Comments Add Comment

ओली शासनमा राजनीतिक प्रदूषण

‘भ्रष्टाचार’ को घोडामा सवार नेपाली राजनीतिको दुश्चक्र

त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको अध्ययन गर्दा यस पंक्तिकारले विगतमा निकालेको निश्कर्ष थियो– नेपालको राजनीति ‘राजनीतिक प्रदूषणको सिद्धान्त’बाट निर्देशित छ । स्नातकोत्तरको विद्यार्थी हुँदा निकालिएको त्यो निश्कर्ष अहिले केपी शर्मा ओलीको शासनमा पनि सामान्यीकरण भइरहेको छ ।

नेपाली कांग्रेस खत्तम भयो, अब हामी देश बनाउँछौं भनेर सत्तामा पुगेको नेकपामा अहिले ‘सतीदेवीको अंगपतन’ प्रारम्भ भएको छ ।

बाहिर दुई तिहाईको जति नै हाँक दिए पनि यो सरकार भित्रभित्रै कमजोर बन्न थालेको छ । सरकार आफ्नै नागरिकहरुसँग डराउन थालेको छ । सामाजिक सञ्जालसँग, विपक्षीसँग र आलोचकहरुसँग लुगलुग काँप्न थालेको छ । यो भयवादी संक्रामक रोगको एउटै कारण हो – सत्तामा बढ्दो राजनीतिक प्रदूषण ।

ओली सरकारको भवितव्यबारे चर्चा गर्नुपूर्व ‘राजनीतिक प्रदूषण’बारे छोटो चर्चा गरौं ।

प्रदूषणको नियम

यो बताइरहनुपर्दैन कि प्रदूषण प्रकृतिको नियम हो । यो सार्वभौमिक र सर्वकालिक हुन्छ । हामीले पकाएको कुराउनी केही दिनपछि गन्हाउन थाल्छ । फ्रिजमा राखेर वा अरु तरिकाले केही दिन नकुहिने बनाउन सकिएला तर, निश्चित समयपछि त्यसको आयु सकिन्छ र अन्ततः प्रदूषित भएरै छाड्छ । तरकारी, फलफूल, खाद्यान्न सबै चिजमा प्रदूषण भइ नै रहन्छ । यो टारेर टर्ने विषय होइन ।

मानिसको शरीर पनि त्यस्तै हो । शरीरमा विभिन्न संक्रमण भइरहन्छन् । रोगले आक्रमण गरिरहन्छ । मानिसले शरीरलाई संक्रमणबाट बचाउन पौष्टिक आहार, सरसफाइ वा औषधिमूलोको सहारा लिँदै आइरहनुपरेको छ । प्रदूषणबाट शरीरलाई जोगाउनुपरेको छ ।

वातावरणको हकमा पनि यही कुरा सत्य हो । हामी हरेक दिन कोठा, घरआँगन सरसफाइ गरिरहन्छौं । आफूले प्रयोग गर्ने भाँडाकुँडा धोइरहन्छौं । शौचालय सफा पारिरहन्छौं ।

‘प्रदूषणको नियम’ अनुसार राज्यमा शुद्धतावादी शक्ति जन्मन्छ र उसले ‘यो सत्ता खत्तम छ, हामी सत्तामा पुग्यौं भने देशको मुहार उज्यालो बनाइदिन्छौं’ भन्छ । तर, सत्तामा पुगेपछि उसमा पनि प्रदूषण सुरु हुन्छ ।

जसरी भौतिक वस्तुहरु, मानव शरीर र वातावरणलाई प्रदूषणबाट जोगाउन संघर्ष गरिरहनुपरेको छ, त्यसैगरी, समाज र राजनीतिमा पनि बारम्बार सरसफाइ\शुद्धीकरण नगर्ने हो भने समाज र राजनीतिमा पनि प्रदूषण सुरु भइहाल्छ । यो प्रकृतिको सार्वभौम नियम हो ।

समाज र राजनीतिमा पनि बारम्बार प्रदूषण भइरहन्छ र त्यसबाट जोगिने उपायहरुको खोजी गरिरहनुपर्ने हुन्छ । ठूला–ठूला दर्शनशास्त्री, समाजशास्त्री वा राजनीतिशास्त्रीहरुको भूमिका यहीँनेर हुन्छ । समाज सुधारक र राजनेताहरुको भूमिका पनि यसैमा केन्द्रित हुन्छ ।

राजनीतिलाई कसरी प्रदूषणहरुबाट मुक्त पार्ने र देशमा शान्ति, सुशासन र अमनचयन कायम गर्ने भन्ने उपायहरुको खोजी नै अहिलेसम्मको राजनीतिशास्त्रको इतिहास हो ।

‘राजनीतिक प्रदूषणको नियम’ अनुसार राज्यमा एउटा शुद्धतावादी राजनीतिक शक्ति जन्मन्छ र उसले बहालवाला शासकको विरोध गर्दै भन्छ, ‘यो सत्ता खत्तम छ, हामीलाई साथ दिनोस्, हामी सत्तामा पुग्यौं भने देश र जनताको मुहार उज्यालो बनाइदिन्छौं । कायापलट गरिदिन्छौं । विकास र समृद्धि ल्याइदिन्छौं ।’

जनतालाई दिएको आश्वासनका आधारमा नयाँ राजनीतिक शक्ति सत्तामा पुग्छ । तर, शासनमा पुगेको केही समयपछि नै उसमा पनि राजनीतिक प्रदूषण सुरु हुन्छ र जनतामा निराशा/आक्रोश बढ्न थाल्छ ।

सत्तामा प्रदूषण देखिएपछि अर्को शुद्धतावादी शक्तिको उदय हुन्छ । उसले प्रदूषित सरकारको विरोध गर्न थाल्छ र प्रदूषण हटाउने नारा दिन थाल्छ । जनताले उसलाई सत्तामा पुर्‍याउँछन् । सत्तामा पुगेपछि ऊ प्रदूषित हुन्छ र अर्को शक्तिले फेरि राजनीतिक प्रदूषणको विरोध गर्दै आफूलाई सत्तामा पुर्‍याउँछ । एवं रीतले यो चक्रीय प्रणालीको दुश्चक्र चलिरहन्छ । जसलाई ‘राजनीतिक प्रदूषणको सिद्धान्त’ भनेर सामान्यीकरण गर्न सकिन्छ ।

पूर्वीय पौराणिक ग्रन्थमा पनि सत्य, त्रेता, द्वापर र कलीयुग गरी चार युगको चर्चा गरिएको छ । हरेक युगमा हुने प्रदूषणलाई भगवानले नष्ट गरेर नयाँ युगको सुत्रपात गरेको पौराणिक मिथक पाइन्छ । यो पनि एक प्रकारले ‘राजनीतिक प्रदूषणको सिद्धान्त’ नै हो । भलै यो दैवी मान्यतामा आरधारित राजनीतिशास्त्र हो ।

पाश्चात्य राजनीतिक सिद्धान्तको कुरा गर्दा आदर्श राज्यको वकालत गर्ने दार्शनिक प्लेटोले पनि प्रजातन्त्र, अराजकतन्त्र, कुलीन तन्त्र र निरंकुशतन्त्र इत्यादि चक्रीय प्रणालीको व्याख्या गरेका छन्, जसमा शासन व्यवस्थाभित्र हुने विकृतिहरुबाटै सत्ताहरु ढल्ने विश्लेषण गरिएको छ । यो पनि एक प्रकारको प्रदूषणकै थ्यौरी हो ।

कम्युनिष्टहरुले त झनै ‘नकारको नकार नियम’बारे खुबै वकालत गर्छन् । पुरानोको अनिवार्यरुपमा निषेध हुन्छ र त्यसैको भ्रुणबाट नयाँको जन्म अनिवार्यरुपमा हुन्छ भन्ने कम्युनिष्टहरुको मान्यता छ । फरक यत्ति हो कि कम्युनिष्टहरुले ‘पुरानोभित्र देखिने प्रदूषण’ नभनेर ‘पुरानो सत्तामा देखिने अन्तरविरोध’ भन्ने गरेका छन् ।

नेपाली राजनीतिमा प्रदूषणको नियम

नेपाली राजनीति प्रदूषणको सिद्धान्तबाट निर्देशित रहँदै आएको छ ।

स–साना बाइसे–चौबीसे राज्यहरुमा देखिएको विकृति, आपसी विवाद अर्थात प्रदूषणको फाइदा उठाउँदै पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने मौका पाए । तर, राज्यलक्ष्मी र बहादुर शाहकै पालादेखि सत्तामा देखिएको प्रदूषण तीन/चार पुस्तामा आइपुग्दा कोतपर्वमार्फत निरंकुश राणा शासन जन्मियो ।

राणा शासनमा देखिएको प्रदूषण रोक्ने अनेक प्रयासका वावजुद २००७ सालमा क्रान्ति जन्मियो । प्रजातन्त्रमा प्रदूषण देखापर्‍यो र त्यसले परिवर्तनको संवाहक नेपाली कांग्रेसलाई खाइदियो र आफूलाई शुद्ध दाबी गर्ने पञ्चायतलाई जन्मायो ।

पञ्चायती व्यवस्थाभित्र पनि प्रदूषण देखा पर्नु राजनीतिशास्त्रको नियमै हो । ०३६ साल हुँदै ०४६ सालसम्म आइपुग्दा पञ्चायतभित्रको प्रदूषण गुणात्मक बन्यो र बहुदल जन्मियो ।

त्यही अवधिमा माओवादीले आफ्नै पाराको ‘शुद्धतावाद’ को नारा दिएर सशस्त्र संघर्ष सुरु गर्‍यो । बहुदलीय व्यवस्थाभित्र देखिएको भ्रष्टाचार, गुटबन्दी, हिंसा लगायतको प्रदूषणबाट फाइदा उठाउँदै शुद्धतावादी नारा दिएर ०५८ पछि ज्ञानेन्द्र शाह प्रत्यक्ष शासनमा आए । बहुदलको प्रदूषणबाट वाक्क बनेका कतिपय जनताले ‘राजा आऊ देश बचाउ’ भन्ने नारा लगाए । तर, ज्ञानेन्द्रले सत्ता हातमा लिए पनि राजनीतिक प्रदूषण हटाउन सकेनन् । उनको शासनमा पनि भ्रष्टाचार कम भएन । बरु राजपरिवारको खर्च र सुविधा बढाउने कामहरु भए । अन्ततः ०६३ को आन्दोलनपछि ज्ञानेन्द्रको शासन ढल्यो र गणतन्त्र स्थापना भयो ।

०४६ सालयता नेपाली जनताले व्यवस्था मात्र फेरेनन्, राजनीतिक प्रदूषणबाट पार पाउने आशामा कहिले कांग्रेसलाई सत्तामा पुर्याए, कहिले एमालेलाई पुर्याए । ०६३ पछि कांग्रेस र एमाले दुवै प्रदूषित भएकाले माओवादीले पो शुद्ध काम गर्ला कि भनेर उसलाई पनि जनताले सरकारमा पुर्याए । नेपाली जनताले दलहरुलाई फेर्दै र चाख्दै राजनीतिक प्रदूषणबाट मुक्त हुने प्रयास गरे ।

के अब गणतन्त्र आएपछि नेपाली राजनीति प्रदूषणबाट मुक्त भयो त ? साम्यवादको गुलियो सपना बाँड्ने कम्युनिष्टको स्थिर सरकार बनेपछि अब पुरानो इतिहास नदोहोरिएला ? के अब नेपाली राजनीतिको प्रदूषणको दुश्चक्र यहीँनेरबाट घुम्न छाड्ला ? अहँ । यो चक्र रोकिने देखिन्न । यो त नेपाली राजनीतिक इतिहासको नियमै बनिसकेको छ । नेपालको इतिहासले नै बताउँछ कि जनताले एकाध दशकमा व्यवस्था नै फर्ने गरेका छन् । बहुदलीय शासन व्यवस्थामा उनीहरुले पटक–पटक सरकार फेरेका छन् ।

‘भूमिगत समूह’ देखि ‘भाइरल समूह’ सम्म

०६२/०६३ को आन्दोलनताका नेपालमा मुख्यतः ७ वटा राजनीतिक शक्तिहरु अस्तित्वमा थिए– कांग्रेस, एमाले, माओवादी, राजावादी राप्रपा, मधेसकेन्द्रित दल, पहिचान पक्षधर आदिवासी जनजातिसमूह र साना कम्युनिष्ट समूहहरु ।

संविधानसभा चुनावताका सानातिना पार्टी खोल्ने, अलिकति समानुपातिक भोट बटुल्ने, एक–दुई सीट जित्ने र मन्त्री पड्काउने अभियान देशभित्र खुबै चल्यो । थ्रेसहोल्ड नलाग्दासम्म यो स्थिति कायमै रह्यो । थ्रेस होल्ड लगाउँदै गर्दा सत्तापक्षीय ‘स्कुल अफ थट’ ले के कुरा बुझ्न सकेन भने साना पार्टीहरु समस्या मात्र थिए ? वा तिनीहरु असन्तुष्टिलाई ‘भेन्टिलेट’ गर्ने समाधान पनि थिए ?

अहिलेसम्म सरकारलाई डेंगु नियन्त्रणका लागि ‘भगर गन’ चलाउनु र विप्लव नियन्त्रणका लागि ‘रियल गन’ चलाउनु उस्तै–उस्तै प्रतीत भइरहेको छ

अर्कोतर्फ माओवादीको सिको गर्दै भूमिगत सशस्त्र समूह बनाउने, चन्दा उठाउने र सम्पत्ति कमाउने अभियान पनि ०६२/०६३ पनि खुबै चल्यो । यो अभियानलाई १० वर्षे सशस्त्र द्वन्द्वको प्रदूषणले जन्माएको बाइप्रोडक्ट मान्न सकिन्थ्यो । जसरी माओवादीको बाइप्रोडक्टका रुपमा भूमिगत समूह जन्मिए, त्यसैगरी मधेस आन्दोलनको बाइप्रोडक्टका रुपमा ससाना पार्टीहरु र सिके राउतको विखण्डनकारी धारसमेत जन्मियो । भलै अहिले सिके राउतलाई राज्यले ‘कोप्ट’ गरिदिएको छ ।

‘माओवादी विकल्प’ को दुःखान्त कम्ता त्राशदीपूर्ण छैन । बाबुराम र मोहन वैद्य किनारामा परेका छन् । प्रचण्ड नेतृत्वको मूलजरोलाई एमालेले सहवरण गरेर आफूलाई सत्तामा चढाएको छ । एक प्रकारले भन्नुपर्दा माओवादीको ढाडमा टेकेर एमालेले सत्तारोहण गरेको छ । तर, माओवादीले उठाएका मुद्दा (खासगरी शान्ति प्रक्रिया र द्वन्द्वकालीन समस्या) प्रति एमाले टीमले अनदेखा गरिरहेको छ । यसमा एमालेजनको मात्र दोष छैन, प्रचण्ड आफैंले एमालेसँग आत्मसमर्पण गरेर आफ्नो पहिचान पोलेर खाएका हुन् । यो स्थिति यति भयावह छ कि प्रचण्डलाई जति–जति कमजोर बनाउँदै कर्नरमा पारिँदैछ, उतिउति विप्लवको ‘ग्राभिटी’ बढिरहेको छ । ओली सरकारले यो कुरा बुझ्न सकिरहेको छैन ।

विप्लव समूह नेपाली राजनीतिको भवितव्य हो । यो माओवादी आन्दोलनको ‘साइड इफेक्ट’ हो । सरकार विप्लवलाई थुनेर वा जेलमा कोचेर यो प्रदूषणबाट मुक्त हुन सकिने विश्वासमा देखिन्छ । तथापि अहिलेसम्म सरकारलाई डेंगु नियन्त्रणका लागि ‘भगर गन’ चलाउनु र विप्लव नियन्त्रणका लागि ‘रियल गन’ चलाउनु उस्तै–उस्तै प्रतीत भइरहेको छ ।

संविधान बन्दै गर्दा सीमान्तीकृत समुदायका मुद्दाहरु राज्यले सम्वोधन गर्नुपर्छ भनेर नागरिक तहबाट राज्यसमक्ष आवाज उठाइनु अस्वाभाविक थिएन । तर, पहिचानवादीहरुले एकतावद्ध भएर बलियो बन्नेतिर नगई फुटेर आफ्नो संकीर्ण स्वार्थ पूरा गर्ने गलत बाटो खोजे । अहिले उनीहरु आफ्नै गल्तीमा पञ्चाताप गर्ने ठाउँमा आइपुगेका छन् । अहिलेसम्म आइपुग्दा पहिचानको मुद्दा इतिहासको गर्तमा सहीद बन्न पुगेको छ । तथापि, संविधानमा असन्तुष्टिका रुपमा यो मुद्दा नेपाली राजनीतिमा सहीदकै सम्झनामा भए पनि जीवितै छ ।

तर, ओली सरकारले सीमान्तीकृतहरुमाथि न्याय गर्नेबारे सोचेको देखिँदैन । उनीहरुका आवाजलाई कार्पेटमुनि छोपेर नश्लीय दमनको नीतिमा देखिन्छ सरकार । तर, कार्पेटमुनिको आगो निभेको छैन । जबसम्म माओवादी, मधेसी र सीमान्तीकृत समुदायले उठाएका मुद्दाहरुलाई राज्यले गम्भीर रुपमा आत्मसाथ गर्दैन, तबसम्म नेकपा सरकार मात्र होइन, गणतन्त्रको भविश्यमाथि नै प्रदूषणको खतरा बढ्दै जानेछ ।

‘राइटिङ अन द वाल’

पछिल्लो समय नेपाली राजनीतिमा निकै रोचक र नौला परिघटना देखिन थालेका छन् । जसरी ०६२/०६३ पछि देशमा असारे च्याउजस्तै समूह जन्मिएका थिए, अहिले युट्युब, फेसबुक र ट्विटरको सहारा लिँदै सरकारविरोधी अभियन्ता र समूह जन्मन थालेका छन् । र, दुई तिहाईको सरकार यी समूहहरुसँग डराएर उनीहरुलाई बोल्न नदिने, गिरफ्तार गर्ने, मुद्दा चलाउने अनि कार्यकर्ता खटाएर पिटपाट गर्ने मूर्खतापूर्ण मण्डले हर्कतमा ओर्लिन थालेको छ । यो ओली सरकारको कायरताको लक्षण हो ।

सरकारविरुद्ध सामाजिक सञ्जालमा  दुईखाले  विरोध देखिएका छन्- एकथरि विरोध व्यवस्थाप्रति नै लक्षित छ भने अर्कोथरि  सरकारको विरोधमा मात्र केन्द्रित छ ।

नेकपा सरकार आफ्नो स्थापनाकालदेखि नै सामाजिक सञ्जाल र मिडियासँग डराइरहेको थियो । उसले सुरुमै औपचारिक सञ्चार माध्यममाथि नियन्त्रणमुखी नीति लियो । आफ्नो आलोचना गर्ने पत्रकारलाई गाली गर्ने र ‘देश भँडुवा विकासविरोधी इत्यादि आरोप लगाउने काम ‘राता मण्डले’ अर्थात ‘अरिंगाल’ हरुबाट सुरु भयो । प्रधानमन्त्री ओली आफैंले आलोचकहरुमाथि अरिंगाल बनेर जाइलाग्न निर्देशन दिए ।

वास्तवमा नेपाली मिडियाको मूलधार लोकतान्त्रिक गणतन्त्रको पक्षमा थियो, जसलाई ओली सरकारले शत्रु ठान्यो । औपचारिक मिडियालाई अरिंगालले चिलिरहेकै बेला सरकारविरुद्ध अनौपचारिक मिडिया (सामाजिक सञ्जाल) अगाडि आयो । र, अहिले सरकार यही संकटमा फस्दै गइरहेको छ । सरकारलाई यतिबेला नेत्रविक्रम चन्द विप्लव भन्दा युट्युवका ‘भाइरल म्यान’हरु खतरनाक लाग्न थालेका छन् ।

सरकार जति–जति अपरादर्शी, भ्रष्ट, गैरजिम्मेवार र प्रदूषित हुँदै जाँदैछ, समाजमा नयाँ–नयाँ अभियन्ताहरु जन्मँदै छन् । यिनीहरुले भविश्यमा सरकारलाई राजनीतिक धक्का दिने प्रष्ट देखिएको छ ।

प्रधानमन्त्री केपी ओली र उनका सारथीहरुलाई लागेको हुन सक्छ– हामीले पहिचानवादीलाई हरायौं, मधेसवादीलाई हरायौं, जातिवादीलाई हरायौं, माओवादीलाई पनि हरायौं र राजावादीलाई पनि हरायौं । सबैलाई स्याल बनायौं र हामी सिंह बन्यौं । अछ्युँ खायौं, बछ्युँ खायौं, अब युट्युबमार्फत आएका झुँसे बारुलाहरुलाई अरिंगाल बनेर सहजै डस्न सकिन्छ । शायद यस्तै ठानेर नेकपाका कार्यकर्ताहरु बाँकेमा कांग्रेसलाई कुट्नेदेखि काठमाडौंमा ज्ञानेन्द्र शाहीलाई भकुर्नेसम्मको स्वेत आतंकमा उत्रन थालेका छन् ।

तर, नेपाली राजनीतिको ‘ट्रेन्ट’ नेकपाका नेताहरुले सोचेजस्तो सजिलो छैन । सरकारले सबैभन्दा पहिले भकुर्नुपर्ने आफैंभित्र मौलाएको प्रदूषण र विकृतिलाई हो । देशमा भ्रष्टाचार, विकृति र विसंगति रहँदासम्म सरकार त संकटमा पर्छ–पर्छ, यसबाट व्यवस्था नै संकटमा पर्ने खतरा हुन्छ । त्यसर्थ, सरकारले ‘राइटिङ अन द वाल’ लाई राम्ररी नियाल्न जरुरी छ ।

सरकारविरुद्ध अहिले सामाजिक सञ्जालमा जुनखालको विरोध व्यक्त भइरहेको छ, यी विरोधहरु दुईखाले छन् : एकाथरि विरोधहरु व्यवस्थाप्रति नै लक्षित छन् भने अर्कोथरि विरोधचाहिँ व्यवस्थाको विरोधमा नभएर सरकारको विरोधमा मात्र केन्द्रित छ ।

भ्रष्टाचारको राजनीति

देशमा भ्रष्टाचार मौलाएको छ भन्नेमा शायदै कसैको विमति होला । तर, भ्रष्टाचार नियन्त्रण गर्ने काम कसको ? भ्रष्टाचारीलाई कारवाही कसले गर्ने ? यो अहम राजनीतिशास्त्रीय प्रश्नमा चाहिँ पर्याप्त बहस भइरहेको छैन ।

यसमा कुनै विवाद छैन कि भ्रष्टाचारको छानविन वा नियन्त्रण गर्ने काम राज्यका निकायहरुकै हो । सरकार, अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र वा अदालत जस्ता राज्य संयन्त्र हुँदाहुँदै भ्रष्टाचार नियन्त्रण कसले गर्ने भन्ने प्रश्न उठाइराख्नु नपर्ने हो । सञ्चार माध्यमहरु पनि भ्रष्टाचार नियन्त्रणका लागि राज्यका प्रभावकारी अंगहरु हुन् ।

तर, अहिले राज्यभन्दा बाहिरबाट कुनै देवदूत उत्पन्न भएर भ्रष्टाचारीलाई ठेगान लगाउने र भ्रष्टाचारको अन्त्य गर्ने ऐलान हुन थालेको छ । यस्तो हुनु भनेको राज्यप्रति अविश्वास बढ्नु र राज्य निरीह बन्नु नै हो । न्याय र कानूनको शासन मर्नु नै हो ।

देशमा कतिपयले जनस्तरबाटै भ्रष्टाचारविरोधी अभियान र कार्यक्रम चलाउन खोजिरहेको देखिन्छ । आफूलाई समाजमा हिरो बनाउने उद्येश्यले त्यसो गरिएको भएता पनि नागरिकस्तरबाट चल्ने यस्ता अभियानले लोकतन्त्रलाई बलियो बनाउन सहयोग नै पुर्याउँछन् । त्यसैले यस्तो अभियानबाट सरकारमा बस्नेहरुले आत्तिन र कोकोहोलो मच्चाउन जरुरी हुँदैन । तर, भ्रष्टाचार, बेथिति र प्रदूषणको विरोधमा हुने अभियानलाई व्यवस्था विरोधीहरुको हातमा पुग्न दिइयो भने चाहिँ त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । नेपालमा अहिले भइरहेको समस्या नै यहीँनेर हो ।

नेपालमा अहिले भ्रष्टाचारको विरोध गर्ने र भ्रष्टाचारीहरुलाई जनकारवाही गर्छु भन्दै हिँड्नेहरु या त वाम उग्रवादी छन्, या दक्षिणपन्थी राजावादी । जो लोकतान्त्रिक गणतन्त्रका पक्षपाती हुन्, उनीहरुचाहिँ भ्रष्टाचारको विरोधमा एक शब्द पनि बोलिरहेका छैनन् । कतिपयचाहिँ भ्रष्टाचारको विरोध गर्नेहरु नै आफैं भ्रष्टाचार गरिरहेका छन् । विशेष गरी विप्लव समूहमा यो लागू हुन्छ । सरकारतर्फ पनि अख्तियारका पदाधिकारी र प्रहरीसमेत भ्रष्टाचारमा मुछिने गरेका छन् । ब्यूरोक्रेसी र ठूला पार्टीहरुको त कुरै नगरौं । हामी नेपालीको खराब बानी के छ भने एउटा सरकार वा दलसँग चित्त बुझेन भने व्यवस्थाकै विकल्प खोजिहाल्ने । अमेरिका र भारतमा जस्तै गणतन्त्रको विकल्प गणतन्त्रभित्रै खोजिनुपर्ने हो ।

यो परिस्थितिमा राज्य संयन्त्रभन्दा बाहिरैबाट सञ्चालन हुने भ्रष्टाचारविरोधी अभियानले सरकारलाई खुइल्याउँदै लैजाने र लोकतन्त्रविरोधीको सेवा गर्ने खतरा बढ्दो छ । तर, यसको मुख्य दोषीचाहिँ राजनीतिक प्रदूषणको मुहान, नेकपा सरकार नै हो । भविश्यमा यस्तो नहोस् कि भ्रष्टाचारविरोधी अभियानको घोडा चढेर ज्ञानेन्द्र वा विप्लव टुँडिखेलमा नउत्रिउन् ।

वैकल्पिक शक्तिमा प्रदूषण

राजनीतिक प्रदूषणको सिद्धान्तअनुसार कुनै पनि राजनीतिक दल सत्तामा पुगेपछि मात्र प्रदूषित हुँदैन, सत्तामा नपुग्दै पनि प्रदूषित भएर खिइन सक्छ । जस्तो– भारतका कतिपय कम्युनिष्ट पार्टीहरु सत्तामा नपुगी सिद्धिए । नेपालमा पनि कांग्रेस, एमाले र माओवादीको विकल्पमा खोलिएका नयाँ शक्तिहरु अगाडि बढ्न सकेनन् र भ्रुणावस्थामै कमजोर भए । कमल थापा नेतृत्वको पुरानै राप्रपा चौथो शक्ति बनिसकेको थियो, तर प्रदूषित भएर कमजोर बन्यो ।

बाबुराम भट्टराई, रविन्द्र मिश्रहरुको हकमा पनि त्यस्तै भइरहेको छ । डा. भट्टराईले नेतृत्व गरेको नयाँशक्ति र रवीन्द्र मिश्र तथा उज्जवल थापाले नेतृत्व गरेको साझा विवेकशील पार्टी शक्ति आर्जन नगर्दै चोइटिए । ‘थर्ड पोल’ मा उदाएका संघीय समाजवादी र राजपा पनि बढ्ने भन्दा खिइनेतिर लागे । अन्ततः गत चुनावमा पुरानै कांग्रेस र कम्युनिष्टजस्ता शक्तिहरु सत्तामा दोहोरिए ।

यसले के देखाउँछ भने नेपालको राजनीति विस्तारै व्यवस्थाको विकल्पतिर नभएर दलको विकल्पतिर अभ्यस्त हुन खोज्दैछ । अझ, बहुदलीय विकल्पभन्दा पनि दुईदलीय विकल्पतर्फ उन्मूख हुन खोज्दैछ । जस्तो– अमेरिकामा डेमोक्रेटिक पार्टी प्रदूषित भयो भने जनताले रिपब्लिकनलाई रोज्छन्, रिपब्लिकन बिग्रियो भने फेरि डेमोक्रेटिकलाई सत्तामा पुर्याउँछन् । त्यहाँ व्यवस्थाकै विरुद्धमा नारा लाग्दैन । भारतमा पनि त्यही हो । भारतीय राजनीतिमा संविधानको परिधिभित्रै रहेर सरकारको विकल्प खोजिन्छ । नेपालमा जस्तो व्यवस्थाको विकल्प खोजिँदैन । त्यहाँ लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ ।

तर, हामी नेपालीको चाहिँ खराब बानी के छ भने ९/१० महिना पुगेपछि बहुमतको सरकार ढाल्न खोज्ने । एउटा सरकार वा एउटा दलसँग चित्त बुझेन भने व्यवस्थाकै विकल्प खोजिहाल्ने । जस्तो–

राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक क्रान्ति र समृद्धिको बाटोमा लाग्नुपर्छ भन्दै आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले संसदीय प्रणालीको विकल्प खोज्दैछन् । गणतन्त्रात्मक संविधान बनाउन राम्रो भूमिका खेलेका कमल थापा राष्ट्रपतिको विकल्पमा राजसंस्था चाहियो भन्दैछन् । संविधानको नेतृत्व गर्ने कांग्रेसकै नेताहरु धर्म निरपेक्षताको विरोध गर्दैछन् ।

नेता मात्र होइन, हिजो गणतन्त्रकै नारा लगाउने कतिपय जनता पनि आज फेरि ‘राजा चाहियो’ भन्दैछन् । जसले ०५८/०५९ सालमा राजा आऊ, देश बचाऊ भनेर नारा लगाए, अहिले तिनैले ‘योे भन्दा त पहिलेकै व्यवस्था ठीक थियो’ भन्न थालेको सुनिन्छ । यो नेपाली राजनीतिको दुखान्त हो ।

अमेरिका र भारतमा जस्तै नेपालमा पनि गणतन्त्रको विकल्प गणतन्त्रभित्रै खोजिनुपर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

Advertisment