Comments Add Comment

बुद्ध एयरको प्रष्टीकरणः हुलहुज्जतले विमान नै ढल्किएको थियो

३० भदौ, काठमाडौं । बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि हुलहुल्लज गर्दा पनि उडान थप ढिला भएको स्पष्टीकरण दिएको छ ।

सोमबार नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पठाएको प्रष्टिकरणमा विमान कम्पनीले मन्त्रीलाई पर्खिँन केही समय उडान रोकिएको स्वीकार गरेको छ । तर मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले जनाएको छ ।

जहाजभित्र आक्रोशित समुहले मन्त्रीका कारण १ घन्टा पर्खाइएको दावी गरेका थिए । मन्त्री भट्टराईले भने आफ्ना कारण १५ मिनेट ढिलो भएको स्पष्टिकरण दिँदै आएका छन् ।

बुद्ध एयरको प्रष्टिकरण भट्टराईको दाबीसँग नजिक छ । पत्रमा उल्लेख गरिएअनुसार नेपालगञ्जबाट ६ः४० मा उड्नुपर्ने बिमान २४ मिनेट ढिला गरी ७ः०४ मा उडेको थियो । यसमध्ये ६-८ मिनेट हुलहुज्जतले गर्दा र बाँकी मन्त्रीले गर्दा ढिलाई भएको पत्रमा उल्लेख छ ।

‘घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले गर्दा आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो,’ पत्रमा भनिएको छ ।

हुलहुज्जतले विमान ढल्कियो

पत्रमा उल्लेख भएअनुसार यात्रुहरुलाई ६ः३० बजे विमानमा बोर्डिङ गराइएको थियो । त्यसअघि मन्त्रीका सहयोगीले ६ः२५ बजे नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणमार्फत फोन गरेर धम्बोजी आइपुगेको जानकारी गराएका थिए । तर, फोनमा जानकारी गराइएभन्दा केही ढिला मन्त्री एयरपोर्ट प्रवेश गरेको बुद्ध एयरको भनाइ छ । विमानमा बसेको १० मिनेटसम्म जहाज नउडेपछि ६ः४० बजे १४/१५ जनाको समूह परिचारिकाहरुलाई अटेर गर्दै बाहिर निस्किएको र कर्मचारीहरुसँग विवाद गरेको पत्रमा उल्लेख छ ।

‘६ः५० बजे मन्त्री एयरपोर्ट आइपुगेपछि उत्तेजित समूहले उहाँलाई घेरे, तर उहाँ चुपचाप बिमानमा चढ्नुभयो । उहाँसँगै अन्य यात्रु पनि भित्र पसे । तर, ४-५ मिनेट एकै ठाउँ उभिएर विवाद गर्न थाल्दा एकै भागमा बढि वजन भएर विमान ढल्किएको थियो,’ पत्रमा भनिएको छ ।

यो समूहलाई साम्य बनाई उडान भर्दा अझै केही ढिलाई भएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment