+
+
Shares

२५ वर्षीया रुवीलाई हर्क साम्पाङको ‘सरप्राइज’

डिप्लोमा इन्जिनिरिङ सकेर धनुषाकै एक संस्थामा काम गरिरहेकी रुवीलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर सदनमा पठाएको छ ।

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
२०८२ चैत २ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २५ वर्षीया रुवीकुमारी ठाकुर श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी छिन् र उनले संसद्मा दहेज प्रथा, बालविवाह र बेरोजगारी विषय उठाउने बताएकी छिन्।
  • रुवीले तीन वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन पूरा गरी ७ महिना धनुषाकै कन्सल्टेन्सीमा जागिर खाइरहेकी थिइन् र अब बीई अध्ययन गर्ने योजना बनाएकी छिन्।
  • उनले पाँच वर्ष संसद्लाई दिन्छु र त्यसपछि विवाहबारे सोच्ने बताइन् भने उनका बाबु साउदी अरबमा वैदेशिक रोजगारीमा छन् र परिवारमा चार बहिनी र दुई भाइ छन्।

२ फागुन, सुनसरी । हर्क साम्पाङले धनुषामा चुनावी अभियान चलाउनु अघिसम्म रुवीकुमारी ठाकुर श्रम संस्कृति पार्टीमा जोडिएकी नै थिइनन् । जब उनले पहिलो पटक हर्कलाई भेटिन्, त्यसपछि माटोलाई भोट माग्दै मतदाताको घरदैलोसम्म पुगिन् ।

श्रम संस्कृतिमा आवद्ध भएपछि आफ्नो समुदाय मात्र होइन, सिंगो धनुषा–४ मा व्यापक प्रचारप्रसारमा जुटेकी रुवी राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा जस्ता हस्ती र उनका समर्थकसँग राजनीतिक रूपमा भिडिन् ।

अहिले उनै रुवीलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर सदनमा पठाएको छ । आफ्नो संसद् यात्रालाई २५ वर्षीय रुवीले अप्रत्यासित भनेकी छिन् । उनी भन्छिन्, ‘म सामान्य मान्छे । तर सधैं श्रम संस्कृति पार्टी र अध्यक्ष हर्क साम्पाङको भिडियो हेर्थें । र, देशका लागि यस्तो मान्छे चाहिन्छ भन्ने लागेर समर्थक बन्न पुगें । सांसद बन्नु मेरा लागि ‘सरप्राइज’ नै हो ।’

दहेज प्रथा मात्र होइन, मधेशमा बालविवाहको समस्या पनि छ । बेरोजगारी समस्या पनि उत्तिकै छ । यिनै विषयलाई मुद्दा बनाएर संसद्मा सशक्त रूपमा प्रस्तुत हुन्छु ।

रुवी स्थानीय बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा इन्जिनिरिङ सकेर ७ महिना अघिदेखि धनुषाकै एक कन्सल्टेन्सीमा जागिर खाइरहेकी थिइन् ।

पार्टीले समानुपातिक सांसद बनाएपछि पहिलो पटक धरानस्थित पार्टी मुख्यालयमा आएका बेला थोरै नर्भस, धेरै उत्साहित हुँदै अनलाइनखबरसँग भनिन्, ‘मैले सांसद हुन्छु भनेर सोचेको थिइनँ । अचानक समानुपातिक सांसद बनाएको खबर आयो । अनि अध्यक्ष हर्कराज साम्पाङलाई भेट्न पार्टी कार्यालय आइपुगें ।’

धनुषाको मझेलियाकी रैथाने भए पनि उनी मधेशवादी दल, एमाले, कांग्रेस, नेकपा र रास्वपामा आकर्षित भइनन् । अथवा, ती दलले उनलाई पत्याएनन् । स्वतन्त्र रूपमा आफ्नै काममा रमाइरहेकी रुवी मासिक २० हजार तलबमा कन्सल्टेन्सीमा सानो जागिर खाइरहेकी थिइन् । श्रम संस्कृति पार्टीले पत्याएपछि खुला राजनीतिमा होमिएको उनले बताइन् ।

उनका बाबु सोगराथ ठाकुर साउदी अरबमा वैदेशिक रोजगारीमा जानुअघि कपाल काट्ने पेसामा थिए । हाल उनी साउदीमै छन् । आमा रेणु ठाकुर गृहिणी हुन् । परिवारमा रुवीसहित चार बहिनी र दुई भाइ छन् ।

राजनीतिक भाषा उति नजानेकी रुवीले भनिन्, ‘हामी एक कट्ठा जमिनमा बसेका छौं । जीविकाका लागि अर्काको दुई बिघा जमिन बटैयामा (अधिया) मा कमाउँछौं । बाबाले मासिक १५/२० हजार रुपैयाँ घर खर्च पठाउनुहुन्छ । म मासिक २० हजार कमाउँछु । अब व्यक्तिगत समस्याभन्दा पनि जनताको समस्या बुझ्नुपर्ने भएकाले मेरो ध्यान संसद्मा बढी हुन्छ ।’

रुवीले मधेश प्रदेशमा विकास निर्माण खासै नभएकाले संसद्मा तिनै विषयमा केन्द्रित हुने बताइन् । आफ्नो क्षेत्रमा मात्र नभएर मधेशमा खासगरी दहेज (दाइजो) प्रथाले जरा गाडेको उनले बताइन् । नेपालको कानुनले दहेज प्रथालाई प्रतिबन्ध लगाए पनि त्यो कानुन कार्यान्वयन हुन नसक्दा महिलाहरू बढी पीडित भएको उनको भनाइ छ ।

रुवीले भनिन्, ‘दहेज प्रथा मात्र होइन, मधेशमा बालविवाहको समस्या पनि छ । बेरोजगारी समस्या पनि उत्तिकै छ । यिनै विषयलाई मुद्दा बनाएर संसद्मा सशक्त रूपमा प्रस्तुत हुन्छु ।’

उनका बाबु सोगराथ ठाकुर साउदी अरबमा वैदेशिक रोजगारीमा जानुअघि कपाल काट्ने पेसामा थिए । हाल उनी साउदीमै छन् । आमा रेणु ठाकुर गृहिणी हुन् । परिवारमा रुवीसहित चार बहिनी र दुई भाइ छन् ।

श्रम संस्कृतिमा प्रवेश गर्नुअघि डिप्लोमा तहको इन्जिनियरिङ अध्ययन गरिरहेको बेला उनले समाजमा अपाङ्गता भएका समुदायलाई केही सहयोग हुने काम गर्ने योजना बनाएकी थिइन् ।

धनुषाको मझेलियास्थित श्री माध्यमिक विद्यालयबाट एसईई गरेपछि उनले स्वरोजगार हुनका लागि डिप्लोमा इन्जिनियरिङ पढेकी थिइन् । उनले भनिन्, ‘सन् २०१८ मा एसईई गरेपछि तीन वर्षे कोर्षको डिप्लोमा इन्जिनियरिङ गरें । कोर्षमा टुडी र थ्रिडी प्रविधिबाट पनि घरको नक्सा बनाउन सिकेकाले वास्तु आर्किटेक्चरमा काम पाएँ ।’

उनले डिप्लोमा इन्जिनियरिङ गरिसकेकाले अब बीई (ब्याचलर इन्जिनियरिङ) गर्ने बताइन् । सांसदको जिम्मेवारी पनि सम्हाल्दै उमेर छँदै समय मिलाएर बीई गर्ने सोच बनाएको बताइन् । रुवीले भनिन्, ‘राजनीतिक यात्रामा सांसद हुनु देश र जनताका लागि अवसर हो भने ब्याचलर इन्जिनियरिङ मेरो परिवार र जीविकाका लागि काम लाग्छ भनेर इन्जिनियरिङ अध्ययनलाई निरन्तरता दिन चाहेकी छु ।’

जेनजी उमेरमै सांसद बन्ने अवसर पाएकी रुवी अविवाहित हुन् । विवाहको प्रसंगमा उनले भनिन्, ‘पाँच वर्ष संसद्लाई दिन्छु । समय मिलाएर इन्जिनियरिङको थप अध्ययन गर्छु । त्यसपछि विवाहबारे सोचौंला ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
प्रदिप मेन्याङ्बो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?