+
+
Shares

जेनजी आन्दोलनमा एक तिहाई ‘फेक एकाउन्ट’ मान्छे उक्साउन प्रयोग

झन्डै ३४ प्रतिशत अनलाइन संवाद नक्कली एकाउन्ट र एआईमा आधारित प्रोफाइलबाट

प्रतिवेदनले युवाहरूले सामाजिक सञ्जालको शक्तिलाई आत्मसात् गर्दै आन्दोलनलाई सडकबाट डिजिटल मैदानमा सारेको तर यसबाट नक्कली प्रयोगकर्ताहरूको दुरूपयोगको जोखिम पनि बढेको निष्कर्ष निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते २०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलको साइबर कम्पनी सायाब्राले नेपालमा भदौ २३ र २४ गते भएको जेनजी विद्रोहमा ३४ प्रतिशत अनलाइन संवाद नक्कली एकाउन्टबाट फैलिएको निष्कर्ष निकालेको छ।
  • सायब्रा रिपोर्ट अनुसार, नक्कली एकाउन्टहरूले आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउन ह्यासट्याग प्रयोग गरी वास्तविक प्रयोगकर्तासँग मिसिएर अनलाइन संवाद नियन्त्रण गरेका थिए।
  • प्रतिवेदनले नक्कली प्रोफाइलहरूले कुल अन्तर्क्रियाको ११.५ प्रतिशत हिस्सा ओगटेको र ३२६ मिलियन मान्छेको स्क्रिनसम्म सामग्री पुर्‍याएको उल्लेख गरेको छ।

२० असोज, काठमाडौं । नेपालमा भदौ २३ र २४ गते भएको जेनजी विद्रोहमा झन्डै ३४ प्रतिशत अनलाइन संवाद नक्कली एकाउन्ट र एआईमा आधारित सामग्रीबाट फैलाइएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ ।

इजरायलको तेलअभिभमा रहेको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको अनुसन्धानमा नेपालमा हालै भएको जेनजी विद्रोहमा वास्तविक प्रयोगकर्तासँग मिसिएर जेनजी प्रोटेस्ट, वेकअप नेपालजस्ता ह्यासट्याग प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउने दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताहरूले भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ ।

एआई आधारित ‘सायब्रा’ गलत र भ्रामक सूचना पत्ता लगाउने र अनलाइन जोखिमहरू ट्र्याक गर्ने संस्था हो । जसको प्रयोग धेरै देशका सरकारी निकाय, ब्रान्ड र संस्थाहरूले गरिरहेका छन् ।

‘नेपालको २०२५ को विरोध प्रदर्शनका मुख्य निष्कर्षहरू’ शीर्षकको उक्त प्रतिवेदनमा नेपालको जेनजी विद्रोह आसपासको अनलाइन संवादको विश्लेषण गरिएको छ ।

रिपोर्टमा अनलाइन संवादमा युवाहरूलाई लोकतन्त्रको रक्षकको रूपमा प्रस्तुत गर्नुका साथै उनीहरूले आफ्नो डिजिटल ज्ञानले सामाजिक सञ्जाललाई परिचालन र पहिचान निर्माणमा काम गरेको उल्लेख छ ।

सेप्टेम्बर ६ देखि ९ सम्मका विशेषगरी एक्स, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूको अनलाइन संवाद विश्लेषण गरिएको सायब्रा रिपोर्टले सडकमा देखिएको आन्दोलनअघि र पछि सामाजिक सञ्जाल कसरी तातेको थियो भन्ने देखाएको छ ।

एक्समा तीनमध्ये एक नक्कली प्रयोगकर्ता

साइब्राको प्रतिवेदनअनुसार, आन्दोलनको अवधि (सेप्टेम्बर ६ देखि ९) मा सामाजिक सञ्जाल एक्समा विश्लेषण गरिएका कुल प्रोफाइलहरूमध्ये १,२८८ वटा अर्थात् ३४ प्रतिशत नक्कली वा शंकास्पद एकाउन्टहरू फेला परेका थिए।

हरेक तीनवटामा एउटा नक्कली रहेका प्रयोगकर्ताहरू न्यारेटिभ सेट गर्न सक्कली जस्तै सक्रिय रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी दमन र राजनीतिक संकटका खबरलाई उचाल्ने, सरकार र प्रहरी विरुद्धका कुरालाई अझ फैलाउने, प्रदर्शनको पक्षमा लेख्ने र मान्छेलाई सडकमा आउन उक्साउने जस्ता गतिविधि यी एकाउन्टबाट उल्लेख्य रूपमा भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार, यी नक्कली एकाउन्टहरू वास्तविक कुराकानीमा सजिलै घुलमिल भएका थिए, विरोधका ह्यासट्यागहरूलाई फैलाउन र सरकार विरोधी संकथनहरूलाई थप बल पुर्‍याउन भूमिका खेलेका थिए ।

आन्दोलन सेप्टेम्बर ८ मा भएपनि भर्चुअल संसारमा कसरी अगस्टबाटै तयारी भइरहेको थियो ? कसरी आन्दोलनमा सहभागी हुन आह्वान भइरहेका थिए भन्ने उल्लेख छ ।

उनीहरूले वास्तविक प्रयोगकर्ताले चलाएकै भाषा, शैली अनि ह्यासट्यागहरू- ह्यासट्याग सेप्टेम्बर एट, ह्यासट्याग वेक अप नेपाल, ह्यासट्याग नेपाल प्रोटेस्ट, ह्यासट्याग जेनजी प्रोटेस्ट, ह्यासट्याग इनफ इज इनफ लगायत प्रयोग गरेका थिए। फलतः ती सामग्रीहरू धेरै मान्छेमा पुगे।

प्रतिवेदनमा उनीहरूले वास्तविक प्रयोगकर्ता जस्तै पोस्ट रिट्विट गर्ने, कमेन्ट गर्ने, बहसमा भाग लिने गरेका थिए, ताकि छुट्टै नदेखियोस्।

सञ्जालमै देखियो संगठित प्रयास

प्रतिवेदनले यसलाई संगठित प्रयास (कोर्डिनेटेड एक्टिभिटी) भनेको छ । यी एकाउन्टहरू कुनै साझा उद्देश्य लिएर योजनाबद्ध रूपमा चलेका हुन सक्ने आशंका प्रतिवेदनले गरेको छ ।

‘यसले कसरी नक्कली खाताहरू वास्तविक आवाजहरूसँग मिसिन सक्छन्, विरोधका सन्देशहरूलाई ठूलो बनाउँछन्, र लक्षित सन्देशहरू मार्फत वास्तविक प्रयोगकर्ताहरूलाई रणनीतिक रूपमा प्रभाव पार्छन् भन्ने देखाउँछ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा ६६ प्रतिशत वास्तविक प्रयोगकर्ता रहँदा ३४ प्रतिशत नक्कलीले कसरी त्यस्तो ठूलो असर पार्न सक्छ भन्ने प्रश्नको उत्तर खोतल्ने प्रयास गरिएको छ ।

रिपोर्टले भन्छ- पहिलो कुरा त्यो पूरै बहसमा जति पनि लाइक, रिट्विट, कमेन्ट लगायतका अन्तर्क्रिया भए, त्यसको ११.५ प्रतिशत यी ३४ प्रतिशत नक्कली प्रोफाइलबाट भएको थियो।

११.५ प्रतिशत थोरै जस्तो लागे पनि कुल १४ लाख अन्तर्क्रिया मध्ये १ लाख ६४ हजार भन्दा बढी नक्कली खाताबाट भएको प्रतिवेदनमा उल्लेख छ ।

यी नक्कली प्रोफाइलले फैलाएको सामग्री ३२ करोड ६० लाख अर्थात् ३२६ मिलियन मान्छेको स्क्रिन (पोटेन्सियल रिच) सम्म पुगेको र त्यो कुल सम्भावित पहुँचको १४ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार, नक्कली एवं शंकास्पद प्रयोगकर्ताहरूले खाली हल्ला मात्र गरेनन्, बहसको दिशा नै मोड्न सक्ने क्षमता राखेका थिए।

यसले नक्कली एकाउन्टको सानो तर संगठित समूहले पनि रणनीतिक रूपमा आफूलाई महत्वपूर्ण बहसमा घुसाएर आफ्ना सन्देशलाई व्यापक बनाएर (एम्प्लिफाई) गर्न सक्ने देखाएको सूचना प्रविधिका जानकारहरू बताउँछन् ।

‘वास्तविक जस्तो देखिएर मान्छेलाई झुक्याएर कुनै विचारलाई बढी महत्वपूर्ण वा बढी समर्थन प्राप्त देखाउन सक्छन्’ एक जानकारले भने, ‘यसले सार्वजनिक बहस कत्तिको निष्पक्ष छ भन्नेमै प्रश्न उठाउँछ ।’

सामाजिक सञ्जालको बढ्दो प्रभाव तर कमजोर डिजिटल साक्षरता भएको र सूचनामा यही माध्यमलाई बढी भर पर्ने नेपालजस्तो देशमा यो कति खतरनाक होला ?

सामाजिक सञ्जाल अध्येता उज्ज्वल आचार्यका अनुसार संकटको बेलामा विभिन्न समूहहरू सक्रिय रहन्छन्। त्यस्ता समूहहरूले धेरैवटा आइडी बनाएर नेटवर्क चलायो भने त्यसले लोकतान्त्रिक डिस्कोर्सलाई गलत बाटोमा लैजान सक्छ।

‘कहिलेकाही व्‍यक्तिहरूले आफ्नो सुरक्षाका लागि अपरिचित आइडी बनाएर आफ्नो विचार प्रवाह गर्छन् भने त्यसलाई स्वभाविक मानिन्छ,’ उनले भने, ‘तर धेरै वटा आइडी बनाएर नेटवर्क चलाइन्छ भने त्यसलाई गलत मानिन्छ।’

यस्तो बेला जब नक्कली एकाउन्टले संगठित रूपमा गलत सूचना दुष्प्रचार फैलाउँछन्। त्यसले समाजमा भ्रम फैलाउने, ध्रुवीकरण बढाउने अनि कहिलेकाहिँ त वास्तविक संसारमै द्वन्द्व निम्त्याउने खतरा हुन्छ।

प्रतिवेदनले नेपालको जेनजी प्रदर्शन सडकमा जति देखियो, डिजिटल दुनियाँमा त्योभन्दा कम नरहेको देखाएको छ ।

प्रदर्शनको आसपास सामाजिक सञ्जाल खबर फैलाउने माध्यममा मात्रै सीमित नभएर विचार बनाउने, जनमत प्रभावित पार्ने र सूचनालाई तोडमोड गर्ने रणभूमि नै बनेको देखिएको छ ।

आन्दोलनमा सामेल हुन आह्वान गर्ने धेरै प्रचार सामग्रीहरूमा एआई-उत्पादित भिजुअलहरू प्रयोग गरिएको र ती सामग्रीहरूको पहुँच र आकर्षणलाई बढाएको उल्लेख छ ।

अनलाइन चर्चामा नक्कली प्रोफाइलहरूको महत्त्वपूर्ण उपस्थिति रहेको प्रतिवेदनमा उल्लेख छ । उनीहरूले आक्रामक विरोधका सन्देशलाई व्यापक बनाउन भूमिका खेले ।

एक्समा विश्लेषण गरिएका प्रोफाइलहरूमध्ये ३४ प्रतिशत नक्कली पाइएको प्रतिवेदनमा उल्लेख छ । नक्कली प्रोफाइलहरूले अनलाइन संवादमा कुल संलग्नता (इङ्गेजमेन्ट) को ११.५ प्रतिशत अर्थात् १४ लाख अन्तर्क्रियामध्ये १ लाख ६४ हजार हिस्सा ओगटेका थिए ।

उनीहरूको सामग्रीले कुल सम्भावित पहुँचको १४ प्रतिशत अर्थात् ३२६ मिलियनभन्दा बढी भ्यूज हासिल गरेको थियो ।

यो प्रतिवेदनले सामाजिक सञ्जाललाई परिचालनको लागि मात्र नभई भाष्यहरू निर्माण र विस्तार गर्ने एक किसिमको युद्धभूमिको रूपमा चित्रण गरेको छ ।

नक्कली प्रयोगकर्ताहरूले सरकार विरोधी भाष्यहरूलाई बलियो बनाउँदै आन्दोलनलाई थप सशक्त रूपमा प्रचार गरेको प्रतिवेदनमा उल्लेख छ ।

के थिए भर्चुअल संसारका प्रमुख तीन एजेन्डा ?

जेनजी विद्रोहसँग सम्बन्धित अनलाइन संवादहरूमा मुख्य रूपमा तीनवटा आख्यानहरू हावी रहेको प्रतिवेदनमा उल्लेख छ- युवा नेतृत्वका लागि लोकतान्त्रिक संघर्ष, राज्यको बर्बर दमन र राजनीतिक-नेतृत्व संकट ।

प्रतिवेदनका अनुसार, सामाजिक सञ्जालमा गरिएका पोस्टहरूमा युवा पुस्ताको साहसलाई नयाँ पुस्तासँग सम्पर्कविहीन शासक वर्गको दमनकारी चरित्रसँग तुलना गरेर नैतिक भिन्नता देखाउन खोजेका देखिन्थे ।

युवाहरू साहसी, सच्चा, सरकार चाहिँ पुरानो सोचको भन्ने जस्तो देखाएको छ । यसले युवाहरूलाई झन हौसला मिल्यो होला। यो न्यारेटिभले आन्दोलनलाई एउटा वैधतासँगै भावनात्मक शक्ति दियो । देशको भविष्य बचाउन लड्नुपर्छ भन्ने बनायो ।

प्रतिवेदनका अनुसार, भर्चुअल दुनियाँमा युवाहरूलाई लोकतन्त्रका रक्षक र राजनीतिक गतिरोध र भ्रष्टाचारलाई चुनौती दिने परिवर्तनको प्रमुख शक्तिको रूपमा चित्रण गरिएको थियो।

अनलाइन संवादमा युवा नेतृत्वको लोकतान्त्रिक संघर्ष र यसको मुख्य शक्ति र प्रतिरोधको अग्रभागमा युवा नै रहेको भाष्य स्थापित गर्न मेहनत गरेको रिपोर्टमा उल्लेख छ ।

दोस्रो- हिंसा अर्थात् प्रहरी दमन । यसलाई युवाले राज्य आतंक अर्थात् सुरक्षा बलले गरेको बल प्रयोगमाथि प्रश्न उठेको छ । सामाजिक सञ्जालमा प्रहरीले गोली चलाएको, अश्रु ग्यास हानेको, कुटेको भनेर प्रशस्तै तस्वीर/भिडियो सेयर भए।

नागरिकको आवाज सुन्नुको सट्टा दमन गर्ने राज्यको चरित्रमाथि दोस्रो दिनपछि युवाहरूले प्रयत्न केन्द्रित गरेको देखिन्छ । जसले नागरिक र सरकारबीचको दूरी थप बढ्यो । विश्वासको संकट देखायो । प्रदर्शनकारी पीडित, राज्य पीडक हुन् भन्ने भाष्य बन्यो। यसले सरकारी विरोधी भावना झन् बढ्यो ।

प्रतिवेदनका अनुसार, सुरक्षा बलहरूले भीडमा गोली चलाएको, अश्रुग्यास प्रयोग गरेको र प्रदर्शनकारीहरूसँग हिंस्रक रूपमा झडप गरेको विषयमा महत्त्वपूर्ण संवाद बढाएका थिए । उनीहरूले प्रदर्शनको दोस्रो दिन प्रशासनको क्रूरता र राज्यको दमनको विरोधजन्य सामग्रीलाई व्यवस्थित प्रचार गरेका थिए ।

तेस्रो एजेन्डा थियो- राजनीतिक र नेतृत्व संकट । प्रतिवेदनका अनुसार, यसमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य नेताहरूको राजीनामाको मागसहितको राजनीतिक अस्थिरता र नेतृत्व असफलतालाई जोड दिइएको थियो।

यो न्यारेटिभले के भन्यो भने यो प्रदर्शनको जड त नेपालको लामो राजनीतिक अस्थिरता र नेतृत्वको असफलता हो। बारम्बार सरकार फेरिने, संसद् विघटनका कुरा, भ्रष्टाचार यी सबैप्रति वितृष्णा देखियो । अनि नेताहरूको राजीनामा पनि माग्यो।

विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरूको आलोचना भयो। राजीनामा मागियो पोस्टहरूले सरकारलाई प्रभावहीन गैरजिम्मेवार नागरिकको माग नसुन्ने भनेर देखायो।

डिजिटल तयारी : कहिले कस्तो पोस्ट ?

आन्दोलनमा कसरी डिजिटल टुलहरू प्रयोग भएका थिए ? भिजुअल क्याम्पेनले कसरी मान्छेलाई भावनात्मक रूपमा जोड्ने र ध्यान खिच्ने काममा मद्दत गरिरहेको थियो ? प्रतिवेदनमा जवाफ खोजिएको छ ।

एआई तस्वीरले अलि आदर्श खालको संगठित आन्दोलनको चित्र देखाएर वास्तविक आन्दोलन अघि नै एउटा माहोल बनाएको थियो । यसरी आह्वान गर्नेमा कसरी इन्फ्लुएन्सरहरू पनि देखिए । जसका सामाजिक सञ्जालमा धेरै नै फलोअर्स छन् ।

उनीहरूले यसलाई सामान्य विरोध नभएर पुस्तान्तरणको लडाइँका रूपमा प्रस्तुत गरे । यसले नयाँ पुस्तालाई यो आन्दोलन आफ्नै हो र आफ्नै लागि हो भन्ने अपन्तव भाव जन्माएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार, प्रारम्भमा सेप्टेम्बर ६ र ७ मा सामाजिक सञ्जालमा सेप्टेम्बर ८ को प्रदर्शनमा सामेल हुन आह्वान गर्ने पोष्टहरूको बाढी आएको थियो। तर, सेप्टेम्बर ८ र ९ गते (भदौ २३ र २४ गते) प्रदर्शन हिंसात्मक बन्नुका साथै हताहतीको खबर आएपछि अनलाइन संवादको शैलीमा परिवर्तन आएको थियो ।

दोस्रो दिनको प्रदर्शन हिंसात्मक बन्दै जब देश दुःखद मोडतर्फ मोडियो, यसको प्रभाव अनलाइन संसारमा पनि झन् आक्रोशपूर्ण देखिएको रिपोर्टमा उल्लेख छ ।

आन्दोलन हिंसात्मक हुन थालेपछि अनलाइन संवादको दिशा पूरै मोडियो ।

आशापूर्ण आह्वानको ठाउँ अब आक्रोश, शोक अनि हिंसात्मक घटनाहरूको डकुमेन्टेसन जस्तो हुनथाल्यो । मान्छेहरूले झडपका तस्वीर, भिडियो र आफ्नै अनुभव सेयर गर्न थाले। सामाजिक सञ्जाल एउटा सामूहिक दु:ख पोख्ने ठाउँ जस्तो बन्यो।

भौतिक संसारको बदलावले भर्चुअल संसारमा पनि एकाएक माहौल बदलिएको प्रतिवेदनमा उल्लेख छ ।

धेरैले सुरक्षाकर्मीको बल प्रयोगको आलोचना गरे । कतिले प्रदर्शनकारीबाट भएको तोडफोडको कुरा पनि उठाए । समग्रमा यहाँको माहोल आक्रोशपूर्ण देखियो ।

आन्दोलनमा सामेल हुने आह्वानका सन्देशहरू सामूहिक आक्रोश, शोक र जवाफदेहीताको माग गर्ने पोस्टहरूमा बदलिएको थियो ।

प्रतिवेदनले युवाहरूले सामाजिक सञ्जालको शक्तिलाई आत्मसात् गर्दै आन्दोलनलाई सडकबाट डिजिटल मैदानमा सारेको तर यसबाट नक्कली प्रयोगकर्ताहरूको दुरूपयोगको जोखिम पनि बढेको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनले डिजिटल तयारीको क्रममा कसरी एआईले बनाएको तस्वीरहरूको प्रयोग गरियो भनेर चाखलाग्दा विवरणहरू संकलन गरेको छ । ती सामग्रीहरूले नयाँ पुस्तामा खुबै इङ्गेजमेन्ट बढाएको उल्लेख छ ।

‘यी विवरणहरूले राज्यले नागरिक असहमतिको जवाफ असन्तुलित बल प्रयोगद्वारा दिएको छ भन्ने धारणा बलियो बनाउँछन्, जसले सरकारले लोकतान्त्रिक मूल्य र जनभावनासँग असम्बद्ध भएको छ भन्ने चित्र कोर्छ’ प्रतिवेदनमा भनिएको छ, ‘यो कथ्य प्रत्यक्षदर्शीका बयान, समाचार प्रतिवेदन, र संसद वरिपरिका भिडन्तका भाइरल दृश्यहरूको संयोजनले चलाएको छ।’

‘तत्कालको प्रतिक्रिया होइन, वर्षौंदेखिको असन्तुष्टि’

प्रतिवेदनमा ‘यो तत्कालको प्रतिक्रिया मात्र हैन वर्षौं देखिको असन्तुष्टि हो भन्ने देखाउन खोजियो’ भन्ने उल्लेख छ ।

समस्या नीतिमा मात्र होइन, प्रणाली र नेतृत्वमै छ भन्ने संकथनले पनि आन्दोलनलाई अझ गहिरो बनाउने प्रयास गर्‍यो ।

प्रतिवेदनका अनुसार, जुन मुद्दा उठाए पनि त्यसलाई राजनीतिक र नेतृत्वको असफलतासँग जोडिन्थ्यो नै ।

यसरी मिलेर एउटा शक्तिशाली बहुआयामिक असन्तुष्टिको डिजिटल वातावरण बन्यो। रिपोर्टले त यसलाई ‘डिजिटल इकोसिस्टम अफ डिसेन्ट’ नै भनेको छ।

प्रतिवेदनले देश भौतिक रूपमा युद्धभूमिमा बदलिइरहँदा कसरी डिजिटल स्पेश युद्धभूमि बनेको थियो भन्ने उल्लेख छ ।

युवाहरूको सन्देशमा ‘अक्षम र अनुत्तरदायी सरकार जो आफ्ना नागरिकको माग सम्बोधन गर्न असमर्थ छ’ भन्ने भाष्यलाई बलियो गरी प्रस्तुत गर्न खोजिएको प्रतिवेदनमा उल्लेख छ ।

असन्तुष्टिको डिजिटल इकोसिस्टम अर्थात् एउटा गुनासोले अर्कोलाई मलजल गर्ने एउटा तर्कले अर्कोलाई बल दिने अनि सबै मिलेर सरकार विरोधी भावना चर्काउने एउटा संगठित विचार जस्तो देखिन्थ्यो । जहाँ जताबाट हेरे पनि निष्कर्ष एउटै थियो- ‘यो ठिक छैन, परिवर्तन चाहियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?