
८ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा अलैंचीको उत्पादन घट्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।
अलैंची उत्पादनका लागि प्रख्यात सिन्धुपाल्चोकको पाचँपोखरी थाङपाल गाउँपालिकाको थाङपालकोट, भोताङलगायतका ठाउँमा हाल उत्पादन घट्न थालेको हो ।
४ वर्षअघि अलैंचीका लागि पकेट क्षेत्र घोषणा गरेको उक्त गाउँपालिकामा यसअघि ५ क्वीन्टल उत्पादन हुने गथ्र्यो तर दुई वर्षयता अलैंची उत्पादन घटेको छ । हाल २ क्वीन्टल मात्रै उत्पादन हुने गरेको किसान बताउँछन् ।
अलैंचीको फूल खेल्ने बेलामा अत्याधिक हिउँ परेको र रोगका कारण बोट सुक्दै जान थालेपछि उत्पादन घटेको स्थानीय किसानको भनाइ छ ।
थाङपालकोट-४ का स्थानीय किसान रामकुमार बस्नेतले सुरुका वर्षहरुमा अलैंची राम्रै उत्पादन भएको तर अहिले त अलिअलि भएको पनि कुहिएर नोक्सान हुन थालेका गुनासो गरे ।
‘अलैंची बेचेको पैसाले ज्यालासमेत तिर्न मुक्किल हुन्छ नाफा त परै जाओस् लगानी पनि नउठ्ने अवस्था छ, । अब अलैंचीबाट उभो लाग्ला जस्तो छैन,’ उनले भने ।
अहिले अलैंचीले भाउ पनि पाएको छैन । बस्नेतले भने, ‘पहिले हामीले १ किलो कै २५ सयसम्म बेचेका थियौं अहिले त ५ सय पाउन पनि गाह्रो छ । भारतले उनीहरुको अलैंची पहिले बेच्छ महंगोमा हामीलाई जहिले मारमा पार्छ ।’
उनले ८ रोपनी क्षेत्रफलमा लगाएको अलैंचीले अहिले २ लाख पनि कमाउन नसकेको गुनासो गरे ।
‘सुरुमा राम्रै उत्पादन पनि राम्रै भएको थियो । विस्तारै उत्पादन घटेर ज्यालासमेत नउठने भएको छ । अब के गर्ने भन्ने तनावमा छौं,’ स्थानीय किसान मोहन श्रेष्ठले भने ।
स्थानीय किसानले ३ वर्षअघि प्रतिकिलो अलैंची २५ सय रुपैयाँसम्म बेचेका थिए । अहिले भट्टीमा सुकाएको अलैंची किलोको ५ सय रुपैयाँमा विक्न पनि मुश्किल छ ।
सुरुसुरुमा किसानले अलैंची बेचेर वर्षमा २ देखि ७ लाखसम्म आम्दानी लिएका थिए ।
अघिल्लो वर्षहरुमा उत्पादन भएको अलैंचीले पनि उचित मूल्य पाएको थिएन । केही किसानले भने घाटा खाएर पनि सस्तोमा बिक्री गरेका थिए ।
सरकारले अलैंचीको मूल्यसमेत तोकेको छैन । सरकारले मूल्य नतोके पनि व्यापारीले आफुखुसी मूल्य तोकेर खरिद गरिरहेका छन् ।
अलैंचीको उत्पादन घट्दै जान थाले पनि कृषि प्राविधिकको टोली अहिलेसम्म अध्ययनको लागि त्यहाँ नपुगेको स्थानीयले बताएका छन् ।
पाचँपोखरी थाङपाल गाउँपालिकाका ३० बढी घरपरिवारले झण्डै ५० रोपनी जग्गामा अलैंची लगाएका छन् ।
किसानहरुले सुरुका वर्षमा अलैंचीका बिरुवा बेचेर पनि मनग्य आम्दानी गरेका थिए । तर, हाल बिरुवासमेत विक्नै छाडेको किसानहरुले बताउँछन् ।
पाचँपोखरी गाउँपालिका वडानम्बर १, ३ र ४ मा पानीको सुविधा पुगेको स्थानमा अलैंची लगाउने गरेका छन् ।
केही किसानहरुले भने अलैंची खेती छाडेर पुनः धान खेतीमा फर्किन थालेका छन् ।
प्रतिक्रिया 4