Comments Add Comment

जहाँ ६० कटेकाहरु कबड्डी संघका अध्यक्ष हुन्छन्…

संवैधानिक आयोगका प्रमुखलाई समेत ओलम्पिकको मोह

२९ भदौ, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमकी धर्मपत्नी तुलसा थापा खेलकुदको श्रीवृद्धि गर्ने नेपाल ओलम्पिक कमिटीको केन्द्रीय सचिवमा निर्वाचित भएको सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । अचम्म नमान्नोस्, प्रतिनिधिसभा सदस्य रहेकी थापा ओलम्पिक कमिटीको सचिवमा निर्वाचित हुनुअघि नै नेपाल कबड्डी संघको केन्द्रीय अध्यक्ष भइसकेकी व्यक्तित्व हुन् ।

कबड्डीको कुरो सुन्दा थप प्रश्न उब्जन सक्छ, ६५ वर्ष पुगेकी सांसद थापा कबड्डी खेल्न सक्छिन् त ? होइन भने उनी कसरी पहलमानहरुले लाप्पा खेल्नुपर्ने कबड्डीको केन्द्रीय अध्यक्ष बन्न पुगिन् ? अनि, कुन अनुभवका आधारमा उनी शनिबार ओलम्पिक कमिटीको केन्द्रीय सचिवमा निर्वाचित भइन् ।

नेपालमा यसको जवाफ सजिलै छ । खेलकुद क्षेत्रको नेतृत्वमा खेलकुदकै विषयमा अनुभव पाएका वा ख्याती कमाएका व्यक्तित्वहरु हुन जरुरी छैन । पार्टीको झण्डा बोकेका राजनीतिक नेताहरुले खेलकुदको नेतृत्वमा कब्जा जमाउँदै आएका छन् । र, यसैको शानदार उदाहरण मात्र हुन्– कामरेड तुलसा थापा ।

भलै, ६५ वर्षीया सांसद थापाले विद्यार्थी कालमा भारतमा रहँदा स्कुलमा बास्केट बल र घरमा साथीहरुसँग मिलेर कबड्डी खुब खेल्ने गरेको बताउने गरेकी छिन् । अहिले खेल्ने उमेर गए पनि खेलाउने उमेर भएको थापाको भनाइ रहँदै आएको छ ।

शायद भूपि शेरचनले नेपालमा यस्तै–यस्तै देखेर कविताका यी पंक्ति लेखेका होलान् –

कानमा इयरफोन लगाउनुपर्नेहरु

जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्

र जहाँ आत्मामा पत्थर परेकाहरु

काव्यका निर्णायक मानिन्छन्,

काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् ।

र जहाँ प्लाष्टर गरिएका हातहरुमा

सुरक्षाको सङ्गीन थमाइन्छ,

जहाँ…..

स्टक एक्सचेन्जका शेयरजस्तै

आत्मा क्रय–बिक्रय गर्न सक्नेहरु

जहाँ नेता हुन्छन्

र जहाँ निधारभरि कर्कटपाताजस्तै

चाउरी परिसकेकाहरु

तन्नेरीहरुका अगुवा हुन्छन् ।’

ओलम्पिक कमिटीमा राजनीतिक अनुहार

शनिबार नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि नेकपाका सांसद जीवनराम श्रेष्ठले भने ‘हाम्रो ध्यान अब नेपाली खेलकुदलाई ओलम्पिकमा कसरी बलियो बनाउने भन्नेमा केन्द्रित हुनेछ । आज समग्र नेपाली खेलकुदको जित भएको छ ।’

नवनिर्वाचित अध्यक्षले खेलकुदको जित भएको दाबी गरिरहँदा ओलम्पिक कमिटीमा राजनीतिमा सक्रिय अनुहारको बोलबाला देखिएको छ । खेलकुदको सर्वोच्च निकाय मानिने यो कमिटीमा खेलकुद पृष्ठभूमिका व्यक्ति कमै भेटिन्छन् । खेलकुद पृष्ठभूमि भएका व्यक्तिभन्दा पनि राजनीतिक शक्ति र आडमा नेपाली खेलकुदको सर्वोच्च निकायमा पुग्ने संस्कारजस्तै बनिसकेको छ ।

श्रेष्ठ आफैं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता तथा महानगर इन्चार्ज हुन् । उनी काठमाडौं क्षेत्र नम्बर–८ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपाका सांसद हुन् ।

उमेशलाल श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बनेका जीवनराम यसअघि ध्रुवबहादुर प्रधान नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुँदा पनि महासचिव थिए ।

जीवनरामसँग पराजित भएका उमेशलाल नेपाल उद्योग महासंका उपाध्यक्ष हुन् । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र साहना प्रधानका छोरा हुन् ।

उता पूर्वप्रहरी महानिरीक्षक प्रधान पनि राप्रपाको राजनीतिमा सक्रिय हुँदै ओलम्पिक कमिटीको अध्यक्ष बनेका थिए ।

शनिबार सचिवमा निर्वाचित तुलशा थापा नेकपामा क्रियाशील छिन् । समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी उनी अखिल नेपाल महिला संघकी नेतृ हुन् । नेपाल कबड्डी संघकी अध्यक्ष थापा नाताले नेकपा उपाध्यक्ष वामदेव गौतमकी श्रीमती हुन् ।

पूर्वसदस्य सचिवको ओलम्पिक मोह

अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सदस्यका रुपमा रहेको नेपाल ओलम्पिक कमिटी राष्ट्रिय खेलकुद परिषदमा दर्ता छ । तर, परिषदमा सदस्य सचिव भइसकेका व्यक्तिहरू पनि कमिटीको पदाधिकारी बन्न मरिहत्ते गरेर लागेको देखिन्छ ।

कमिटीका सचिवत्रयमा थापासँगै दीपक हर्ष बज्राचार्य र राजमीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सचिवका प्रत्यासी केशवकुमार विष्ट भने एक मतले पराजित भए । उनी राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव हुन् ।

अध्यक्ष जीवनराम स्वयं परिषदको दुई पटक सदस्य सचिव रहिसकेका छन् ।

ओलम्पिक कमिटीमा बस्ने मोह कस्तो छ भने संवैधानिक आयोगका रुपमा रहेको मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीसमेत उपाध्यक्ष पदमा चुनाव लडे । संवैधानिक मर्मविपरीत उम्मेदवारी दिएर उपाध्यक्षमा पराजित भएका उनले १२ भोट मात्र पाए ।

कमिटीको उपाध्यक्षमा लन टेनिसकी अध्यक्ष ज्योती राणा, टेबल टेनिसका चतुरानन्द राजवैद्य, पौडीका अशोकरत्न बज्राचार्य, ह्यान्ड बलका अध्यक्ष तेजबहादुर गुरुङ, फेन्सिङका अध्यक्ष सुनिलकुमार श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भए ।

ओलम्पिक कमिटीले के गर्छ ?

नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागितामा समन्वयनकारी भूमिका खेल्ने र आफू मातहतमा रहेका खेल संघहरुलाई विभिन्न सहयोगदेखि खेलाडीको वृत्ति विकासमा योगदान गर्छ । कमिटीकै सिफारिसमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जान्छन् ।

अन्तराष्ट्रिय क्षेत्रमा मान्यता प्राप्त कमिटीमा सक्रिय राजनीतिकर्मीदेखि संवैधानिक आयोगका पदाधिकारीको समेत आँखा परेको देखिन्छ । उनीहरू खेलकुदको विकासका लागि भन्दा पनि व्यक्तिगत लाभका लागि मरिहत्ते गरेर लाग्ने गरेको सम्वद्धहरू बताउँछन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ खेलकुद नै नबुझी राजनीतिक आडमा आएको मान्छेले खेलकुदको विकास गर्न नसक्ने बताउँछन् । उनी भन्छन्, ‘नबुझेको मान्छे आउँदा खेलाडीलाई मात्र नभएर खेल क्षेत्रमै ठूलो असर पर्छ ।’

अध्यक्ष दीपक श्रेष्ठको विचार उनकै शब्दमा : 

खेलकुद संघहरूको नेतृत्वदायी भूमिकामा खेलकुद बुझेको मान्छु हुनुपर्छ । खेलकुद नै नबुझी राजनीतिक आडमा गएका मान्छेले खेलकुदलाई विकास गर्न सक्दैनन् । यसले खेलाडीलाई मात्रै नभएर खेललाई ठूलो असर गर्छ । अहिले भइरहेको त्यही हो ।

ओलम्पिकमा गएका मान्छे कुनै न कुनै खेलसँग सम्बन्धित भएर नै गएका छन् । खेल संघमा आउँदा चाहिँ खेलकुद बुझेको थियो कि थिएन भन्ने कुरा हो । नबुझ्ने मान्छे खेल संघमै बस्नुहुँदैन । त्यसमा पनि झन ओलम्पिक कमिटीमा प्रतिनिधिका रुपमा पठाउनै हुदैनथ्यो । जसले बुझेको छ, जानेको छ, त्यसैलाई पठाउनुपर्ने थियो । तर, हाम्रोमा कस्तो प्रचलन बसेको छ भने जसले राजनीति हावी हुन्छ, त्यसको सबै हुन्छ ।

नेपाली खेलकुद क्षेत्रमा त्यस्ता धेरै मान्छे छन् जसले खेलकुद बुझेकै छैनन् । तर, आफ्नो राजनीतिक शक्तिका भरमा त्यहाँसम्मको बाटो अपनाएको छ । यो एकदमै गलत हो । यसले के कुराको निर्धारण गर्छ भने पछि यसरी नै जाने बाटो बन्छ ।

हामीजस्तो देशको झण्डा बोक्ने खेलाडीहरु जो कहिल्यै पार्टीगत झण्डा बोकेका हुँदैनन् । तर, खेलकुदमा हामीभन्दा पनि पार्टीगत झण्डा बोक्नेहरु बलियो स्थितिमा छन् । अन्य देशमा जसले देशको झण्डा बोक्छ, त्यो ठूलो हुन्छ । तर, हामीकहाँ जो पार्टीको झण्डा बोक्छ उ शक्तिशाली । खेलाडीका लागि योभन्दा ठूलो विडम्बना केही होइन ।

हामीले कुनै न कुनै पार्टीको झण्डा नबोकेसम्म त्यहाँसम्म पुग्न कल्पना पनि गर्न सक्दैनौं । हामी कि विदेश पलायन हुने, कि त टुलुटुलु हेरेर बस्न बाहेक केही छैन । खेलाडी नै हो माथिल्लो ओहोदामा पुग्नुपर्ने । तर, त्यस्तो भएको छैन । योभन्दा दुःख खेलाडीका लागि के हुन्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment