News Summary
Generated by OK AI. Editorially reviewed.- २५ वर्षीया रुवीकुमारी ठाकुर श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी छिन् र उनले संसद्मा दहेज प्रथा, बालविवाह र बेरोजगारी विषय उठाउने बताएकी छिन्।
- रुवीले तीन वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन पूरा गरी ७ महिना धनुषाकै कन्सल्टेन्सीमा जागिर खाइरहेकी थिइन् र अब बीई अध्ययन गर्ने योजना बनाएकी छिन्।
- उनले पाँच वर्ष संसद्लाई दिन्छु र त्यसपछि विवाहबारे सोच्ने बताइन् भने उनका बाबु साउदी अरबमा वैदेशिक रोजगारीमा छन् र परिवारमा चार बहिनी र दुई भाइ छन्।
२ फागुन, सुनसरी । हर्क साम्पाङले धनुषामा चुनावी अभियान चलाउनु अघिसम्म रुवीकुमारी ठाकुर श्रम संस्कृति पार्टीमा जोडिएकी नै थिइनन् । जब उनले पहिलो पटक हर्कलाई भेटिन्, त्यसपछि माटोलाई भोट माग्दै मतदाताको घरदैलोसम्म पुगिन् ।
श्रम संस्कृतिमा आवद्ध भएपछि आफ्नो समुदाय मात्र होइन, सिंगो धनुषा–४ मा व्यापक प्रचारप्रसारमा जुटेकी रुवी राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा जस्ता हस्ती र उनका समर्थकसँग राजनीतिक रूपमा भिडिन् ।
अहिले उनै रुवीलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर सदनमा पठाएको छ । आफ्नो संसद् यात्रालाई २५ वर्षीय रुवीले अप्रत्यासित भनेकी छिन् । उनी भन्छिन्, ‘म सामान्य मान्छे । तर सधैं श्रम संस्कृति पार्टी र अध्यक्ष हर्क साम्पाङको भिडियो हेर्थें । र, देशका लागि यस्तो मान्छे चाहिन्छ भन्ने लागेर समर्थक बन्न पुगें । सांसद बन्नु मेरा लागि ‘सरप्राइज’ नै हो ।’
रुवी स्थानीय बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा इन्जिनिरिङ सकेर ७ महिना अघिदेखि धनुषाकै एक कन्सल्टेन्सीमा जागिर खाइरहेकी थिइन् ।
पार्टीले समानुपातिक सांसद बनाएपछि पहिलो पटक धरानस्थित पार्टी मुख्यालयमा आएका बेला थोरै नर्भस, धेरै उत्साहित हुँदै अनलाइनखबरसँग भनिन्, ‘मैले सांसद हुन्छु भनेर सोचेको थिइनँ । अचानक समानुपातिक सांसद बनाएको खबर आयो । अनि अध्यक्ष हर्कराज साम्पाङलाई भेट्न पार्टी कार्यालय आइपुगें ।’
धनुषाको मझेलियाकी रैथाने भए पनि उनी मधेशवादी दल, एमाले, कांग्रेस, नेकपा र रास्वपामा आकर्षित भइनन् । अथवा, ती दलले उनलाई पत्याएनन् । स्वतन्त्र रूपमा आफ्नै काममा रमाइरहेकी रुवी मासिक २० हजार तलबमा कन्सल्टेन्सीमा सानो जागिर खाइरहेकी थिइन् । श्रम संस्कृति पार्टीले पत्याएपछि खुला राजनीतिमा होमिएको उनले बताइन् ।
उनका बाबु सोगराथ ठाकुर साउदी अरबमा वैदेशिक रोजगारीमा जानुअघि कपाल काट्ने पेसामा थिए । हाल उनी साउदीमै छन् । आमा रेणु ठाकुर गृहिणी हुन् । परिवारमा रुवीसहित चार बहिनी र दुई भाइ छन् ।
राजनीतिक भाषा उति नजानेकी रुवीले भनिन्, ‘हामी एक कट्ठा जमिनमा बसेका छौं । जीविकाका लागि अर्काको दुई बिघा जमिन बटैयामा (अधिया) मा कमाउँछौं । बाबाले मासिक १५/२० हजार रुपैयाँ घर खर्च पठाउनुहुन्छ । म मासिक २० हजार कमाउँछु । अब व्यक्तिगत समस्याभन्दा पनि जनताको समस्या बुझ्नुपर्ने भएकाले मेरो ध्यान संसद्मा बढी हुन्छ ।’
रुवीले मधेश प्रदेशमा विकास निर्माण खासै नभएकाले संसद्मा तिनै विषयमा केन्द्रित हुने बताइन् । आफ्नो क्षेत्रमा मात्र नभएर मधेशमा खासगरी दहेज (दाइजो) प्रथाले जरा गाडेको उनले बताइन् । नेपालको कानुनले दहेज प्रथालाई प्रतिबन्ध लगाए पनि त्यो कानुन कार्यान्वयन हुन नसक्दा महिलाहरू बढी पीडित भएको उनको भनाइ छ ।
रुवीले भनिन्, ‘दहेज प्रथा मात्र होइन, मधेशमा बालविवाहको समस्या पनि छ । बेरोजगारी समस्या पनि उत्तिकै छ । यिनै विषयलाई मुद्दा बनाएर संसद्मा सशक्त रूपमा प्रस्तुत हुन्छु ।’
श्रम संस्कृतिमा प्रवेश गर्नुअघि डिप्लोमा तहको इन्जिनियरिङ अध्ययन गरिरहेको बेला उनले समाजमा अपाङ्गता भएका समुदायलाई केही सहयोग हुने काम गर्ने योजना बनाएकी थिइन् ।
धनुषाको मझेलियास्थित श्री माध्यमिक विद्यालयबाट एसईई गरेपछि उनले स्वरोजगार हुनका लागि डिप्लोमा इन्जिनियरिङ पढेकी थिइन् । उनले भनिन्, ‘सन् २०१८ मा एसईई गरेपछि तीन वर्षे कोर्षको डिप्लोमा इन्जिनियरिङ गरें । कोर्षमा टुडी र थ्रिडी प्रविधिबाट पनि घरको नक्सा बनाउन सिकेकाले वास्तु आर्किटेक्चरमा काम पाएँ ।’
उनले डिप्लोमा इन्जिनियरिङ गरिसकेकाले अब बीई (ब्याचलर इन्जिनियरिङ) गर्ने बताइन् । सांसदको जिम्मेवारी पनि सम्हाल्दै उमेर छँदै समय मिलाएर बीई गर्ने सोच बनाएको बताइन् । रुवीले भनिन्, ‘राजनीतिक यात्रामा सांसद हुनु देश र जनताका लागि अवसर हो भने ब्याचलर इन्जिनियरिङ मेरो परिवार र जीविकाका लागि काम लाग्छ भनेर इन्जिनियरिङ अध्ययनलाई निरन्तरता दिन चाहेकी छु ।’
जेनजी उमेरमै सांसद बन्ने अवसर पाएकी रुवी अविवाहित हुन् । विवाहको प्रसंगमा उनले भनिन्, ‘पाँच वर्ष संसद्लाई दिन्छु । समय मिलाएर इन्जिनियरिङको थप अध्ययन गर्छु । त्यसपछि विवाहबारे सोचौंला ।’
प्रतिक्रिया 4