Comments Add Comment

दशैंमा घर जाने सडक ‘दशा’ निम्त्याउने खालका !

३० भदौ, काठमाडौं । दशैं आउन दुई साता मात्रै बाँकी छ, तर अहिले देशभरका राजमार्ग र सडकहरुको अवस्था हेर्ने हो भने यो ‘दशैं यात्रा’ सजिलो र सुरक्षित हुने देखिँदैन । अहिलेसम्म वर्षाका कारण सडकमा परेका खाल्डा पुर्न काम सुरु भएको छैन । अबको एक हप्तासम्म पनि काम नभए दशैंका लागि घर फर्किने यात्रुलाई ठूलो सास्ती हुनेछ ।

दशैंमा काठमाडौंबाट मात्रै करिब ३० देखि ३५ लाख यात्रु बाहिरिने अनुमान छ । यस्तै विभिन्न शहरमा बसेकाहरु गाउँघर फर्किने भएकाले यो दशैंमा ठूलो संख्यामा यात्रुको आवागमन हुन्छ । दशैंमा टीका थाप्न पनि त्यतिकै संख्यामा यात्रुहरु एक गन्तब्यबाट अर्को गन्तब्यमा पुग्छन् ।

तर, यति धेरै सवारीसाधन र तिनमा सवार यात्रु चलायमान हुने बेला आइसक्दा पनि राजमार्गको खाल्डा पुर्न तीव्रता दिइएको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सडकहरुको दुरावस्थाले दशैंमा सवारीसाधन सञ्चालन गर्न चुनौती थपिएको बताउँछन् ।

‘यात्रुको सुरक्षाको प्रश्न त छँदैछ, सडकको दुरावस्थाले सवारी सञ्चालन गर्नै असहज हुने अवस्था छ,’ उनले भने, ‘जसरी हुन्छ दशैंको आवागमन बाक्लिनुअघि नै सडकको अवस्था सुधार्नुपर्छ । यही अवस्थामा सवारी चलाउन गाह्रो छ ।’

‘दशा बन्न सक्छ यात्रा’

हुन त सडक विभागले दशैंअघि नै मुख्य तथा सहायक राजमार्गका सडकका खाल्डाखुल्डी पुरेर यात्र सहज बनाउने दावी गरेको छ । तर, समय निकै कम भएकाले दशैंअघि नै खाल्डा पुर्ने काम सम्पन्न हुनेमा शंका छ ।

हुन त सरकारले यस वर्षबाट नागरिकलाई खाल्डाबाट जोगाउन भन्दै पेट्रोलियम पदार्थमा अतिरिक्त कर असुलिरहेको छ । तर, समयमै खाल्डा पुर्न र यातायात आवागमन सहज बनाउन भने चुकेको छ ।

उपभोक्ता अधिकारवादी रामकुमार थापा अहिले सडकहरुको अवस्था दशा निम्त्याउने खालको भएको टिप्पणी गर्छन् । ‘दशैंमा सवारी साधनमा यात्रुको चाप हुन्छ, जति पनि यात्रु बोकेर दौडिएका बस कहाँ, कुन खाल्डोमा जाकिने हुन् पत्तो छैन,’ उनले भने, ‘बेलैमा सडक मर्मत गरे विगतमा जस्तो दशैंमा दुर्घटना बढ्ने थिएन ।’

हाल पूर्वपश्चिम राजमार्गका विभिन्न खण्डहरुदेखि त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायतका सडकका विभिन्न खण्डहरुमा ठूला-ठूला खाल्डा र भ्वाङ परेका छन् । त्यसैले वर्षाका कारण भत्किएका सडक दशैंअघि मर्मत गरिसक्न सरकारमाथि यातायात व्यवसायीले दबाव दिँदै आएका छन् ।

निर्देशन छ, काम छैन

सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटा सबै सडक डिभिजन कार्यालयलाई दशैंअघि आफ्नो कार्यक्षेत्रभित्रका सडकको खाल्डा पुर्न निर्देशन दिइएको बताउँछन् । उनले दशैंमा सवारी साधनको चाप बढ्ने भएकाले आवागमनलाई सुचारु राख्न र सवारी तथा यात्रुको सुरक्षाका लागि पनि दशैंअघि सबै सडकका खाल्डा पुरिने बताए ।

तर, वर्षा जारी रहेकाले काम सुरु गर्न नसकिएको सडक डिभिजनका अधिकारीहरुको भनाइ छ । पानी परिरहँदा पुरिएका खाल्डा निष्प्रभावी भएकाले मौसममा सुधार आएपछि काम सुरु गर्ने उनीहरुको भनाइ छ । विभागका उपमहानिर्देशक सापकोटा भने अब ढिलाइ नगरी खाल्डा पुर्न तीव्र पारिने दावी गर्छन् ।

ट्राफिक प्रहरीले पनि सडकको खाल्डा छिटो पुरिदिन आग्रह गर्दै आएको छ । राजमार्गमा मात्रै नभएर अहिले राजधानीभित्रैका सडकमा पनि ठूला-ठूला खाल्डाहरु परेका छन् । जसले ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा अप्ठ्यारो बनाइदिएको छ ।

सडकमा खाल्डो बढेपछि सवारी साधन चलाउनेहरु सबैभन्दा बढी पीडित छन् । राजमार्ग र काठमाडौंभित्रका शहरी सडकमा सवारी चाप उच्च भएकाले सानो खाल्डो दिनानुदिन ठूलो बन्दैछ । जसमा कारण घाम चर्को लगेपछि धुलो उड्ने र वर्षा हुनासाथ पानी जम्ने समस्या छ ।

सडकको खाल्डाका कारण स्थानीय बासिन्दा साथै ब्यापारीहरु पनि प्रभावित हुने गरेका छन् । वर्षामा सडकमा खाल्डा पर्ने समस्या पुरानै भए पनि यस्ता खाल्डा पुर्ने र सडक मर्मत गर्ने काममा सरकारको चासो कम देखिन्छ ।

नाकाका सडक दयनीय


अहिले काठमाडौंका विभिन्न नाका जोड्ने सडक बिजोक अवस्थामा छन् । दक्षिणकाली, साँखु, टोखा, बालाजु, सितापाइलालगायतका नाकाका सडकहरुको अवस्था दयनीय छ । उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार गर्न चासो नदिइँदा नाकामै यात्रुहरु लामो जाममा बस्नुपर्ने समस्या बढेको छ ।

प्रायः अहिले काठमाडौंका सबै नाकाको सडक विस्तारको लागि ठेक्का लागेको छ । कतिपय सडक त काम हुनै नसकेर रुग्ण बनेका छन् । त्यसमाथि वर्षाका कारण ती सडकमा खाल्डा थपिएका छन् ।

कलंकी-थानकोट सडक विस्तार सकिने अवस्थामा पुगेपनि नयाँ खाल्डाहरुले फेरि समस्या ल्याइसकेको छ । बल्खुबाट हेटौंडा जोड्ने दक्षिणकालीको नाकाको सडकको हालत उस्तै छ । सडक विस्तारको काम बेलैमा नसकिँदा यो सडक वर्षौंदेखि बेहाल अवस्थामा छ ।

रसुवा र नुवाकोट जाने नाकाहरुको अवस्था पनि उस्तै छ । टोखा र ककनी जाने सडकमा पनि विस्तारको ठेक्का लागेको छ । तर, काम कछुवाको गतिमा हुँदा यी सडकमा खाल्डैखाल्डा छन् ।

लामो समयदेखि विस्तारको काम चलिरहेको चाबहिल-साँखु सडकको प्रगति पनि ज्यादै कमजोर छ । यो राजधानीकै सबैभन्दा धेरै लापरवाही भएको सडकखण्ड हो । स्थानीयहरु पटक-पटक आन्दोलनमा उत्रिँदा पनि सडक विभाग र ठेकेदार कम्पनीले यो खण्डको विस्तारमा तीव्रता दिन सकेको छैन ।

काठमाडौंका करिडोर सडकको हालत पनि उस्तै छ । सडक मर्मत गर्न एउटा मात्रै निकाय जिम्मेवार छैनन्, सडक विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बाग्मती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं महानगरपालिकाका, ललिलतपुर महानगरपालिकासहित विभिन्न नगरपालिकाहरु विभिन्न सडक मर्मतको जिम्मा लिएर बसेका निकाय हुन् ।

तर, समन्वय र आपसी समझदारीसहित यस्ता निकायहरुले नागरिकको सास्ती हटाउने गरी काम गर्न नसक्दा सवारी चलाउनै मुस्किल हुने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment