+
+
Shares

दसैंमा १० लाखसम्मले छाड्नेछन् उपत्यका, सहजीकरणमा तयार छन् सरोकारवाला ?

प्रतिवेदन अनुसार यस वर्ष दसैंमा न्यूनतम ६ लाखदेखि अधिकत १० लाख यात्रुले काठमाडौं उपत्यका बाहिर यात्रा गर्ने अनुमान गरिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ असोज १४ गते २०:२२

१४ असोज, काठमाडौं । दसैंमा १० लाखसम्म यात्रुले काठमाडौं उपत्यका छाडेर आफ्नो गाउँ फर्किने अनुमान गरिएको छ ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले २०८३ दसैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन शाह र पूर्वाधारमन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ ।

समिति सभापति आशिष गजुरेल सहित सांसदहरूको टोलीले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार यस वर्ष दसैंमा न्यूनतम ६ लाखदेखि अधिकत १० लाख यात्रुले काठमाडौं उपत्यका बाहिर यात्रा गर्ने अनुमान गरिएको छ ।

तीमध्ये दसैं सुरु हुने दिनअघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने अनुमान प्रतिवेदनको छ । दसैं सुरु भएपछि भने फूलपातीको दिन अधिक हुनेछ ।

समितिले गरेको अध्ययन अनुसार घटस्थापनाको दिन न्यूनतम ४५ हजारदेखि अधिकतम ६८ हजारसम्म यात्रुले काठमाडौं छाड्ने अनुमान छ । फूलपातीको दिन यो संख्या १ लाख १३ हजारसम्म पुग्ने छ । यी यात्रु ओसार्न ७ हजारमाथि सवारीसाधन चल्नेछन् ।

फूलपातीको दिन १३ देखि २० प्रतिशत यात्रुले काठमाडौं छाड्ने अनुमान छ । दशमीको दिन भने यो संख्या ४ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

ट्राफिक प्रहरीको विगतको तथ्यांकका आधारमा समितिले यो प्रक्षेपण गरेको हो । यो संख्या अझ बढी हुन सक्ने अनुमान यातायात व्यवसायीको छ । समिति सभापति गजुरेलले समितिले विगतको अभ्यास समेतको अध्ययन गरी विस्तृत प्रतिवेदन तयार पारी सरकारलाई बुझाएको जानकारी दिए । यसले दसैंको यात्रामा जोडिएका सरोकारवालालाई सहजीकरण हुने उनको भनाइ छ ।

ठूला बसले बोक्छन् आधा यात्रु

प्रतिवेदन अनुसार चाडबाडमा सबैभन्दा धेरै संख्यामा यात्रु बोक्ने सवारीसाधन ठूला बस हुन् । यी बसले ४७.८ प्रतिशत हाराहारी यात्रुलाई गाउँ लैजान्छन् । माइक्रोबसले ४२.९ प्रतिशत र मिनिबसले ९.२ प्रतिशत यात्रु बोक्ने अनुमान छ । यो नागढुङ्गा चेकप्वाइन्टमा गरिएको सर्वेक्षणको नतिजा हो ।

सामान्यतया काठमाडौंबाट बाहिरिने सार्वजनिक यातायातको दुइटा उच्च चापको लहर हुने गरेको छ । बिहानी लहर ६ बजेदेखि ९ बजेसम्म रहन्छ । यसमध्ये ७–८ बजेको समय सबैभन्दा पिकमा रहन्छ । साँझको लहर ६ बजेदेखि ९ बजेसम्म रहन्छ । यसमध्ये ८–९ बजेसम्मको समय सबैभन्दा बढी व्यस्त हुन्छ ।

नागढुङ्गाबाट बाहिरिनेमा सबैभन्दा उच्च चाप पोखरा खण्डमा, दोस्रो बुटवल

दसैंका बेला उपत्यकाबाट नागढुङ्गा चेकपोस्ट हुँदै बाहिरिने सवारीसाधनमध्ये सबैभन्दा बढी पोखरा खण्डका हुन्छन् । मुग्लिन–पोखरा करिडोर (कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, तनहुँ लगायत) जाने सवारी २७ प्रतिशत हाराहारी हुने देखिएको छ ।

दोस्रोमा बुटवल हुँदै पश्चिम नेपाल (दाङ, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुर, सुदूरपश्चिम) जाने सवारीको हुने गर्छ । तेस्रो बढी चाप नारायणगढ हुँदै पूर्व (वीरगञ्ज, जनकपुर, धरान, विराटनगर, झापा लगायत) जाने सवारीको रहन्छ ।

चौथो चाप मुग्लिनसम्म जाने सवारी (धादिङ, नौबिसे, मलेखु, त्रिशूली, नुवाकोट लगायत) को हुन्छ । त्यसपछि मुग्लिन–बुटवल हुँदै नवलपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची लगायत जिल्लामा जाने सवारीको हुने गरेको छ ।

प्रतिवेदन अनुसार नागढुङ्गा नाकाबाट बाहिरिने सवारीमध्ये ५५ प्रतिशत नारायणगढ पुग्छन् । त्यसपछि महेन्द्र राजमार्ग हुँदै पूर्व र पश्चिम बाँडिन्छन् ।

६५ हजार सवारीसाधन आवश्यक

प्रतिवेदन अनुसार दसैंका यात्रु बोक्न अधिकतम ६५ हजार वटासम्म सवारीसाधन आवश्यक पर्छ । ठूला बसले ४८ प्रतिशत यात्रु ओसार्ने भएकाले यी बस यातायातका मुख्य मेरुदण्ड हन् । यातायात व्यवसायीका अनुसार उपत्यका केन्द्रित डेढ लाख सवारीसाधन चल्छन् ।

गत वर्षको तथ्यांक अनुसार षष्ठीदेखि नवमीसम्म दैनिक औसत १० हजार सवारीले यात्रु बोकेका थिए । यसमध्ये फूलपातीको दिन १९ हजार ६ सय ७१ सवारी उपत्यकाबाट बाहिरिएको तथ्यांक छ । यस वर्ष सवारी उपलब्धताका आधारमा यात्रु माग अनुसार सिट उपलब्ध हुने अनुमान समितिले गरेको छ ।

यात्रुले किन टिकट पाउँदैनन् ?

तथ्यांकले पर्याप्त सवारीसाधन रहेको देखाए पनि  यात्रुले भने टिकट नपाएको उदाहरण पर्याप्त देखिन्छ । प्रतिवेदन अनुसार यात्राको माग सबै क्षेत्रको वा सबै नाका हुँदै बाहिरिने दिन समान नहुने र सोही अनुसार सवारी व्यवस्थापन गर्न नसक्दा यो समस्या आएको हो ।

अर्कातर्फ, सडकको अवस्था राम्रो नहुँदा सवारी निर्धारित समयमा गन्तव्यमा नपुग्ने र अर्को यात्राका लागि उपलब्ध नहुने अवस्था छ । साथै, कतिपय अवस्थामा यात्रुले खोजे अनुसार अगाडिको सिट उपलब्ध नहुँदा पनि गुनासो आएको हुन सक्ने अनुमान प्रतिवेदनमा छ ।

यस वर्ष व्यवस्थापनमा कति तयार छन् सरोकारवाला ?

यस वर्ष संसदीय समिति स्वयं दसैंको यात्रा व्यवस्थापन चुस्त बनाउन खटिएको छ । प्रतिवेदन सोही खटाइएको एक अंश हो । समितिले चाडबाडमा यात्रु अनुभव, गुनासो र सल्लाह लिन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । सोहीमार्फत आएका गुनासो सिधै सम्बन्धित निकाय समक्ष निर्देशन दिन प्रयोग गर्ने योजना समितिको छ ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा एक चरणको छलफल गरिसकेको छ । तर, मिति तोकेको छैन । विभागले यसअघिको बैठकबाट टिकट बुकिङ अधिकतम अनलाइनबाट गराउन निर्देशन दिएको छ ।

सार्वजनिक यातायात व्यवसायीले सवारी चालक र कर्मचारीलाई परिचयपत्रको व्यवस्था गर्न, अनधिकृत स्थान, काउन्टर र व्यक्तिबाट टिकट बिक्री रोक्नसमेत भनेको छ ।

यात्रुले अनिवार्य टिकट लिएको सुनिश्चित गर्न र मापसे गरेर यात्रा गरेको अनुगमन गर्नसमेत सरोकारवालालाई निर्देशन दिएको छ । लामो दुरीमा अनिवार्य दुई चालक राख्न, यात्रु माग अनुसार सवारी व्यवस्था गर्नसमेत विभागले व्यवसायीलाई भनेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १ हजार ३ सयभन्दा धेरै जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । उपत्यकाभित्र विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष राख्ने तयारी छन् । अन्य मुख्य नाकामा समेत प्रहरीले निरन्तर चेकिङ गर्ने छ ।

सडक विभागले सम्भावित विपद् र आपत्कालीन उद्धार टोली तयारी अवस्थामा राख्ने छ । ५३ वटा ठूला मेसिन सोही प्रयोजनमा तयारी अवस्थामा रहनेछन् । यसपालि भोटेकोशी बाढीले धेरै सवारी बगेको, कर्मचारी बेपत्ता रहेको र सरकारले लामो समय सवारी दर्ता रोकेका कारण सार्वजनिक सवारीसाधन व्यवस्थापनमा समेत चुनौती देखिएको छ ।

दीर्घकालीन समस्या समाधानका लागि के गर्नुपर्छ ?

संसदीय समितिले हरेक वर्ष दसैंका बेला दोहोरिने सास्ती रोक्न दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सिफारिस समेत गरेको छ । जसमा तथ्यांक संकलन, सार्वजनिक यातायातमा प्रविधि प्रयोग, डिजिटल टिकट र चलान व्यवस्था मिलाउन भनिएको छ ।

सूचना प्रवाह गर्ने विश्वसनीय माध्यम विकास, नागरिक सचेतना, व्यवसाय सञ्चालन तथा सेवा प्रवाहमा प्रत्यक्ष संलग्नलाई पर्याप्त तालिम दिन र यी सबै समस्या समाधान गर्न सार्वजनिक यातायात प्राधिकरण गठन गर्नसमेत सुझाव दिइएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?