Comments Add Comment

मधेसमा नेकपाबीच यदुवंशी झगडा, हेडक्वार्टरमा माधव र मात्रिकाविरुद्ध उजुरी

३० भदौ, जनकपुरधाम । नेकपाको केन्द्रीय कार्यालयमा केपी शर्मा ओली र प्रचण्ड मिल्दाको असर प्रदेश २ मा देखिएको नेताहरुले बताएका छन् । प्रदेश २ का इञ्चार्ज सत्यनारायण माण्डल र अध्यक्ष प्रभु साहले गतसाता बर्दिबासमा भएको कुटाकुटका कारक माधवकुमार नेपाल र उद्योगमन्त्री मात्रिका यादव भएको सूचना ओली र प्रचण्डलाई दिएका छन् ।

बर्दिबासमा भएको हुलदंगा र कुटाकुटको घटनापछि प्रदेश २ कमिटीको कार्यालय बैठकले माधव नेपाल र मात्रिका यादवको उक्साहटमा सो घटना भएको ठहर गरेको छ । एक पदाधिकारीका अनुसार अध्यक्षद्वय ओली, प्रचण्ड र महासचिव विष्णु पौडेलसमक्ष सो विषयमा रिपोर्टिङसमेत गरिसकिएको छ ।

भदौ २४ गते बर्दिबासमा प्रदेश २ का केही जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड र कुटाकुट भएको थियो । बर्दिबास सेवा समितिको हलमा हुन लागेको कार्यक्रममा तोडफोड तथा प्रदेश अध्यक्ष प्रभु साह एवं सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास भएको थियो ।

भोलिपल्ट बसेको प्रदेश कार्यालयको बैठकले उक्त घटना बरिष्ठ नेता नेपाल तथा स्थायी कमिटी सदस्य मातृका यादवको निर्देशनमा भएको निचोड निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गरेको छ ।

यो पनि पढ्नुहोस नेकपा प्रदेश २ को शपथ ग्रहण कार्यक्रममा कुटाकुट

एकजना प्रदेश पदाधिकारीले यसको पुष्टि गर्दै भने, पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो । विवाद केही होइन, केन्द्रमा भएको असन्तुष्टि तल्लो तहमा पोख्न उहाँहरुले सपथ ग्रहण नै भाँड्न खोज्नुभयो ।

केन्द्रमा ओली र प्रचण्ड मिलेपछि प्रदेश २ मा नेकपाको समीकरण पनि फेरिएको छ । प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र सचिव सुमन प्याकुरेल ओलीनिकट मानिन्छन् । प्रदेश अध्यक्ष प्रभु साह प्रचण्ड निकटका हुन् । माथि ओली र प्रचण्ड मिलेपछि तल प्रदेश कमिटीमा पनि यी पदाधिकारी एकजुट छन् ।

प्रदेशका सहइन्चार्ज नागेन्द्र चौधरी माधव नेपाल निकट मानिन्छन् भने मात्रिका यादव र प्रभु साहको कहिल्यै पनि कुरा मिल्दैन । यादवले आफू निकट महेन्द्र पासवानको नेतृत्वमा हुलहुज्जत गराएको आरोप प्रभु साह पक्षको छ । नागेन्द्र चौधरी भने सो घटना हुँदा त्यहाँ थिएनन् ।

प्रदेश कार्यालयले तोडफोडको नेतृत्व गर्ने सह-इन्चार्ज महेन्द्र पासवान, पूर्वसांसद उमेश यादव र केन्द्रीय सदस्य जगत यादवलाई कारवाहीका लागि केन्द्रमा सिफारिस गरेको ती पदाधिकारीले बताए । प्रदेश कार्यालयमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव छन् ।

प्रदेश कार्यालय बैठकमा बोलाउँदा सहइन्चार्ज पासवान नआएको र पार्टीबिरुद्ध गतिविधि गरेको आरोप प्रभु साह पक्षको छ । आक्रमणमा संलग्न गंगा पासवान र फुलगेन नायकलाई प्रदेश कमिटीबाट निष्कासन गर्न र पूर्वमन्त्रीसमेत रहेका उमेश यादवको पार्टीको साधारण सदस्यता खारेज गर्न प्रदेश कार्यालय बैठकले माग गरेको छ ।

बर्दिबास घटना पूर्वएमालेभन्दा पनि पूर्वमाओवादीभित्रको विवादका कारण भएको नेताहरु बताउँछन् । पूर्वएमालेमा धनुषा जिल्ला कमिटीको विवाद थियो । यसअघिका निर्वाचित सदस्यहरुलाई हटाएर ओली पक्षले नयाँ मान्छे राखेपछि त्यसको बिरोध भएको थियो ।

विशेष गरी धनुषामा रघुवीर महासेठविरुद्ध पूर्वएमालेका नेताहरुको आक्रोश व्यक्त भएको एक जिल्ला नेताले बताए । तर, पूर्वमाओवादीको चाहिँ सप्तरी, सिराहालगायत सबै जिल्ला कमिटीमा प्रभु साह पक्षले एकलौटी गरेको भन्दै अन्य नेताले यसअघि नै प्रचण्डको ध्यानाकर्षण गराइसकेका थिए ।

विवादका बीच अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलको उपस्थितिमा सपथग्रहण कार्यक्रम राखिएपछि अर्को पक्षले सार्वजनिकरुपमै कार्यक्रम भाँड्ने चेतावनी दिइसकेको थियो ।

विवाद बुझेरै प्रचण्ड र विष्णु पौडेल बर्दिबास गएनन् । तर, संस्थापन पक्षले एकलौटीरुपमा सपथ-ग्रहण अघि बढाउन खोज्दा अप्रिय अवस्था आएको उमेश यादवले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment