Comments Add Comment

मुख्यमन्त्रीले दीपावली गर्दा मन्त्रीहरुले कालो दिवस मनाउने !

संविधान दिवसका दिन प्रदेश २ मा के हुँदैछ ?

३१ भदौ, काठमाडौं । आगामी असोज ३ गते संविधान दिवस मनाउने विषयलाई लिएर प्रदेश २ सरकारका मन्त्रीहरु विभाजित भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले नेतृत्व गरेको मूल समारोह समितिले केन्द्र सरकारको निर्देशन अनुसार असोज २, ३ र ४ गतेको कार्यक्रम तय गरेको छ । जसमा तीन दिन दिपावली गर्नेदेखि सरसफाइलगायतका कार्यक्रम समावेश छन् ।

तर, प्रदेश सरकारले दिपावलीको तयारी गरिरहँदा केही मन्त्रीहरुले भने असोज ३ गते कालो दिवस मनाउने भएका छन् ।

प्रदेश २ मा गठबन्धन सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले दिवापली वा कालो दिवस दुबै कार्यक्रम नगर्ने औपचारिक निर्णय गरेको छ ।

‘आफ्ना कुरा राख्ने, विचार व्यक्त गर्ने स्वतन्त्रता पाएका छौं, यो पनि संविधान नै दिएको हो । प्रदेश सरकारको प्रमुख भएको नाताले कसरी यो संविधानलाई मान्दिनँ भनेर भन्न सक्छु ?’ मुख्यमन्त्री राउत

तर, प्रदेश २ को अर्को सत्तारुढ घटक राष्ट्रिय जनता पार्टी (राजपा) ले भने कालो दिवसका रुपमा मनाउने घोषणा गरिसकेको छ । राजपाले संविधान दिवसका दिन जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने र साँझ ७ बजे १५ मिनेटका लागि ब्ल्याक आउट गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको प्रश्न : कसरी संविधान मान्दिन भन्न सक्छु ?

समाजवादी पार्टीका केन्द्रीय नेतासमेत रहेका प्रदेश २ का मुख्यमन्त्री राउत संविधानमा भएका त्रुटिहरु सच्याउनुपर्ने आफूहरुको धारणा  यथावत रहेको बताउँछन् तर, परिवर्तनलाई संस्थागत गर्दै बनेको संविधानलाई नै मान्दिनँ भन्न नसकिने उनको धारणा छ ।

संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, धर्म निरपेक्षता लगायतका उपलब्धी पनि यही संविधानमा रहेको बताउँदै मुख्यमन्त्री राउतले अनलाइनखरसँग भने, ‘खासगरी मधेसमा संघीय पुनर्संरचना र प्रतिनिधित्वको सवाललाई लिएर कहीँ न कहीँ असन्तुष्टि छ । प्रदेश सरकारले अहिले पनि संघीय सरकारसँग अनुरोध गर्न चाहन्छ कि यो सबैको संविधान होस्, त्यसका लागि वातावरण बनाइदिनुस् ।’

संविधानकै कारण प्रदेश सरकार बनेको र आफू मुख्यमन्त्री भएको स्मरण गर्दै मुख्यमन्त्री राउतले भने, ‘आफ्ना कुरा राख्ने, विचार व्यक्त गर्ने स्वतन्त्रता पाएका छौं, यो पनि संविधान नै दिएको हो । प्रदेश सरकारको प्रमुख भएको नाताले कसरी यो संविधानलाई मान्दिनँ भनेर भन्न सक्छु ?’

उत्सव मनाउनुपर्ने कुनै कारण छैन : मन्त्री सोनल

यसैवीच, राजपाको नेतृत्व गर्दै प्रदेश सरकारमा गएका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भने ३ असोजमा उत्सव मनाउनुपर्ने कुनै कारण नभएको अनलाइनखबरलाई बताए । उनले त्यसदिन आफूहरु कालो दिवस कार्यक्रममा सहभागी हुने प्रष्ट पारे ।

११ वैशाख र ३ असोजलाई तुलना गर्दै मन्त्री सोनलले भने, ‘११ वैशाखमा व्यवस्था परिर्वतनको सबैले खुसी मनाएका थिए । ३ असोजमा हामी जेलमा थुनिएका थियौं र देशको आधा जनसंख्याले घरघरमा कालो झण्डा राखेर ब्लाक आउट गरेका थिए ।’

संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीलाई स्वीकार गर्दै संविधानमा भएका त्रुटि सच्याऊ भन्दा पनि चार वर्षसम्म सुनुवाइ नभएको उनले बताए । मन्त्री सोनल प्रश्न गर्छन्, ‘संविधान संशोधन नभएसम्म ०७२ भन्दा के फरक रह्यो र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment