Comments Add Comment

पर्यटक सवार ७ हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

३१ भदौ, काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउन लागेका ७ हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरेका छन् ।

सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका ८ हेलिकप्टरमध्ये ७ ले मौसम खराब भएपछि आकस्मिक अवतरण गराएका हुन् । आकस्मिक अवतरण गराउनेमा कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकप्टर छन् ।

पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटी भन्ने ठाउँमा ३ वटा र होक्से भन्ने ठाउँमा एउटा हेलिकप्टर बिहान ८ बजे आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

सोलुखुम्बुबाट उडेका ८ मध्ये ४ वटा काभ्रेमा र ३ वटा सिन्धुलीको नेपाल थोकमा आकस्मिक अवतरण भएके डिएसपी गिरीले बताए । ‘८ वटा हेलिकप्टर लुक्लाबाट बिहान उडेको जानकारी आएको छ, तीमध्ये ४ वटा काभ्रेमा र ३ वटा सिन्धुलीको नेपाल थोकमा आकस्मिक अवतरण भएछन्’, उनले भने, ‘काभ्रेमा अवतरण भएका मध्ये एउटा केही मिनेटअघि मात्रै काठमाडौंका लागि उडेको छ ।’

केही दिनदेखि लुक्लाबाट जहाज उड्न नसकेपछि त्यहाँ करिब ३ सय पर्यटक अलपत्र थिए । अलपत्र परेका तिनै पर्यटकको उद्दारका लागि हेलिकप्टरहरु लुक्ला पुगेका थिए । प्रतिकूल मौसममा जोखिम नलिने भन्दै ७ वटा इनरुटमा रोकिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment