Comments Add Comment

मलेसियाबाट फर्केर बनाएको संसार गोलीले उडायो

श्रीमती र छोरा नालीमा, कुर्मीमाथि गोली

२९ भदौ, काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिका– ५ का महेन्द्र कुर्मी गाउँमै खेती किसानी गर्थें । वैदेशिक रोजगारीका लागि दुईपटक मलेसिया पुगेर पछिल्लो समय आर्थिक अवस्था बलियो बनाउँदै लगेका थिए।

परदेशमा कमाएर जोगाएको रकमले के गर्ने ? उनी कुनै उत्पादक क्षेत्रमा लगानी गर्न चाहन्थे । तर, उपयुक्त ठाउँ भेटेका थिएनन् ।

गाउँमा छरछिमेक ऋण खोजी राख्थे । त्यसैले उनले विदेशबाट आएको भएको पैसा गाउँमै लगानी गरेर ब्याजले जीवन चलाउने सोच बनाए।

सामान्य खेतीपातीसँगै ब्याजको पैसाले महेन्द्रको जीवन चलेकै थियो । तर, एक्कासी आइतबार दिउँसो उनको परिवारमा बज्रपात आइलाग्यो ।

हिमालयन बैंकमा रहेको करिब ५ लाख रुपैयाँ झिक्न कुर्मी पत्नी विजयलक्ष्मी र एक वर्षका छोरासहित भैरवहा गएका थिए । तर, घर पुग्न नपाउँदै रोहिणी गाउँपालिका–५ मा आइतबार दिनदहाडै महेन्द्रमाथि गोली प्रहार गरी हत्या भएको छ ।

श्रीमती र छोरा नालीमा, कुर्मीमाथि गोली

कुर्मी परिवार बैंकबाट रकम निकालेर दिउँसो फर्किँदै थियो । जब रोहिणी नदी छेऊ कुर्मी चढेको मोटरसाइकल पुग्यो तब ‘अनटेस्ट’ लेखेको मोटरसाइकलमा सवार दुई व्यक्तिले उनीहरूलाई पछ्याउन थाले ।

अनलाइनखबरसँगको सम्पर्कमा आएका एकजना प्रत्यक्षदर्शीका अनुसार पछिपछि आउँदै गरेको मोटरसाइकलमा भएका व्यक्ति ‘ओए.. साले रोक्…’ भन्दै चिच्याइरहेका थिए ।

हुलाकी राजमार्गमा पर्ने यो क्षेत्र प्रायः सुनसान नै रहने स्थानीय बताउँछन् । रोहिणी नदी पुल तर्ने वित्तिकै पछ्याउँदै गरेका ती अज्ञात व्यक्तिले कुर्मीको बाटो छेके । श्रीमती र छोरालाई नालीतिर हुत्याइदिए ।

त्यसपछि झोला तान्न खोजे । तर, उनी झोला बोकेर अलिपर रहेको घरतिर भागे । मोटरसाइकलमा रहेका एकजनाले साथमा रहेको पेस्तोलबाट गोली चलाइहाले ।

गोली कुर्मीको खुट्टामा लाग्यो । खल्च्याङ–खल्च्याङ गर्दै उनी घरको गेटसम्म पुगे । तर, च्यानल गेट बन्द थियो । उनले ढोका खोल्ने प्रयास गरिरहे । तर, लुटेराले उनलाई छेकिहाले ।

उनी फेरि भाग्न खोजे । दोस्रो गोली उनको कञ्चटमा लाग्यो । लुटेरा पैसा भएको झोला बोकेर भाग्न सफल भए । तर, कुर्मीले भने त्यही प्राण त्यागे ।

‘गर्मी पनि छ, दिउँसोतिर यो क्षेत्रका मान्छे प्रायः हुँदैनन्’, रोहिणी गाउँपालिकाका मेयर सरोजकुमार यादवअनुमान गर्छन्, ‘त्यो घरमा यदि मान्छे भएको भए, सायद कुर्मी बाँच्न सक्थे । गेट खुलेको भए पनि… ।’

भारततिर अभियुक्त

कुर्मीलाई लखेटेको देखेपछि स्थानीयले रोक्ने प्रयास नगरेका पनि होइनन् । तर, सर्वसाधारणलाई पेस्तोल देखाउँदै उनीहरु अघि बढेको प्रत्यक्षदर्शी बताउँछन् ।

राष्ट्रिय जनता पार्टीका रुपन्देही अध्यक्ष एवं घटना भएको क्षेत्रबाट प्रदेशसभा सांसदमा उठेका उम्मेदवार प्रशान्त गुप्ता भन्छन्, ‘घटना भएको थाहा पाएलगत्तै वैगुनपुर चौकमा रहेका केही युवाले उनीहरुलाई पछ्याएका रहेछन् ।’

तर, हतियारसहित भागेका दुईजनालाई उनीहरुले रोक्न सकेनन् । अपराधस्थलको करिब ४ किलोमिटर अगाडि इलाका प्रहरी कार्यालय, दशधै छ । जुन प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा छ । तर, स्थानीयले जानकारी गराए पनि प्रहरी आधा घन्टापछि मात्र आइपुग्दा अभियुक्तहरु सहजै उम्किए ।

अन्य समयमा हुलाकी बाटोमा ट्राफिक प्रहरी चेकजाँच गर्न पनि बस्थ्यो । तर, आइतबार चाहिँ चेकिङको टोली पनि थिएन । ‘हुन त अन्य बेला पनि लाइसेन्स र बिल बुक मात्र चेक हुन्थ्यो’, गुप्ताले अनलाइनखबरसँग भने, ‘तर, चेकिङ भएको भए भागेका व्यक्ति केहीबेर भए पनि अल्मलिन सक्थे ।’

स्थानीय युवाले भने उनीहरुलाई अलिपरैबाट भए पनि पछ्याउन छाडेका थिएनन् । तर, दौडादौडमा भएकाले कसैलाई पनि गोली चलाउनेको हुलिया राम्रोसँग थाहा छैन । तर, पछ्याउँदै जाँदा अभियुक्त सुनोली नाकाबाट भारततिर प्रवेश गरेको भने उनीहरुले देखेका छन् ।

रूपन्देही प्रहरीका एक अनुसन्धान अधिकृत अपराधमा संलग्नको पहिचान भइसकेको र चाँडै पक्राउ पर्ने दाबी गर्छन्

कसले गरेको हुन सक्छ हत्या ?

मानिसको हत्या किन हुन्छ ? अनुसन्धान अधिकृतका अनुसार हत्या पछाडि सम्पत्ति, रिसइबी, चोरी/लुटपाट जस्ता कारण देखिन्छन् ।

कुर्मी गोली प्रकरणमा उनको साथबाट पैसाको झोला लगिएका पाइएकाले तेस्रो अनुमानतर्फ प्रारम्भिक अनुसन्धानको सुई सोझिएको छ । त्यसो त कुर्मीको गाउँमा कसैसँग हुन सक्ने रिसिइबीका कारण पनि घटना भएको हुन सक्ने तथ्यलाई पनि प्रारम्भमा नकार्न मिल्दैन ।

तर, सुरुमा खुट्टामा गोली हानिएकाले अभियुक्तको उद्देश्य हत्याभन्दा बढी लुटपाट नै देखिन्छ । महेन्द्रको घर भएको ओमसतिया–५ का वडाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी भन्छन्, ‘उनी एकदमै सोझा थिए, उनीबाट कसैलाई नराम्रो व्यवहार भएको मलाई थाहा छैन ।’

लुटपाटकै उद्देश्य भए को हुन सक्छन् अभियुक्त ? यो प्रश्नको जवाफ भेट्न थप केही प्रश्नको सामना गर्नुपर्छ ।

कुर्मीले कसैलाई ऋण दिने उद्देश्यले उनी पैसा झिक्न गएका थिए ? वा, अरु कुनै कारण थियो ? कर्मी परिवार पैसा झिक्न जाँदैछ भन्ने क–कसलाई थाहा थियो ? यिनै प्रश्नलाई केन्द्रमा राखेर अहिले रुपन्देही प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कुर्मीको परिवार घरतिर फर्किँदै गर्दा बाटो छेकिएकाले रकम लिएर आउने समय पनि अभियुक्तलाई थाहा हुन सक्ने अनुसन्धान अधिकृतको अनुमान छ । त्यसका लागि कि त अभियुक्त कुर्मी परिवारको नजिककै व्यक्ति हुनुपर्छ । अथवा, नजिकैका कसैले अभियुक्तलाई सहयोग गरेको हुनपर्छ ।

यद्यपि, यो अनुसन्धान सकिएपछि प्रहरीले खुलाउने कुरा हो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी वीरेन्द्रबहादुर शाही भन्छन्, ‘हामीले विभिन्न पक्षबाट अनुसन्धानलाई जारी राखेका छौं । अहिलेलाई यत्ति बुझौं ।’

जिल्लाका अर्का एक अधिकृत भने अपराधमा संलग्नको पहिचान भइसकेको दाबी गर्छन् ।

यो पनि पढ्नुहोस समाजमा बढ्दै छ अपराधिक मनोवृत्ति

भाइको पनि रहस्यमय मृत्यु

गाउँपालिका अध्यक्ष यादवका अनुसार गोली चलेको ठाउँमा द्वन्द्वकालमा लुटपाट र झगडाका घटना सार्वजनिक हुने गर्थें । तर, पछिल्लो समय गाउँमा शान्ति थियो ।

कुर्मी हत्यापछि गाउँले अहिले पुनः त्रसित बनेका छन् । उनीहरुले हत्यामा संलग्नलाई चाँडै पक्राउ गर्न माग गर्दै प्रदर्शन पनि गरेका छन् ।

प्रहरी पनि ढिलो आइपुगेकोप्रति स्थानीयको आक्रोश छ । स्थानीयले अर्को पनि एउटा प्रश्न उठाइरहेका छन्–दुई दाजुभाइ मध्ये कुर्मीको भाइको पनि हत्या भएको थियो । तर, प्रहरी प्रतिवेदनले भने कुर्मीका भाइको एक वर्ष अगाडि सवारी दुर्घटनाबाट मृत्यु भएको देखाउँछ । ‘ट्रकको ठक्करबाट उहाँको मृत्यु भएको थियो । तर, स्थानीयले भने कसैले जानाजान ठक्कर दिएको दाबी गरेका थिए’, जिल्लाका एक अधिकृतले भने ।

यो विषयलाई पनि जोडेर स्थानीयले कुर्मीको शव उठाउन दिएका थिएनन् । तर, साँझ ५ बजे रुपेन्देही प्रहरी प्रमुख हृदय थापाले महेन्द्रका अभियुक्तलाई चाँडै पक्राउ गरेर सार्वजनिक गर्ने आश्वसन दिएपछि शव उठाउन दिइएको छ ।

महेन्द्रको शव रुपन्देहीस्थित ओम हस्पिटलमा पोष्टमार्टम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment