Comments Add Comment

‘पाँच वर्षमा सिंहदरबार नाङ्गिन्छ’

‘ठूला ह्वेललाई समात्नुस्, अख्तियार तपाईंसँगै छ’

२ असोज, काठमाडौं । नयाँ संविधान बनेको चार वर्ष बित्दै गर्दा अहिले देशैभरिका स्थानीय तह एवं प्रदेश सरकारहरु आलोचित छन् । प्रदेश र स्थानीय तहहरु भ्रष्टाचारमा डुबेको गुनासो सर्वत्र सुनिँदैछन् । अझ त्यसमा पनि प्रदेश २ मा बढी भ्रष्टाचार मौलाएको आरोप काठमाडौंमा भेटिने नेताहरुले लगाउन थालेका छन् ।

सुशासनको मामिलामा सिंहदरबारतिर सोझिने औंलाहरु अहिले स्थानीय तह र प्रदेशतिर सोझिँदा यसले संघीयतामाथि प्रश्न उठाउनेहरुलाई उत्साहित बनाउन थालेको छ ।
यसै सन्दर्भमा हामीले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर तपाईको प्रदेशमा अरुतिर भन्दा बढी भ्रष्टाचार मौलाएको हो कि भनेर सोध्यौं ।

अनलाइनखबरको प्रश्नको जवाफमा मुख्यमन्त्री राउतले संघीय सरकारतर्फ संकेत गर्दै भने, ‘अख्तियार तपाईँसँग छ, अरु छानविन गर्ने संयन्त्र तपाईहरुसँगै छ, प्रदेशसँग त छैन । ठूला ह्वेलहरुलाई समात्नुस्, काण्डैकाण्डमा मुछिएकाहरुलाई कारबाही गर्नुस् । त्यो कारबाहीमा म एक कदम अगाडि बढेर साथ दिनेछु । २/४ जना इन्जिनियर, खरदारलाई समातेर भ्रष्टाचार अन्त्य हुन्छ र ?’

मुख्यमन्त्री राउतले अबको पाँचवर्षमा सिंहदरबारको ढिलासुस्ती र निकम्वापन नांगेझार हुने दाबी गरे । अहिले स्थानीय तहमा जे जति विकास निर्माणका काम भइरहेका छन्, ती प्रदेश र स्थानीय सरकारले गरिरहेको बताउँदै मुख्यमन्त्री राउतले केन्द्रका ठूला आयोजनाहरु कुनै पनि समयमा पूरा नहुने ठोकुवासमेत गरे ।

संविधान दिवसको पूर्वसन्ध्यामा मुख्यमन्त्री राउतसँग सुशासनको विषयमा केन्द्रित रहेर अनलाइनखबरले गरेको कुराकानीको सारसंक्षेप–

विगतमा सिंहदरबारमा हुने ठूल्ठूला भ्रष्टाचार काण्डहरु अब प्रदेश र स्थानीय तहमा सरेका हुन् ? त्यसमा पनि प्रदेश २ माथि नै किन बढी प्रश्न उठिरहेको छ ? सुशासनको सवालमा प्रदेश २ कहाँ छ ?

सातवटा प्रदेशमा ७ जना मुख्यमन्त्री छन् । मबाहेक शायदै कसैले अख्तियार प्रमुख नवीन घिमिरेलाई भेटेर प्रदेशभित्र भ्रष्टाचार कसरी नियन्त्रण गर्न सकिन्छ, सहयोग गर्नुस् भनेको होला । प्रदेशका प्रमुख सचिव र मुख्य न्यायाधिवक्तासहित गएर मैले अख्तियार प्रमुखलाई भेटेको छु र उनले दिएको सुझाव अनुसार प्रदेश सरकारबाट सुशासन विधेयक प्रदेशसभामा गएको छ । एक साताभित्र यो विधेयक पास हुन्छ होला ।

आज काण्डैकाण्डको देश बनेको छ । कुल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय, शिक्षा, स्वास्थ्य र गरिबीको सूचक कहाँ छ ? यसको दोष कसले लिने ? प्रदेशमा सुशासन कायम गर्नुछ भने मुख्यमन्त्रीले आफैंबाट सुरु गर्नुपर्छ । आफ्नो काम, व्यवहारबाट प्रमाणित गर्नुपर्छ । संघमा प्रधानमन्त्रीबाट सुरु गर्नुपर्छ । २÷४ जना इन्जिनियर, खरदारलाई समातेर भ्रष्टाचार अन्त्य हुन्छ र ?

ठूला ह्वेलहरुलाई समात्नुस्, काण्डैकाण्डमा मुछिएकाहरुलाई कारबाही गर्नुस् । अख्तियार तपाईँसँग छ, अरु छानविन गर्ने संयन्त्र तपाईहरुसँगै छ, प्रदेशसँग त छैन । र, त्यो कारवाहीमा म एक कदम अगाडि बढेर साथ दिनेछु ।

प्रदेश २ मा भ्रष्टाचार भएकै छैन त ?

मैले जेठपछि कुनै काम गर्न बाँकी राख्दिनँ भनेको मान्छे । एक वर्षमा चारवटा सचिव फेरिए । उनीहरु सबैको बसाई अवधि जोड्दा चार महिना पनि पुग्दैन होला । कसले गरिदिन्छ काम ? टिप्पणी कसले उठाइदिने ? कसले बजेट कार्यान्वयन गरिदिने ? बाँकी रहेको पैसा अन्तिम समयमा खर्च गर्नुपर्ने अवस्था आयो । तैपनि तपाईंहरु गाउँ–गाउँमा गएर हेर्नुस्, सडक, विद्यालय, अस्पताल मर्मत सम्भार वा निर्माण भइरहेका छन् भने त्यो प्रदेश सरकारको हो । मेरो दाबा छ– कि त प्रदेशसभा सदस्यको बजेटले गरेको हो कि प्रदेश सरकारको कार्यक्रम हो । तर, हामीकहाँ अरुलाई मात्र दोषी देख्ने मानसिकता छ । सिंहदरबारमा बस्नेहरुले पनि त्यही चश्माले हेर्छन् ।

प्रदेश सरकार बनेको डेढ वर्ष र स्थानीय सरकार बनेको भर्खर २ वर्ष भयो । १८ वर्षसम्म स्थानीय तह सिंहदरबारका कर्मचारीहरुले स्थानीय तह चलाएका होइनन् र ? त्योबेला भ्रष्टाचारको अवस्था के थियो ? मुलुकको बर्बादी यही डेढ वर्षमा भएको हो र ?

१८ वर्षसम्म स्थानीय तह सिंहदरबारका कर्मचारीहरुले स्थानीय तह चलाएका होइनन् र ? त्योबेला भ्रष्टाचारको अवस्था के थियो ? मुलुकको बर्बादी यही डेढ वर्षमा भएको हो र ?

तर, अहिले बढी आलोचना प्रदेश र स्थानीय तहकै भइरहेको छ नि ? किन ?

यसको एउटा कारण छ, अबको ५ वर्षमा अहिलेसम्म एकात्मक शासनको निकम्मापन जनतालाई थाहा हुन्छ । यो पनि भन्छु कि जुन–जुन प्रोजेक्ट संघीय सरकारको जिम्मा छ, त्यो पूरा हुँदैन । हुलाकी सडक केन्द्रको मातहतमा छ, यो पूरा हुँदैन । किनभने, यिनीहरु निकम्मा छन् । र, जतिसुकै आलोचना गरे पनि ३० औं वर्षसम्म राज्यले ध्यान नदिएको विकास अहिले स्थानीय तथा प्रदेश सरकारमार्फत भइरहेको छ ।

अब स्थानीय तह र प्रदेशले आफ्नो कामबाटै सिंहदरबारलाई जवाफ दिनेछ भन्न खोज्नुभएको हो ?

म विश्वस्त छु, यो पाँच वर्षले सिंहदरबारको निकम्मापन, ढिलासुस्ती नाङ्गिन्छ । म यो पनि भनिरहेको छैन कि प्रदेश र स्थानीय तहमा सबै ठीक छ, दूधले धोएको छ । किनकि समाज उही छ, सोच उही छ, कर्मचारी संयन्त्र त्यही छ र पार्टी सिस्टम उही छ । यो सब रातारात सुधार हुँदैन । तर, सुधार गर्न इमान्दार प्रयास गर्नुपर्छ ।

र, हामीले आज पनि हाम्रो हातमा भएको विषयमा सकेसम्म छिटो काम गरेका छौं । एसिड आक्रमणमा परेकी मुस्कान खानुतको कुुरा गर्नुहुन्छ भने ५ लाख दिने घोषणा गरेका थियौं । मैले भेटेर भनेको छु कि उपचारको सबै खर्च व्यहोर्छौं । यति मात्र होइन, प्रदेश सरकारले सहिद परिवारका एकजना सदस्यलाई जागिर दिएको छ ।

केही पहिले बारा र पर्सामा टोनार्डाे आँधी आउँदा पनि सिंगो सरकार २४ घन्टाभित्र गाउँघरमा पुगेको छ । पुलिस छैन, प्रशासन छैन, तैपनि हामी जनताको घरदैलोमा पुगेको छ । यसले उनीहरुमा साहस बढाएको छ ।

मलाई खुसी लाग्छ कि प्रधानमन्त्रीको प्रयासमा नेपाली सेनाले घर निर्माणमा राम्रो काम गरेको छ । सेनालाई स्यालुट गर्छु । हाम्रो पनि यसमा सहयोग रह्यो । अस्ति बाढी आयो । तर, संघीय सरकारले एउटा माखा मारेको छैन । मैले प्रधानमन्त्रीलाई भेटेर भनेँ । उहाँले म जान चाहन्छु पनि भन्नुभएको थियो, तर स्वास्थ्यले साथ दिएन । अरु मन्त्रालयको काम भने त्यस्तो छैन ।

प्रदेश सरकारले शहीद परिवारलाई बाँडेको भैंसी त पूर्वमन्त्रीले लगेको खबर आयो नि ?

अहिले पनि धेरै मानिस कृषिमा आधारित छन् । त्यसैले केही सहयोग होस् भनेर भैंसी दिएका हौं । र, यो सुविधा मधेस आन्दोलनका सहिद परिवार मात्र होइन, घाइते परिवारलाई पनि दिने भन्ने थियो ।

म यो कार्यक्रम शतप्रतिशत सफल भयो त भन्दिनँ, तर धेरैजसोले आफ्नो जिविकोपार्जन त गरेका छन् । जहाँसम्म मन्त्रीको कुरा छ, साँच्चै भन्ने हो भने मधेस आन्दोलनमा पूर्वमन्त्रीले कुटाई खाएका थिएनन् र ? लिने–नलिने सम्वन्धित व्यक्तिमा पनि भर पर्छ ।

प्रदेश २ मा नेकपा र नेपाली कांग्रेस प्रतिपक्षमा छन्, उनीहरुले सरकारलाई अवरोध गरेका छन् कि सहयोग गरिरहेका छन् ?

मैले भन्ने गरेको छु, यो (मुख्यमन्त्री) चियर भनेको घुम्दै जाने हो । आज हामीले जुन संस्कार बसाउँछौं, भोलि त्यसैले निरन्तरता पाउने हो । तर, मलाई खुसी लाग्छ, प्रदेश २ मा नेकपा र कांग्रेसले सहयोग गरेका छन् । अरु कुनै पनि प्रदेशमा सर्वसमतले बजेट पास भएको छैन होला । तर, प्रदेश २ मा भएको छ ।

अन्त्यमा, रामायण पढेर हामी ‘रामराज्य’ को कल्पना गर्छौं । प्रदेश २ को राजधानी जनकपुरधाम भगवान रामको ससुराली हो । अब यो प्रदेशको छवि उल्ट्याएर भ्रष्टाचार नहुने ‘राम राज्य’ जस्तो बनाउन सकिँदैन ?

कसैले बदनाम गर्दैमा खुट्टा नकमाउनुस् । आफ्नो कर्तव्य इमान्दारिताका साथ निभाउनुस् । यहाँ मलाई नराम्रो नभन्ने मान्छे पनि छैनन् । राम्रो भन्ने मान्छे पनि नभएका होइनन् । तर, समाजमा मेरो आलोचना नभए, अवगुणहरुलाई बाहिर नल्याइए मैले कसरी थाहा पाउने ? स्वस्थ आलोचना त हुनुपर्छ ।

समाजको रुपान्तरण आफैंमा लामो यात्रा हो । त्यो (रामराज्यको) समाजको परिकल्पना गरेर बस्नुभन्दा आफूसँग भएको स्रोत साधानबाट जे सम्भव हुन्छ, त्यो गर्न प्रयास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment