Comments Add Comment

घरबेटीको चिर्कटोमा यसरी हुन्छ विजुलीको भाउ गोलमाल

३० भदौ, काठमाडौं । शिक्षक रमेशचन्द्र ढकाल टोखामा १३ हजार रुपैयाँमा दुई कोठा भाडामा लिएर बस्दै आएका छन् ।

हरेक महिना घरबेटीले एउटा कागजको चिर्कटो उनलाई थमाउँछन्, जसमा न्युनतम १६ हजार रुपैयाँको हिसाब हुन्छ । कोठाभाडाको अतिरिक्त विद्युत महसुल, इन्टरनेट शुल्क, फोहोर व्यवस्थापन शुल्क, पानी महसुल लगायत जोडिने भएकाले करिब तीन हजार रुपैयाँ अतिरिक्त दायित्व थपिने गरेको हो ।

तर, यीमध्ये विद्युत महसुलको हिसाबमा भने घरबेटीले गडबडी गर्दै आएका छन्, जसलाई ढकालले त्यति ध्यान दिँदैनन् ।

घरबेटीले दिने कागजको चिर्कटोमा विद्युत महसुल १५ रुपैयाँ प्रतियुनिटको दरले जोडिएको हुन्छ । जबकी प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १३ रुपैयाँ प्रतियुनिट मात्र छ । यसरी घरबेटीले महिनैपिच्छे बढि पैसा असुलिरहँदा पनि ढकालले कुनै आपत्ति जनाउन सक्दैनन् ।

विद्युत महसुल बढि लिइरहेको थाहा भएपनि चुप बस्नुको विकल्प नरहेको ढकालको भनाइ छ । ‘काठमाडौंमा भनेजस्तो कोठा भेट्टाउनै महाभारत पर्छ, त्यसमा बिजुलीको पैसा बढी लियो भनेर छाडेर हिँड्ने कुरा आउँदैन,’ उनी भन्छन्, ‘त्यसैले घरबेटीले जतिको हिसाब निकाल्छन्, त्यति खुरुखुरु दिइरहेको छु ।’

ढकाल मात्र होइन, काठमाडौंमा डेरा गरी बस्ने अधिकांसले यसरी नै विद्युत प्राधिकरणले तोकेको भन्दा बढि दरमा महसुल तिर्ने गरेका छन् ।

सामान्यतया घरबेटीले प्रत्येक फ्ल्याटमा सबमिटर राखेर त्यसमा उठेको अंकका आधारमा महसुल भाडाबालासँग महसुल लिन्छन् । तर, त्यसो गर्दा अधिकांसले १५ रुपैयाँ प्रतियुनिटले हिसाब गर्ने गरेका छन् ।
यही प्रवृत्तिलाई लिएर आइतबार विद्युत प्राधिकरणले घरबेटीहरुलाई डेरावालासँग बिजुलीको ब्यापार नगर्न चेतावनी दियो ।

घरेबेटीहरुले डेरावालसँग चर्को विद्युत महशुल उठाउने प्रवृत्ति काठमाडौंमा मात्र नभएर देशभर नै रहेको प्राधिकरणको भनाइ छ ।कतिपय घरेबटीले त उठेको युनिट र महसुलको हिसाब नै डेरावाललाई देखाउँदैनन् । त्यसैले घरबेटीले जति माग्यो उति दिनुपर्ने बाध्यतामा धेरै डेरावालहरु छन् ।

प्राधिकरणको चेतावनी

विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणलाई तिर्नेभन्दा बढी महशुल घरबेटीले उठाउनु गैरकानूनी हो ।

कतिपय घरबेटीले पसललाई दिने बिजुलीमा प्रतियुनिट ४० रुपैयाँसम्म असुलेको भेटिएको उनले जानकारी दिए । प्राधिरकणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने भन्छन्, ‘कानूनी हिसावले यो एक किसिमको ठगी नै हो, मानवीय हिसावले पनि आफूले तिरेको भन्दा बढी महशुल डेरामा बस्नेसँग उठाउनु हुँदैन ।’

उनले यस्ता विषयमा प्राधिरकणका वितरण केन्द्रमा थुप्रै गुनासोहरु आउने गरेको बताए । प्राधिकरणले आफ्ना ग्राहकलाई मात्रै चिन्ने भन्दै उनले डेरावाललाई घरबेटीले ठग्दा प्राधिकरणले सीधै कारवाही गर्न सक्ने अवस्था नरहेको बताए ।

‘प्राधिकरणको सोझै कारवाही गर्न मिल्ने अवस्था छैन, तर मुलुकमा विभिन्न ठगीविरुद्धका कानूनहरु छन्, त्यसमा यो आकषिर्त हुन्छ,’ उनले भने, ‘कसैलाई आफू ठगिएको लागे प्रहरी प्रशासनमा उजुरी दिन सक्छ । त्यहाँबाट हामीलाई सोधियो भने हामीले डेरावालकै पक्ष्मा बोल्ने हो ।’

कति तिर्ने शुल्क

निर्देशनालयले विजुली महशुलबारे पूर्ण जानकारी राख्न पनि आफ्ना उपभोक्तालाई आग्रह गर्दै आएको छ । हाल सेवा शुल्कसहित विद्युत महशुल निर्धारण गरिएको न्यौपानेले बताए । ‘गाह्रस्थ ग्राहकको हकमा विद्युत महशुल प्रतियुनिट ३ देखि १३ रुपैयाँ र सेवा शुल्क ३० देखि १७५ रुपैयाँसम्म छ,’ उनले भने, ‘यही आधारमा ग्राहकले आफूले तिनुपर्ने रकम कति हो भनेर हिसाव गर्दा हुन्छ ।’

कुल खपतका आधारमा विजुली महशुल तोकिने भएकाले डेरामा बस्नेले त्यो हेरेर आफूले कति महशुल तिर्नुपर्ने हो भन्न एकीन गर्न सक्ने न्यौपानेले बताए ।

हाल २० युनिटसम्मको खपतमा प्रतियुनिट ३ रुपैयाँ र थप ३० रुपैयाँ सेवा शुल्क तिनुपर्छ । २१ देखि ३० युनिटसम्म उठ्दा प्रतियुनिट ७ रुपैयाँ र ५० रुपैयाँ सेवा शुल्क छ ।

३१ देखि ५० युनिटलाई प्रतियुनिट साढे ८ रुपैयाँ र सेवा शुल्क ७५ रुपैयाँ तोकिएको छ । ५१ देखि ५० युनिटसम्मलाई प्रतियुनिट १० रुपैयाँ महशुल र १ सय रुपैयाँ सेवा शुल्क लिइन्छ ।

१५१ देखि २०० युनिटसम्म उठे प्रतियुनिट ११ रुपैयाँ र १२५ रुपैयाँ सेवा शुल्क तिनुपर्छ । २०१ देखि ४ सय युनिटसम्म उठ्दा १२ रुपैयाँ महशुल र १५० रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ । ४ सय देखि माथिलाई प्रतियुनिट १३ रुपैयाँ र १७५ रुपैयाँ सेवा शुल्क तोकिएको प्राधिरकणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment