Comments Add Comment

इन्डो प्यासिफिक नीतिमा नेपाललाई हस्ताक्षर गराएका छैनौं : अमेरिका

३१ भदौ, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विभाग प्रमुख क्लिन्टन एस ब्राउनले अमेरिकाको इन्डो प्यासिफिक नीति चीन विरोधी नभएको बताएका छन् । उनले नेपालमा यसलाई ‘रणनीति’ भन्ने गरिएको उल्लेख गर्दै ‘नीति’ भन्न आग्रह गरे ।

काठमाडौंमा आयोजित ‘विश्व परिस्थिति र नेपालको भविष्य’ विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । इन्डोप्यासिफिक नीतिमा नेपाललाई अमेरिकाले हस्ताक्षर नगराएको ब्राउनले प्रष्ट पारे ।
‘हामी स्वतन्त्र र खुल्ला एसिया प्यासिफिक क्षेत्रको पक्षमा छौं । यो हाम्रो नीति हो । हामीले यसमा नेपाललाई हस्ताक्षर गराउने कुनै क्लज नै छैन,’ उनले भने ।

स्वतन्त्र र खुल्ला एसिया प्यासिफिक क्षेत्रले चीनको समेत हित गर्ने उनले दावी गरे । यसबाट चीनको अर्थतन्त्र थप प्रवद्र्धन हुने भन्दै यसलाई चीनविरोधी नीतिको रुपमा नहेर्न ब्राउनले आग्रह गरे ।
अमेरिकाले नेपालमा ७० वर्षदेखि निस्वार्थ रुपमा सहयोग गरिरहेको पनि उनको भनाइ थियो ।

‘कसैले पनि सित्तैमा सहयोग गर्दा नेपालले उसको रुची के हो भन्ने प्रश्न गर्नुपर्छ । अमेरिकालाई पनि गर्नुपर्छ । अमेरिकाले नेपाललाई शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका अनेक क्षेत्रमा सहयोग गरेको छ । यसमा हाम्रो कुनै अन्तरनिहित स्वार्थ छैन । हामी एउटा मात्रै कुरा चाहन्छौं कि नेपाल ‘प्रो नेपाल’ होस्’ उनले भने ।

उनले नेपालका सुरक्षा निकाय र अमेरिकी सुरक्षा निकायबीचको सहकार्य (ट्रेनिङ) का सन्दर्भमा नेपालमा प्रश्न उठेकोमा पनि असन्तुष्टि ब्यक्त गरे ।

आगामी नोभेम्बर ४ देखि १५ मा नेपाली सशस्त्र प्रहरीसँग अमेरिकी सेनाले दुईवटा प्रशिक्षण कार्यक्रम गर्ने प्रस्तावसहित नेपाल सरकारलाई पत्र लेखेको सार्वजनिक भएको छ । जसमा एउटा हाइअल्टिच्युड प्रशिक्षण अन्नपूर्ण क्षेत्रमा र अर्को स्वीफ्ट वाटरसम्बन्धी प्रशिक्षण चितवनको कुरिनटारमा गर्ने अमेरिकाको प्रस्ताव रहेको उल्लेख गर्दै नेकपाकी सांसद पम्फा भुसालले प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

यसप्रति संकेत गर्दै अमेरिकी दूतावासका राजनीतिक बिभाग प्रमुख ब्राउनले भने, ‘हाम्रो कुनै निहित स्वार्थ छैन । नेपाली सुरक्षा बललाई सहयोग गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment