लन्डन । हाल लन्डनमा बसोबासरत नेपाली चेली अन्जु सिग्देल (तेजमाया रेग्मी) ले विश्वका ७ प्रमुख म्याराथन पूरा गरेकी छन् ।
अगष्ट ३१ मा अष्ट्रेलियाको सिड्नी म्याराथन सफलतापूर्वक पूरा गरेर उनी विश्वका ७ प्रमुख म्याराथन पार गर्ने सम्भवत: नेपालीमूलकी प्रथम महिला बन्न पुगेकी छन् ।
यसअघि लन्डन, बर्लिन, न्यूयोर्क, बोस्टन, सिकागो, टोकियो म्याराथन पूरा गरेकी अन्जुले यस वर्ष सिड्नी म्याराथन दौडेर कीर्तिमान कायम गर्न सफल भएकी हुन् ।
आफ्ना दौडका सहयात्रीबीच ‘आइरन लेडी’ उपनामले पनि चिनिने अन्जुले म्याराथन दौडको यात्रा २०१९ को कोभिड माहामारीबाट सुरु गरेको जनाइन् ।
एभरेष्ट म्याराथन र अन्नपूर्ण म्याराथन समेत सफलतापूर्वक पूरा गरेकी अन्जुले ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टको आयोजनामा भएको १०० किमी अल्ट्रा र युरोपकै कठिन मानिने वेल्सको स्नोडोनिया अल्ट्रा म्याराथन पनि पूरा गरेको बताइन् ।
दुईवर्ष अघि एभरेष्ट म्याराथन पूरा गर्ने क्रममा उनले वादी समुदायका बालबालिकाको सहयोगार्थ ५ लाख रुपैयाँ च्यारिटी उठाएर हस्तान्तरण गर्न सफल भएकी थिइन् । उक्त च्यारिटीमा दान गरेर सहयोग गर्ने सबै सहयोगी र दाताप्रति उनले पुन: धन्यवाद समेत दिएकी छन् ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम, घर परिवारको दैनिक रेखदेख र परम्परागत रुपमा महिलाले निर्वाह गर्दै आएका जिम्मेवारीका कारण निकै व्यस्त जीवनचर्या बाबजुद आफूलाई प्राप्त हुन आएको फूर्सदिलो समय सदुपयोग गर्दै उनले दौडका लागि प्रशिक्षण गर्ने गरेको बताइन् ।
लायन्स क्लब अफ नारायणगढ, नेपाल रन यूके र नेपलिज ब्रिटिश कम्युनिटी यूके जस्ता च्यारिटीमूलक संस्थाहरुमा आवद्ध रहेर परोपकार र सामाजिक जागरण अभियानहरुमा समेत उनी संलग्न छिन् ।
प्रतिक्रिया 4