Comments Add Comment

आहा जनकपुरधाम, एकचोटि घुम्न जाम !

३१ भदौ, जनकपुरधाम । भगवान रामचन्द्रको ससुराली घर । अर्थात् सीताको जन्मस्थलो जनकपुरधाम नेपालको गौरवमय इतिहास बोकेको सांस्कृतिक सम्पदायुक्त शहर हो । नेपाल सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेको सन्दर्भमा स्वदेशी र विदेशी पर्यटकका लागि समेत जनकपुरधाम एउटा महत्वपूर्ण गन्तव्य हो ।

जानकी मन्दिर हिन्दूहरुको पवित्रस्थल हो । मध्यकालीन मुगल शैलीमा बनेको यो मन्दिरको दर्शन गर्न दैनिक हजारौं तीर्थालुहरु आउने गरेका छन् । अहिले प्रदेश सरकारले आकर्षक सिंहमरमर बिच्छ्याएर मन्दिरको सौन्दर्यकरण तीव्र रूपमा गरिरहेको छ ।

जनकपुरधाम ऐतिहासिक, धार्मिक, पुरातात्विक शहर हो । यहाँ जानकी मन्दिरका साथै राम मन्दिर, जनक मन्दिर, शिव मन्दिर लगायत विभिन्न मन्दिरहरु छन् । जसरी काठमाडौं उपत्यकालाई मन्दिर र मूर्तिहरुको शहर भनिन्छ, जनकपुरधाम पनि काठमाडौं भन्दा कम छैन ।
जनकपुरधामको अर्को आकर्षण भनेको यहाँका पोखरीहरु हुन् । विगतमा स्याहार–सम्भार नपुगेको भनेर गुनासो आउने गरेका पोखरीहरु अचेल आकर्षक र मनमोहक बनाइएका छन् ।

हरेक साँझमा हुने गंगा आरती जनकपुरधामको अर्को आकर्षण हो । काठमाडौंको पशुपति हुँदै आएको आरतीजस्तै जानकी मन्दिरको दर्शनपश्चात गंगासागर पोखरीको छेउमा हरेक साँझ गंगा आरती हुँदै आएको छ ।

धार्मिक र ऐतिहासिक स्थलका अतिरिक्त आन्तरिक पर्यटकहरुलाई लोभ्याउने जनकपुरधामको अर्को आकर्षण हो– रेल्वे स्टेशन । धमाधम बनिरहेको रेल्वे स्टेशनले देशभरिका मानिसहरुलाई आकर्षित गर्न थालेको छ । जनकपुरधाम पुगेर फर्कनेहरुले रेल्वेमा सेल्फी हानेर फेसबुकमा पोस्ट गर्ने क्रम बढेको छ ।

रेलको लिक र स्टेसन बनिसकेका कारण अब चाँडै नै यहाँ रेल गुड्न थाल्नेछ र त्यसपछि आन्तरिक पर्यटकहरु जनकपुरमा घुइँचो लाग्ने स्थानीयको विश्वास छ ।
जनकपुरको अर्को आकर्षण हो– माछा । जनकपुरको माछाले मुलुकमै प्रसिद्वी पाएको छ । बजारमा फ्राइ गरेर राखिएका माछाको स्वाद जनकपुरधाम घुम्न आउनेहरुले चाख्ने गरेका छन् । यसबाहेक पोखरीमा पालिएका माछासमेत आन्तरिक पर्यटकलाई आकर्षित गर्ने माध्यम बन्न सक्छन् ।

देशको प्रमुख सांस्कृतिक नगरी जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी हो । प्रदेशको राजधानी बनिसकेपछि विभिन्न ८ जिल्लाका नागरिक र नेताहरु प्रशासनिक काम लिएर जनकपुरधाममा आवत–जावत गर्ने क्रम बढेको छ ।

हुन त प्रदेशको राजधानी बन्नुभन्दा पहिले पनि यो ठाउँमा देशविदेशबाट विशेष गरी धार्मिक पर्यटकहरु आउने गरेकै थिए । प्रदेशको राजधानी बनेपछि यहाँको रौनक झन् बढेको छ ।
स्वदेशका ऐतिहासिकस्थलहरुको भ्रमण गर्न चाहनेहरुका लागि जनकपुरधाम पुग्न गाह्रो छैन । काठमाडौंबाट पूर्वी नेपालतर्फ जानेहरु एकचोटि जनकपुरधाम छिर्न चाहने हो भने पूर्व–पञ्चिम राजमार्गबाट २२ किलोमिटर भित्र छिरेर घुमघाम गरी सोही दिन आफ्नो गन्तव्यतर्फ फर्कन सक्छन् । पूर्वपश्चिम राजमार्गको ढल्केबरबाट करिब २२ किलोमिटर दक्षिणतर्फ लागेपछि ऐतिहासिक जनकपुरधाम पुग्न सकिन्छ ।

दिनभरि घुमेर फर्कन सकिने भएता पनि राति बसोबास गर्नका लागिसमेत जनकपुर उपमहानगरपालिकाभित्र होटलहरुको पर्याप्त सुविधा छ । यसका साथै जनकपुरधाम हवाइ यातायातसँग पनि जोडिएको शहर हो ।

पशुपतिनाथ मन्दिरजस्तै हिन्दु धर्मावलम्बीहरुको पवित्र स्थलका रुपमा रहेको जनकपुरधाम एकचोटि घुम्न आउने हैन त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment