Comments Add Comment

१० बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिक रूपमा  उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान उपाध्यक्षसमेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

भूतपूर्व गोर्खा सैनिकहरूको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणासभामार्फत आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए।

विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिएपछि आचार्यले संघको आगामी नेतृत्वका लागि  उम्मेदवारी घोषणा गरेका हुन्।

 ‘ एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा  उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले भने, ‘विगतझैं यो अभियानलाई सबै अग्रज, मित्र र शुभचिन्तकहरूको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त छु।’

उम्मेदवारी  घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्पसमेत गरेका छन्। उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्।

आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बाैद्धिक तथा आर्थिक लगानीमार्फत भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढने बताएका छन्।

त्यसैगरी, वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तीमा दोब्बर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरुको समस्या समाधानका लागि एनआरएनए हटलाइनको व्यवस्था गर्ने  याेजना पनि उनले अघि सारेका छन्  ।

एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सन्जाल बनाइ उनीहरुसँग रहेको सीप, स्राेत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिबद्धता पनि  उनले व्यक्त गरेका छन् ।

उनले एनआरएनएलाई  सबै सदस्यहरुको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफले उम्मेदवारी  दिएको बताए। उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रक्रियामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावनाअनुरुप निकर्षमा पुर्याउन निर्णायक पहल गर्ने बताए।

उनले नागरिकता प्राप्तिको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउनसमेत पहल गर्ने बताएका छन्।

‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भने,  ‘समान पेन्सनका साथै आफ्ना बयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन छ, हाल बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसँग मैले पहल गर्नेछु।’

अध्यक्षका दाबेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरुबाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए। उनले बढीभन्दा बढी मुलुकहरुसंग द्विपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो  कर मुक्ति सम्झौताहरु गर्न नेपाल सरकारसँग संस्थागत पहल गर्ने समेत प्रतिबद्धता गरे। त्यसैगरी नेपालका सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताए।

नयाँ समिति निर्वाचित भएको एक महिनाभित्र गत मार्चमा काठमाडौंमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारबीच दश अर्ब रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए।

संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यले व्यक्त गरेका छन्।

‘एनसीसी तथा आइसीसीमा नेतृत्व चुन्न अनलाईन भोटिङ्ग प्रणाली सुरु गर्ने व्यवस्थाका लागि लाग्नेछु,’ उनले भनेका छन् ‘विदेशमा हुर्किरहेका दोश्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता, र संस्कृतिसंग जोडनु मेरो उच्च प्राथमिकता हुनेछ।’

घोषणासभामा आचार्यले संस्थापक, पूर्वअध्यक्षहरु एवं विभिन्न देशमा पुगेर एनआरएनए अभियन्ता, सदस्य एवं पदाधिकारीहरुको सल्लाहमा अध्यक्षमा उम्मेद्वारी दिने निष्कर्षमा पुगेको बताए। आफूले एनआरएनलाई नयाँ शीराबाट अगाडि बढाउने बताउँदै अब दुई वर्षभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुको अपनत्व महसुस हुने किसिमको साझा चौतारीको रुपमा संघको विकास गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment