Comments Add Comment

जहाजभित्र हुलहुज्जत कानूनद्वारा बर्जित कार्य

नेपालगञ्ज घटनामा पाइलट र सुरक्षाकर्मीले लिएनन् एक्सन

२९ भदौ, काठमाडौं । भदौ पहिलो साता गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई सिल्क एयरले उड्न लागेको जहाजबाट बाहिर निकाल्यो । सिंगापुर उड्ने क्रममा रहेका भट्टले जहाज चढ्नु अगाडि देखाएको व्यवहारले यात्रु र वायुयानको सुरक्षामा जोखिम हुने निष्कर्ष निकाल्दै उनीहरुलाई बसिसकेको सिटबाट पाइलटले बाहिर पठाएका थिए ।

शनिबार नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उड्ने तयारीमा रहेको जहाजमा चढेका केही यात्रु जबरजस्ती तल ओर्लिए । मन्त्रीका कारण जहाज उड्न ढिलाइ भएको भन्दै उनीहरुले जहाज रोकिएकै क्षेत्रमा नारावाजी गरे ।

पर्यटन मन्त्री योगेश भट्टराई आएपछि उनीहरुले जहाजभित्रै हुलहुज्जत गरे र त्यसको भिडियो पनि खिचे । तर, उनीहरुमाथि न सुरक्षाकर्मीले, न पाइलटले कुनै एक्सन लिए । विमानभित्रै हुलहुज्जत हुँदा पनि बुद्ध एयरले मौनता साँध्यो ।

हवाई विज्ञहरु यस्तो व्यवहारलाई सामान्य मान्दैनन् । नाम उल्लेख नगर्ने शर्तमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पूर्व महानिर्देशकले भने, ‘म भएको भए यस्ता उदण्ड यात्रुलाई जहाजमा यात्रा गराउने थिइनँ । जहाज ग्राउण्डमै हुँदा झगडा गर्ने व्यक्तिले आकाशमा पुगेपछि गर्दैनन् भन्ने के ग्यारेन्टी ?’

यस घटनामा मन्त्री भट्टराईले संयम अपनाउँदा घटना साम्य भएको देखिए पनि त्यो जोखिम भने पाइलटले उठाउन नहुने उनको भनाइ छ ।

‘जहाज उडिसकेपछि त्यो निकै संवेदनशील हुन्छ,’ उनले भने, ‘सानो असावधानीले पनि विमानमा धेरै ठूलो जोखिम निम्तिन सक्छ ।’

मन्त्री भट्टराई सवार जहाज एटीआर–७२ थियो । यो जमिनबाट निकै माथि उड्छ । ट्वीनटरलगायत साना जहाजहरुमा त सीटमा बसिसकेपछि यात्रु उठेर दायाँबायाँ गर्न समेत पाइँदैन । जमिनबाट धेरै माथि नउड्ने यस्ता जहाज गुरुत्वाकर्षणका कारण असन्तुलित हुन सक्छन् । सोही कारण साना जहाजमा ट्वाइलेटसम्म राखिएको हुँदैन ।

यो पनि पढ्नुहोस नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज

पाइलटको विशेषाधिकार

पाइलटलाई कुनै पनि यात्रुको व्यवहार असामान्य लागेमा जहाजबाट निकाल्न सक्ने अधिकार अन्तर्राष्ट्रिय कानूनहरुले दिएका छन् ।

नेपाल नागरिक उड्डयन संगठनका कानूनहरु पालना गर्ने मुलुक हो । नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ अनुसार वायुयानभित्र शान्ति तथा व्यवस्था कायम राख्ने जिम्मेवारी वायुयानका मुख्य चालकको हुन्छ । यस क्रममा उनले सहचालक, वायुयानका अन्य कर्मचारी तथा यात्रुको समेत सहयोग लिन सक्छन् ।

जहाजमा चढिसकेपछि असामान्य व्यवहार देखाउने यात्रुलाई निकाल्नु हवाई सुरक्षाभित्रको एक महत्वपूर्ण पक्ष हो । उल्टो, उनीहरुलाई निकालिएन र जोखिम लिएरै उडाइयो भने भोलि सेफ्टी अडिटका बेला नियामक निकायले त्यसको जवाफ दिनुपर्छ ।

कुनै पनि यात्रुले हवाई यात्रा गर्न पाउने या नपाउने उसको आचरणमा भर पर्ने कानूनहरुमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयनसम्बन्धी विभिन्न कानूनले जहाजभित्र पाइलटलाई विशेषाधिकार दिएका हुन्छन् । बोलिचालीको भाषामा यसलाई ‘पाइलट–इन–कमाण्ड’ भनिन्छ ।

जसरी संसद भवनभित्र सभामुखको आदेश सर्वेसर्वा हुन्छ, त्यस्तै अधिकार जहाजभित्र पाइलटलाई हुन्छ । त्यसकारण विमानस्थलमा अरु प्रक्रिया पूरा गर्दै जहाजभित्र छिरेपछि पाइलटले उडान सुरक्षामा ‘थ्रेट’ महसुस गरे भने कुनै पनि यात्रुलाई जुनसुकै बेला बाहिर उतार्न सक्छन् ।

यो पनि पढ्नुहोस मन्त्री भट्टराईको ढिलाइ एक घन्टा कि १५ मिनेट ?

यात्रुले उत्रन नमाने प्रहरी लगाएर भए पनि जहाजबाट बाहिर निकालिन्छ । उडान सुरक्षाभित्र हवाइजहाज, हवाइ यात्रु र चालक दलका सदस्यहरुमाथि हुने कुनै पनि प्रकारको जोखिमबाट बचाउनु पाइलटको दायित्व हुन्छ । त्यसकारण एक÷दुई जना यात्रुका कारण धेरै यात्रुको यात्रा जोखिममा नपरोस् भनी पाइलटले ‘पाइलट–इन–कमाण्ड’को अधिकार प्रयोग गर्न सक्छन् ।

पाइलटले हरेक यात्रुलाई व्यक्तिगत रुपमा चिन्दैनन् । त्यसकारण उसले यात्राका दौरान देखाउने व्यवहारले नै यात्रुलाई थप यात्रा दिने या नदिने भन्ने विषय तय हुन्छ ।

गैरसैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन २०१५ अनुसार उडानमा रहेका वायुयानभित्र कुनै व्यक्तिविरुद्ध आक्रामक व्यवहार गरेमा वा त्यस्तो काम कारवाहीले वायुयानको सुरक्षामा खतरा हुने सम्भावना भएमा त्यसलाई हवाई उडानको सुरक्षा विरुद्धको अपराध मानिन्छ ।

आफ्नो कर्तब्य पालनको सिलसिलामा कुनै पनि यात्रुलाई वायुयानमा चढ्न, छेउमा जान वा विमानस्थल क्षेत्रभित्र नै प्रवेशमा समेत रोक लगाउन सक्नेसम्मको अधिकार कानूनले कर्मचारीलाई दिएको छ ।

हवाई सुरक्षाविरुद्ध यात्रुले गरेको अपराधकर्म अनुसार जन्मकैदसम्मको सजायँको व्यवस्था छ । खासगरी विमान अपहरणको कसुरमा यो सजाय आकर्षित हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment