Comments Add Comment

साफ यू–१८ च्याम्पियनसिपमा नेपालको लक्ष्य : उपाधिमा ह्याट्रिक

२ असोज, काठमाडौं । साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता असोज तीन (भोलि) देखि सुरु हुँदैछ ।

हलचोकस्थित एपीएफको खेलमैदानमा भोलि दिउँसो तीन बजे उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्य लिएको छ ।

समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र भुटान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा भने बंगलादेश, श्रीलंका र भारत रहेका छन् ।

बिहीबार भएको प्रि–म्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले उपाधि जित्ने लक्ष्य रहेको बताए ।

उनले भने, ‘हामीले योभन्दा अगाडि दुई पटक उपाधि जितिसकेका छौं । यो पटक हामीलाई निकै चुनौती छ । हामी उपाधि जित्दै ह्याट्रिक पूरा गर्ने लक्ष्यमा छौं ।’

यो प्रतियोगिताकै लागि भनेर नेपाली युवा टिमले पोखरा गएर अभ्यास गरेको छ । प्रतियोगिताको लागि निकै राम्रो तयारी गरेको भन्दै मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘हाम्रो लागि समूह चरण भन्दा पनि सेमिफाइनल गाह्रो हुनेछ । तर हामीले हरेक पोजिसनलाई सुधार गरेका छौं । हाम्रो राम्रो पक्ष नै मिडफिल्ड हो ।’

कप्तान जय गुरुङले घरेलु मैदानमा प्रतियोगिता खेल्न निकै उत्साहित रहेको भन्दै उपाधि घरैमा राख्ने बताएका छन्, उनले भने, ‘हामी सबै आत्मविश्वासी भएका छौं । तयारीको क्रममा हामीले मैत्रीपूर्ण खेल खेलेका छौं । हाम्रो लक्ष्य नै उपाधिमा ह्याट्रिक हान्ने हो ।’

नेपालले समूह चरणको अन्तिम खेलमा असोज पाँच गते भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

त्यस्तै, माल्दिभ्सका मुख्य प्रशिक्षक शाहज्ली मोहम्मदले नेपाल बलियो प्रतिद्वन्द्वी भए पनि अंक खोस्ने रणनीति भएको सुनाए । उनले भने, ‘हामीले करिब तीन महिनादेखि यो प्रतियोगिताको लागि तयारी गरेका छौं । राम्रो तयारी छ । हाम्रो लक्ष्य भनेको समूह विजेता हुँदै अगाडि बढ्ने हो ।’

प्रि–म्याच कन्फ्रेन्समा भारतका मुख्य प्रशिक्षक फ्लोयद पिन्टोले उपाधि जित्ने दाबी गरे । उनले भने, ‘भारतले उपाधि जित्छ सबैले भन्छन् तर हाम्रो लागि उपाधि जित्नु सजिलो छैन । तर यो पटक हामी कमजोर पनि छैनौं । उपाधि जित्ने लक्ष्य लिएर आएका छौं । हाम्रो तयारी राम्रो भएको छ ।’

त्यस्तै, बंगलादेशका मुख्य प्रशिक्षक एन्ड्रेव पिटर टर्नर नेपाल र भारत बलियो टिम भएको बताए । श्रीलंका र भुटानका प्रशिक्षकले पनि आफूहरु कमजोर टोली नभएको बताए ।

सन् २०१५ मा नेपालमा भएको पहिलो संस्करणको यू–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको थियो । तर दोस्रो संस्करणदेखि भने यू–१८ साफ च्याम्पियनसिप गर्न थालिएको हो । भुटानमा २०१७ मा भएको दोस्रो संस्करणको यू–१८ साफ च्याम्पियनसिपमा पनि नेपालले उपाधि जितेको थियो ।

नेपाली यू–१८ टिम

गोलकिपर : विशाल सुनार, सूर्य अधिकारी र पुजन होना

डिफेन्डर : विशाल बस्नेत, रणदिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ (कप्तान), मनिष थापा, कुशल फुयाँल, नितिन थापा

फरवार्ड : ब्रिजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment