Comments Add Comment

डाक्टरी पढिरहेका इसान राष्ट्रिय क्रिकेट टिमका ओपनर !

२ असोज, काठमाडौं । सिंगापुर र ओमान टुरका लागि घोषित राष्ट्रिय क्रिकेट टिममा दुई नयाँ अनुहार अटाएका छन् । उनीहरु हुन्, कुशल मल्ल र इशान पाण्डे ।

कुशल नेपालको यू-१९ क्रिकेटमा चर्चित नाम नै हुन् । तर, इशान भने नेपाली क्रिकेट जगतमा खासै परिचित छैनन् । कमै क्रिकेटप्रेमीले नाम सुनेका इशानले कसरी एकाएक राष्ट्रिय टिममा स्थान बनाए ? धेरैको मनमा जिज्ञासा पैदा भएको छ ।

इशान क्रिकेटसँग भर्खर जोडिएका खेलाडी भने होइनन् । स्याङ्जामा जन्मिएका उनले भारतमा क्रिकेट सिकेका हुन् ।

बुवा भारतमै भएकाले उनी त्यही हुर्किए बढे । उत्तराखण्डको यू-१९ स्टेट लेभलसम्म क्रिकेट त्यही खेले । १२ कक्षा पास गरेपछि भने नेपाल आए । ‘भारतमा राम्रो लेभलसम्म खेलेर नेपाल आउने योजना थियो’, उनले भने, ‘भारतको नागरिक नभएकालाई गाह्रो हुने रहेछ । त्यसैले १२ कक्षा पास गरेपछि नेपाल आएँ ।’

कुशल मल्लसँग इशान । दुबै पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।यू-१९ विश्वकप खेल्ने टोलीमा परे । श्रीलंका र पाकिस्तानविरुद्ध अभ्यास खेलमा मौका पनि पाए । तर, आधिकारिक खेलमा भने उनले मौका नै पाएनन् । २०१८ मा भएको प्रधानमन्त्री कपमा प्रदेश ३ बाट खेले । त्यही वर्ष एभरेष्ट पि्रमियर लिगमा चितवन टाइगर्समा थिए तर खासै अवसर पाएनन् ।

गत जेठमा भएको प्रधानमन्त्री कपमा भने उनले सबैको ध्यान तान्न सफल भए । सशस्त्र पुलिसविरुद्ध, १, प्रदेश ५ विरुद्ध २१ र गण्डकी प्रदेश विरुद्ध २६ रन बनाए । लेफ्ट हृयाण्ड ब्याट्सम्यान इशानले सुदूरपश्चिमविरुद्ध ५३ रन बनाए भने प्रतियोगिताको आफ्नो अन्तिम खेलमा ७९ रनको महत्वपूर्ण पारी खेले ।

त्यही प्रदर्शनको बलमा इशान यो पटक बन्द प्रशिक्षणमा परेका थिए । बन्द प्रशिक्षणका क्रममा ओपनिङ वा तेस्रो नम्बरमा खेलेका उनीबाट प्रशिक्षक प्रभावित बनेका छन् । इशान भन्छन्, ‘मेरो भूमिका ओपनिङ नै हो । वान विकेट डाउनमा पनि ब्याटिङ गर्न आउनेछु । त्यसअनुरुप तयारी पनि गरेको छु ।’

इशान क्रिकेटर मात्र होइनन् । उनी डाक्टर बन्ने बाटोमा छन् । अहिले काठमाडौं विश्वविद्यालय, धुलिखेलमा मबीबीएस पढिरहेको छन् । पहिलो सेमेस्टर सकियो ।

पढाई र क्रिकेट दुवैलाई सँगै अगाडि बढाइरहेका छन् । विहान ५ देखि ८ बजेसम्म क्रिकेट अभ्यास गर्छन् । ९ देखि ४ बजेसम्म पढ्छन् । ४ देखि ६ बजेसम्म फिटेशन ।

जब कलेज विदा हुन्छ, क्रिकेट खेल्न ग्रेट हिमालय क्रिकेट एकेडेमी, काठमाडौं आइपुग्छन् । ‘शुक्रबार र शनिबार कलेज हुँदैछ, त्यो दिन एकेडेमी आउँछु’ उनले भने ।
भोलिको दिनमा क्रिकेट र पढाइमध्ये एउटालाई रोज्नुपर्‍यो भने कुनलाई छान्नु हुन्छ भन्ने प्रश्नमा उनले नहिच्किचाई भने, क्रिकेट नै रोज्छु ।’

पाण्डेसँग गरिएको छोटो कुराकानीः

सिनियर टिममा पर्छु जस्तो लागेको थियो ?

यसका लागि मैले निकै मेहनत गरेको थिएँ । फिटनेशदेखि केके चाहिन्छ भनेर दाइहरुलाई सोधिरहन्थेँ । क्लोज क्याम्पमा मेरो प्रदर्शन पनि राम्रै भएको थियो । त्यसले टिममा पर्छु जस्तो लागेको थियो । परेँ, खुशी लागेको छ, उत्साह थपिएको छ ।

यू-१९ र सिनियर टिममा छनोट हुँदा कस्तो फरक महसुस गर्नुभएको छ ?

फरक धेरै हुन्छ । प्रतिस्पर्धाको स्तर छुट्टै हुन्छ, मेहनत फरक हुन्छ । यू-१९ भनेको एउटा उमेर समूह हो । जहाँ सिक्ने कुरा धेरै हुन्छ । सिनियर टिममा कसरी राम्रो प्रदर्शन गर्ने भन्ने हुन्छ । आश पनि धेरै हुन्छ । त्यसैले राम्रो खेल्ने भन्ने नै हो ।

क्लोज क्याम्पमा तपाईँलाई कुन भूमिका दिइएको थियो ?

भूमिका भनेको ओपनिङ वा तेस्रो नम्बरमा ब्याटिङ थियो । विशेषगरी मैले ओपनिङ नै गरेँ क्लोज क्याम्पमा । निकै राम्रो भयो ।

नेपालको ओपनिङमा समस्या छ । ओपनिङ ब्याट्सम्यानका रुपमा आउँदा कतिको दबाब होला ?

मैले सिधै आएर राष्ट्रिय टिममा ओपनिङ गरेको भए सायद मलाई गाह्रो हुन्थ्यो होला । तर मैले जुन दिनदेखि क्रिकेट सुरु गरे, त्यहि दिनदेखि ओपनिङ गर्दै आएको छु । यू-१२ मा खेल्दा नै ओपनिङ गर्थेँ । आज पनि ओपनिङमै खेल्छु । अब राष्ट्रिय टिममा पनि ओपनिङ गर्ने मौका पाएँ भने पनि फरक पर्ने छैन । मुख्य कुरा अवसरको रुपमा लिने कि दबाबका रुपमा भन्ने आफूमा भर पर्छ ।
यदि मैले एउटा खेलमा मात्रै पाएको अवसरलाई सदुपयोग गर्दै नेपाललाई जिताउन सकेँ भने मेरो मेहनत पूरा हुनेछ ।

तपाई त एमबीबीएसको पनि विद्यार्थी हुनु हुँदोरहेछ । क्रिकेट र पढाईलाई कसरी साथसाथै लैजानुहुन्छ ?

अहिलेसम्म दुबैलाई सँगै अगाडि बढाएको छु । पढाई पनि राम्रै भइरहेको छ । कलेजका शिक्षक तथा सिनियर दाईहरुबाट निकै साथ पाएको छु । उहाँहरुबाट निकै सहयोग भएको कारण मैले पढाईमा धेरै तनाव लिनु पर्दैन ।

क्रिकेट र एमबीबीएस मध्ये एउटालाई रोज्नु पर्‍यो भने कुनलाई छान्नु हुन्छ ?

क्रिकेट नै रोज्छु ।

परिवारबाट चाहिँ कत्तिको सहयोग मिलेको छ ?

परिवारबाट एकदमै साथ पाएको छु । क्रिकेट खेल या एमबीबीएस पढ् भन्ने गर्नु भएको छैन । त्यस्तो दिन आयो भने त्यतिबेलै विचार गरौंला, अहिले राम्रो गर्दै जानु भन्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment