किंदा अर्को चालकले चलाउने व्यवस्था गर्न सकिन्छ’, उनले भने ।
अनुशासनमा नबस्नेलाई कारबाहीसमेत ट्राफिक प्रहरीले गरिरहेको छ । ‘चालकले मादक पदार्थ र लागुपदार्थ सेवन गर्नु हुँदैन। आफ्नो क्षमताभन्दा बढी यात्रु राख्नु हुँदैन। दुई पैसा बढी कमाउने लोभमा असुरक्षित यात्रा गराउनु हुँदैन। तीव्र गतिमा पनि सवारी चलाउनु हुँदैन’, उनले भने, ‘आफ्ना यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन सक्नु नै उसको वास्तविक सफलता हो।’

ट्राफिक प्रहरीले प्रत्येक वर्षझैं यस वर्ष पनि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर विशेष व्यवस्था गरिरहेको छ । ‘चाडपर्वलक्षित सुरक्षा व्यवस्थाअन्तर्गत हामीले बसपार्क, बल्खु र भक्तपुरको जगातेसहित तीन ठाउँमा यान्त्रिक जाँचको व्यवस्था गरेका छौँ। प्रहरी प्रधान कार्यालयबाट प्राविधिकहरू आउनुहुन्छ र बसपार्क, बल्खु तथा जगातेलगायत स्थानमा सवारीसाधनको अवस्था जाँच गर्नुहुन्छ’, उनले भने ।
त्यसैगरी, सवारीसाधन छुट्ने स्थानमै चालकले मादक पदार्थ सेवन गरेका छन् कि छैनन् भनेर जाँच समेत भइरहेको छ । लागुपदार्थ सेवन गरे नगरेको जाँचका लागि पनि प्रत्येक दिन प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको छ । ‘अस्पतालबाट प्राविधिकहरू आउनुहुन्छ र उहाँहरूको सहयोगमा हामीले जाँच गर्छौँ। आज मेरो ड्युटी हो, भोलि अर्को प्रहरी निरीक्षकको ड्युटी हुन्छ। हिजो अर्कै प्रहरी निरीक्षकको ड्युटी थियो’, उनले भने ।

लागुपदार्थ सेवनसम्बन्धी जाँचमा आज मात्रै चारजनालाई नियन्त्रणमा लिएको उनले बताए । ‘घटस्थापनादेखि आजसम्म २६ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पठाइसकेका छौं’, उनले भने, ‘घटस्थापनादेखि आजसम्म मादक पदार्थ सेवन गर्ने ६७७ जना चालकलाई कारबाहीको दायरामा ल्याएका छौँ।’
प्राविधिक जाँचका क्रममा अवस्था ठीक नभएका १०४ वटा सवारीसाधनलाई पनि आवश्यक कारबाही गरिएको छ।
रातिको समयमा पनि विशेष जाँच प्रहरीले गरिरहेको छ । ‘चाडपर्वमा मानिसहरूले मादक पदार्थ सेवन गर्ने गरेको देखिन्छ। त्यसैले हामी उहाँहरूलाई चाडपर्व मनाउनुस्, रमाइलो गर्नुस्, तर मादक पदार्थ सेवन नगर्नुस् भनेर अनुरोध गर्छौं’, मल्लले भने ।
रातिको जाँचका लागि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीका करिब ८० वटा युनिट खटिएको छ । ‘नेपाल प्रहरीसँगको सहकार्यमा राति ८ देखि ११ बजेसम्म, ९ देखि १२ बजेसम्म र राति १ देखि ३ बजेसम्म पनि जाँचको व्यवस्था मिलाएका छौं। यी युनिटलाई फरक–फरक समय तोकिएको छ’, मल्लले भने ।
दशैंको लागि काठमाडौ| उपत्यकामा मात्रै ट्राफिक प्रहरीको संख्या करिब १६०० भन्दा बढी खटिएका छन् ।
तस्वीर/भिडियो : कमल प्रसाईं


प्रतिक्रिया 4