
News Summary
Generated by OK AI. Editorially reviewed.- साहित्यकार भूपिनले कविता, निबन्ध र उपन्यासमा कलम चलाउँदै सात कृति प्रकाशित गरिसकेका छन्।
- भूपिनले जेनजी आन्दोलनको पहिलो दिनका निर्मम घटनाले उनलाई धेरै दिक्क बनाएको बताउनुभयो।
- उहाँले नेपाली राजनीतिमा नेतृत्वमा अध्ययनको कमी र हिंसाप्रतिको प्रेम मुख्य समस्याका रूपमा देख्नुभएको छ।
साहित्यकार भूपिनका ७ वटाकृति प्रकाशित छन् । तीमध्येमा सुप्लाको हवाईजहाज, मैदारो केही हुन् । चितवनमा बसेर साहित्यकर्ममा होमिएका उनी शिक्षक पनि हुन् । उनले साहित्यमा कविता, निबन्ध, उपन्यासमा कलम चलाएका छन् । आज उनैसँग अनलाइनखबरले दिलैखोलेर कुराकानी गरेको छ:
हिजोआज
१. पछिल्लो समय के कुराले वा कुन समाचारले खुशी हुनु भयो ?
ह्वाट्सएपमा बुकहिल प्रमूख भूपेन्द्र खड्काले पठाएको मेरो दोस्रो निबन्धकृति ‘मध्यको उज्यालो’को भिडियोले निकै खुशी बनायो । गाउँको फार्म हाउसमा किताब स्पर्श गर्नुको आनन्द वर्णनातित थियो ।
२. दिक्क बनाएको कुरा?
जेनजी आन्दोलनको पहिलो दिन कलिला बाबु नानीहरूको निर्मम हत्या र दोस्रो दिनको अग्नि दहनका दृश्यले जति दिक्क त के ले बनाउन सक्लान् र?
३. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
केवल एक दिने जेनजी आन्दोलनले देशमा कसरी उथलपुथल ल्यायो? जेनजी आँधीले कसरी दुई बलिया पार्टीको सत्ता र सत्ताको कामना गरिरहेको प्रतिपक्षको सपना बगाइदियो? मेरा लागि मात्रै नभएर धेरै नेपालीका लागि यो रोचक विषय होला भन्ने लाग्छ । कहिल्यै कतै नसुनेको सुदन गुरुङ रोचक व्यक्ति लागिरहेछ ।
४. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
नेपाली समाज बढी ‘इमोस्नल’ छ । दिमागले भन्दा दिलले बढी चल्छ । माया, प्रेम, करुणा, सहानुभूति जस्ता प्रिय संवेगहरूमा यो अरू वैश्विक समाजजस्तो महान् महसुस हुन्छ । सीमा पनि यहीँ छ । वस्तुगत र समालोचनात्मक चेतनाको पर्याप्त अभ्यासको अभावमा हाम्रो समाज तुरुन्त पल्टनबाजी गरिदिन सक्छ । छोटो समय अन्तरमै यहाँ हिरो भिलेन बन्न सक्छ । भिलेन हिरो बन्न सक्छ ।
५. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
कोभिड समयपछि प्रिन्टेड पत्रिका लगभग पढेको छैन । अनलाइन पत्रिकामा रुचीका समाचार र विश्लेषण भने नियमित पढ्छु । युट्युबमा समाचारहरू नियमित सुन्छु । अघिल्लो वर्ष गोवा भ्रमणका क्रममा रेलमा भेटिएको हिन्दी पत्रिका पढ्दा गहिरो स्मृतिदंस अनुभव भएथ्यो । नियमित जसो प्रिन्टेड पत्रिका पढ्ने बानी यति छिट्टै अनलाइन प्रकाशनमा आकर्षित होला भनेर कल्पना गरेको थिइन ।
६. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
अन्तरमुखी र एकलकाटे स्वभावका कारण केही सम्बन्धमा आफूले यथेष्ट सचेतता अपनाउन नसकेको महसुस गर्छु । पूर्ण जागृत भएर सम्बन्ध निभाउन नसकेको बोध हुन्छ । सम्बन्धको मुहानमै पुगेर त्यसमा सुधार गर्न मिल्ने भए कति जाती हुन्थ्यो भन्ने कहिलेकाहीँ लाग्छ । तर जीवनको गाडीको ब्याक गियर हुन्न । जे भयो, त्यसमा पश्चाताप गरेर अडिनु भन्दा वर्तमानमा सकेसम्म खुशी बन्नु नै उत्तम हो जस्तो लाग्छ ।
बाल्यकाल र किशोरावस्था
१. सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
अत्यधिक खेलप्रेमी थिएँ । बाल्यकालमा स्वभाविक सबै खेलको जननी मानिने एथलेटिक्स नै बढी खेलेँ । दौडिने, उफ्रिने र फ्याक्ने । किशोरकालदेखि भलिबल मेरो प्रिय खेल बन्यो । क्याम्पस तहमा पृथ्वीनारायण बहुमुखी क्याम्पसबाट क्याम्पस स्तरिय राष्ट्रिय भलिबल प्रतियोगिता खेलेँ । फुटबल, बास्केटबल, टिटी, क्रिकेट पनि खेलेँ ।
२. साथीहरूले तपाईंको निकनेमहरू केके राखिदिएका थिए ?
एउटा निकनेम धेरैले भन्थे, बकुल्ली । प्रेम र गाली स्वरुप घर हुँदै स्कुलसम्म पुगेको निकनेम त्यही थियो ।
३. तपाईंको कोहीसँग झगडा परेको थियो ?
झगडा त धेरै समवयीसँग भएको याद छ । गोठालो जाँदा, खेतमा पानी लगाउँन जाँदा, स्कुलमा छिर्लिङ वा गुच्चा खेल्दा, कबड्डी वा घुँडे खेल्दा धेरै भए झगडाहरू ।
४. तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
किशोरकालमा नायिका जुही चावला र माधुरी दिक्षित एवम् टेनिस स्टार अन्ना कोर्निकोभा । अनि उपन्यास ‘युवाहरूको गीत’की पात्र ताओ चिङ ।
सिनेमा
१. पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
अद्भूत सम्झना छ । गाउँबाट तीन चार घण्टा कुद्दै पूजा चलचित्र मन्दिर बाग्लुङ्मा ‘सन्तान’ हेरेपछि मन पर्ने केटी साथीलाई भलिबल खेल्दा लगभग एक हप्ता फिल्मबारे गफ लगाएको याद छ ।
२. कस्ता फिल्म हेर्न मन पर्छ ?
साथीभाइलाई एक्सन फिल्म मन पर्ने तर मलाई किशोरकालसम्म प्रेमकथा बाहेकका अरू फिल्म नै होइनन् जस्तो लाग्थ्यो । अचेल सबै प्रकारका फिल्महरू मन पर्छन् । विशेषतः गहिरो सन्देश दिने फिल्महरु हेर्छु ।
३. साह्रै मन परेका फिल्म ?
यसबारे निबन्धकृति ‘मध्यको उज्यालो’मा एक फिल्म समीक्षा नै लेखेको छु । विशेषतः द शसङ्क रिडेम्सन (१९९४), स्प्रिङ्ग, समर, फल, विन्टर… एन्ड स्प्रिङ्ग (२००३), स्किन्ड्लर्स लिस्ट (१९९३), कास्ट वे (२०००), द पियानिस्ट (२००२), द किड (२०१९), हाची: अ डग्स टेल (२००९), माझी (२०१५), मदर इन्डिया (१९५७), ग्राभिटी (२०१३), थेओरी अफ एभ्रिथिङ (२०१४) आदि ।
४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
धेरै छन् । हिन्दी फर्मुलाका कपी नेपाली फिल्महरूले दिक्कै पारेका छन् । एक उदाहरण हो, प्रसिद्ध चित्रकार एमएफ हुसेनले बनाएको फिल्म गजगामिनी । उनको कलाजस्तै सुन्दर होला भन्ने थियो फिल्म । निरास बनायो । एउटा क्षेत्रमा सफल हुँदैमा व्यक्ति अर्को क्षेत्रमा सफल नहुन सक्छ भन्ने गतिलो उदाहरण लाग्यो गजगामिनी ।
५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
केही साथीभाइहरूको सिफारिसमा, केही समीक्षाको आधारमा र केही र्यान्डम सेलेक्सनबाट ।
६. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?
नेपाली समाज तथा यसका सामाजिक, सांस्कृतिक र आर्थिक जटिलताहरू समावेश भएका फिल्महरू बनुन् भन्ने लाग्छ ।
पुस्तक
१. पुस्तकहरू कतिको पढ्नुहुन्छ? पढ्का कस्तो खालका पढ्नुहुन्छ ?
पढ्नु जीवनको तैयारी होइन, स्वयम् जीवन हो । मानिसले हरेक पल केही न केही पढिरहेकै हुन्छ । पुस्तक मेरो जीवनको अनिवार्य अङ्ग बनिसक्यो । केही न केही नपढी बस्नु अससम्भव लाग्छ । मनोविज्ञान प्रिय विषय भएकाले पात्र र समाजको मनोविज्ञान उधिन्ने आख्यान गैर आख्यान पढ्नु रुचिकर लाग्छ । कविता पढ्नुको आनन्द गहिरो लाग्छ । दर्शनका किताबहरू पनि मेरा रोजाइमा पर्छन् ।
२. मन परेका कुनै पुस्तक ?
धेरै छन् । केही रोज्नुपर्दा हर्मन हेस्सेको सिद्धार्थ, मार्खेजको वान हण्ड्रेड एयर्स अफ् सोलिच्युड, पर्ल एस बकको द गुड अर्थ, दोस्तोवस्कीको क्राइम एण्ड पनिस्मेन्ट, पाब्लो नेरुदा भूपी शेरचन बैरागी काइलाका कविता, पारिजातका आख्यान र सस्मरण आदि । मानव विकाश थाहा पाउन युवान नोह हरारी र नेपाली समाज बुझ्न दौलतबिक्रम विस्ट, जनकलाल शर्मा ।
३. तपाईंका प्रिय लेखकहरु ?
विदेशी मार्खेज, दोस्तोवस्की, नेरुदा, टोल्सटोय आदि । स्वदेशी भूपी, पारिजात, सङकर लामिछाने आदि ।
४. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
नयाँ मानिससँग तुरुन्त झ्याम्मिहाल्ने स्वभाव छैन मेरो । दूरीमा रहेर बुझ्न र सुन्न मन पराउने मानिस हुँ । तर पनि केही लेखकहरूसँग कफी वा मदिरा पिएर उनीहरूको छलफल सुन्न पाएजस्तो चाहिँ लाग्छ ।
दोस्तोवस्की, मार्खेज, म्याक्सिम गोर्की, भूपी, पारिजात, देवकोटा, सङ्कर लामिछानेहरू कल्पनामा आउँछन् । दोस्तोवस्कीको पात्र रास्कोलनिकोभ र याङ मो कि पात्रा ताओ चिङसँग भेटेर उनीहरूको मनोविज्ञानलाई नियाल्न पाएको भए कति गजब हुन्थ्यो भन्ने लाग्छ । गोर्कीकी आमा र पारिजातकी सकम्बरीसँग पनि समय बिताउँन गजबै हुँदो हो जस्तो लाग्छ ।
केही लेखकहरूसँग कफी गफ गर्न पाए वा पिएर उनीहरूको छलफल सुन्न पाएजस्तो चाहिँ लाग्छ । दोस्तोवस्कीको पात्र रास्कोलनिकोभको मनोविज्ञान उथलपुथलकारी लाग्छ ।
५. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
पुस्तक त हरेक विषयमा लेखिनु सुन्दर कुरा हो । समाजको नविन आयाम उजागर गर्ने निष्पक्ष र निर्भिक पुस्तकको खाँचो भने अलिक महसुस गर्छु । डोरबहादुर विष्ट र जनकलाल शर्माहरूको अभाव खड्केको हो कि जस्तो लाग्छ ।
घुमफिर र सोख
१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
पुस्तक जत्तिकै प्रिय छ घुमफिर मेरा लागि । घुमफिर महान् विश्वविद्यालय हो । राहुल सांकृतायनले त्यसै कहाँ लेखेका हुन् र घुमक्कड शास्त्र !
२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
अन्नपूर्ण बेसक्याम्प मेरो प्रिय ठाउँ हो । दुवै ऋतुमा चार पटक पुगेर पनि धित मरेको छैन । जान मन लागेका ठाउँहरू त धेरै छन् । विशेषतः सगरमाथा आधार शिविर र रारा पुगिहाल्ने रहर छ ।
३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?
अन्नपूर्ण आधार शिविर । २०५३ सालमा संरक्षण कविता यात्राको क्रममा पहिलोपटक त्यहाँ पुग्नुको आनन्द वर्णनातित छ ।
४. गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
पहिला निकै सुन्थेँ, अचेल अलिक कमी आएको छ । गीत संगीत मन नपरेर होइन, सुन्न नसकेर । सुन्दा सुन्दै कतिबेला म रोइसकेको हुन्छ, पत्तै पाउन्न । अचेल गीत सुन्न ठूलो साहस चाहिन्छ । गीत संगीतले हृदयलाई निको पारिरहेको बोध गर्छु ।
मन पर्ने गायक गायिका धेरै छन् । विभिन्न विधामा गाउने विभिन्नथरि छन् । एकजनाको नाम लिनु असम्भवप्रायः छ । विदेशीमा जोन लेनन, बब डिलन, जगजीत सिँह, गुलाम रुचीले बढी सुनियो ।
नेपालीमा नारायण गोपाल, दीप श्रेष्ठ, अरुण थापा हुँदै नविन के भट्टराई र सुरेश कुमार बढी सुनेँ कि ?
५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनु भएको छ ?
गजल, शुफी वा कबाली अलिक बढी सुन्छुजस्तो लाग्छ । माथि उल्लेखित गायहरू नै हो दोहोरियाएर सुन्ने । मेरो बैंसालु समयमा स्थापित भएका पप ब्याण्डहरू कन्दरा, लेकाली, नेपथ्य आदि पनि सुनिरहँदो रहेछु । ती गीतहरूले त्यही समयमा फर्काइदिएको बोध गर्छु ।
६. के कुराको विशेष सोख छ ?
कोभिड समयमा बुश क्राफ्ट प्रति मेरो गहिरो लगाव बढेर गयो । फुर्सदको समयमा टेन्ट, औजार र खानेकुरा बोकेर नदी, जङ्गल वा पहाडतिर जाने रहर जाग्छ । यात्रा गर्दा भेटिएका लडेका रुख वा सम्मो पाटनहरूले टेन्ट र आगो बालेर साथीहरूसँग वा एक्लै रात बिताएका कल्पना गर्न विवस पारिदिन्छन् ।
७. खानाको कत्तिको सोखिन हुनुहुन्छ? मन पर्ने परिकार ?
नढाँटी भन्दा खाने उमेरमा माग र आपुर्तीबीच ठूलो खाडल देखापर्यो । मन फुकाएर इच्छाएको खाना खान त्यती पाइएन । सम्झौता गरियो । अहिले बुशक्राफ्ट गर्न थालेपछि मिनिमलिजमको महत्व बुझ्न थालेको छु र यही नै स्वस्थ पृथ्वीको पक्षमा छ भन्ने कुरामा विश्वस्त हुन थालेको छु । अहिले उपभोक्तावादी सोच र रुचीमा क्रमसः गिरावट आउँदै गएको बोध गर्छु ।
८. किनमेल गर्न कति रुचाउनुहुन्छ ?
कमै जान्छु किनमेल गर्न पनि । मसँग जगेडा कुराहरू खासै छैनन् जस्तो लाग्छ । कतिपय पहिल्यै किनेका वा उपहार पाएका पुराना कपडाहरूले काम चलिहाल्छ जस्तो लाग्छ । अत्यावश्यक वस्तु बाहेक किनमेलमा खासै रुची छैन ।
९. केकस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
आम मानिसजस्तो दैनिक उपभोग्य खाद्यन्न र लत्ताकपडाकै लागि हो बजार जाने ।
१०. आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
प्रायः आफैले किन्छु । अरूले किनिदिएका पनि छन् । बुढेसकालका लागि ती महत्वपूर्ण होलान् भन्ने लाग्छ ।
११. अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
सन् २०१२ को पहिलो दिन अमेरिकाको फ्लोरिडा तटमा खाएको ४० डलरको खाना सबैभन्दा महङ्गो खाना हो सायद । र त्यही नै ठूलो खर्च होला कि?
राजनीति
१. नेपालको राजनीति कस्तो लाग्छ ?
नेपाली राजनीति अझै पनि पछौटे अवस्थामै देख्छु । नेताहरूमा राजनीतिक त्याग र संस्कार विकशित भएको पाउन्न । लोभ र तृष्णाले ग्रसित छ नेतृत्व । दुर्मुखा नेताहरूको बयानबाजी सुनेर बिहान सुरु गर्न र साँझ बिताउन अभिशप्त छौँ हामीहरू । यसमाथि दशकपिच्छे हुने राजनीतिक आन्दोलनले देशलाई अत्यन्त अस्थिर बनाइरहेछ ।
२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
समाजको अनुहार देखिने हो नेतृत्वमा । सायद हाम्रो समाज तरङ्गीत भइरहने खालको छ । समालोचनात्मक चेतना भन्दा भावनात्मक चेतना भारी लाग्छ । राजनीतिक नेतृत्वमा समस्या छ । उनीहरूमा पदको अनवरत लोभ छ । व्यवस्थाको यत्रो परिवर्तनपछि पनि पुस्ता हस्तान्तरणप्रति उनीहरूको सायद जन्मजात दुस्मनी छ ।
३. नेताहरुको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
अधिकांसमा अध्ययनको कमी छ । हिंसाप्रति अनौठो प्रेम देखिन्छ । प्रतिशोधी भावना बलियो छ । दूरदृष्टि र गम्भीरता गायब छ । छिपछिपे ज्ञानले यत्रो विविधता भएको देश निर्माण गर्न असम्भव हुन्छ ।
४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
सिर्जनात्मक र वैचारिक क्षमताका कारण बिपि कोइराला मन पर्छन् । सादगीपनि र जनहितमा उभिएका मनमोहन अधिकारी पनि प्रिय लाग्छन् । अध्ययनको कारण बाबुराम भट्टराई र बाणीको मिठासका कारण प्रदीप ज्ञवाली मन पर्छन् ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
यो त मन भड्काउने वाला प्रश्न भयो । वास्तवमै यसबारे मैले कहिल्यै सोचेजस्तो लाग्दैन । जेनजी आन्दोलनपछि कतै कहीँ कसैले मलाई प्रधानमन्त्री वा अन्य कुनै मन्त्रीको लायक नदेखेकाले यस प्रश्नको उत्तर दिन म असमर्थ छु ।
सामाजिक सञ्जाल र डिजिटल डिभाइस
१. कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
आइफोन एघार । भतिज गौरबले अमेरिकाबाट उपहार पठाइदिएको मोबाइल ।
२. दिनको कति घन्टा मोबाइल र संजालमा बिताउनुहुन्छ? बढी चलाउने कुन ?
फेसबुक र युट्युब नै मेरो प्रिय सामाजिक मिडिया प्लेटफर्म हुन् । फेसबुकमा प्राकृतिक दृश्यहरूको रिल बनाएर भिडियो अपलोड गर्न मन पर्छ अचेल । गीत पनि रोज्जा राख्न सकिने सुविधा विशेष लाग्छ । कहिलेकाहीँ विविध विषय र मुद्दामा धारणाहरू पनि राख्छु ।
युट्युब त मेरो प्रिय साथी हो । त्यहीँ मलाई मन पर्ने मेसीका भिडियो हेर्छु, ओशो, जे कृष्णमुर्ती, आचार्य प्रसान्त, विकाश दिव्यकृति, एचएस सिन्हाका विचार सुन्छु । बुशक्राफ्टका भिडियो हेर्छु । गीत सुन्छु । फिल्म हेर्छु । कहिलेकाहीँ अडियो बुकहरू पनि सुन्छु । किताब पढिरहेको बेला भने कम चलाउँछु । किताब सकेपछिको ब्रेकमा स्क्रिनमा लामै बसाइ हुन सक्छ ।
३. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
बिहान उठ्नासाथ इन्साइड नेपाल सुन्दै क्याम्पस जाने तैयारी गर्छु । ला लिगा, इपिएलमा मेरो रुची छ । राती भएका म्याचहरूको अपडेट लिन्छु ।
४. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
सूचनाको बाढी छ त्यहाँ । प्रयोग गर्न जाने जीवनमा बिजुली निस्कन्छ, सिंचाई हुन्छ । प्रयोग गर्न नजाने बाढीले बगाउँछ ।
५. फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ ?
पहिला पहिला पार्थ्यो । अचेल खासै फरक पारेजस्तो महसुस गर्दिन । नोटिफिकेशन अफ गर्छु ।
६. एआई टुलहरू कतिको चलाइरहनु भएको छ? बढी कुन चलाउनुहुन्छ ?
एआई टुल डाउनलोड नगर्ने जिद्दीमा थिएँ । मेरो जिद्दीमाथि विकाश दिव्यकृतिले धावा बोलिदिए । संज्ञानको लम्बेतान बाटो छोटाइदिने एआई टुलको महत्वबारे उनको प्रवचनबाट म प्रभावित भएँ । च्याटजिपिटी डाउनलोड गरेँ । डिपसिक पनि प्रयोग गरेँ । अचेल च्याटजिपिटी नै बढी प्रयोग गर्छु ।
७. सामाजिक संजालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचनाबढी फैलाउने काम गरेको छ ?
व्यक्तिको रुचीमा भर पर्छ । म चाहीँ गम्भीर खोज अनुसन्धानबाट आएका कुराहरू नै पछ्याउँछु । त्यसमै अभिव्यक्ति स्वतन्त्रता, ज्ञान र सूचनाको विश्वसनियता खोज्छु ।
८. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
पत्रपत्रिका नकिनी र नपढी अनि टिभी नहेरी दिन गुज्रिन्छ जस्तो सोचिएन कुनै समय । तर मैले पत्रपत्रिका नकिनेको धेरै भैसकेछ । टिभि नहेरेको डेढ दशक बितिसकेछ । किताबलाई भने विस्थापित गर्न सकेको लाग्दैन ।
रोचक तथ्य
१. पुन:जन्म हुने भए अब के बन्न मन छ ?
पुनर्जन्ममा विश्वास छैन । विश्वास नभएपछि बन्न मन लागेको कुराको कल्पना पनि हराउँदो रहेछ । विज्ञान र मनोविज्ञानको कोणबाट हेर्दा मेरो अलिकति पुनर्जन्म छोरा अस्तित्वमा भएको छ । अनि म मरेपछि रुख विरुवामा हुनेछ ।
२. तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
सिर्जनामा त्यसलाई पोतेर शक्ति बनाउने कोसिस गर्छु । लेखन मेरा लागि असली मनोचिकित्सक हो । सोच्छु, यो दुख र तनावको समय पनि क्षणभंगुर छ र केही समयपछि अवस्य गुज्रिएर जानेछ ।
३. तपाईलाई के को सुगन्ध सबैभन्दा मन पर्छ ?
दुधे बच्चाको शरीरबाट निस्किएको सुगन्ध र पहिलो वर्षातको कारण निस्किएको माटोको वासनाको म प्रेमी हुँ ।
४. अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?
संसारका हरेक महान् भनिएका कुरामा पनि कुनै न कुनै अपूर्णता हुन्छ ।
५. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
मानवकेन्द्री सोच र उपभोक्तावादी सस्कृतिका कारण पृथ्वी दिनदिनै रोगी बनिरहेछ । स्वस्थ पृथ्वी पछिल्लो पुस्ताको हातमा हस्तान्तरण गरिदिनु जस्तो महान् उपहार केही छ जस्तो लाग्दैन ।
प्रतिक्रिया 4