Comments Add Comment

पूर्वराष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहोर्ने

९ असोज, काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले पूर्वराष्ट्रपति यादवको भारतमा भएको उपचार* खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

पूर्वराष्ट्रपति डा. यादवको पेटमा क्यान्सर देखिएपछि तीन वर्षअघि अमेरिकामा उपचार गरिएको थियो । अमेरिकाबाट स्वास्थ्यलाभ गरेर फर्किएपछि डा. यादवले हरेक वर्ष भारतको चण्डीगढस्थित पीजीआईएमईआर अस्पतालमा नियमित चेकजाँच गराउँदै आएका छन् ।

करिब दुईसाता अघि रगतमा केही खराबी देखिएको आशंकापछि डा. यादव चण्डीगढ गएका थिए । चण्डीगढबाट फर्केर हाल घरैमा आराम गरिरहेका डा. यादवले अनलाइनखबरसँग भने, ‘म अहिले एकदम ठीकठाक छु, तन्दुरुस्त छु । अस्पताल जानुपर्ने अवस्था छैन ।’

पूर्वराष्ट्रपतिका निजी सचिव किरण पन्थले अनलाइनखबरसँग भने, ‘उहाँ अहिले अस्पताल जानुभएको छैन, घरैमा हुनुहुन्छ र स्वस्थ्य हुनुहुन्छ ।’

यसैवीच, सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको विषयमा प्रतिक्रिया माग्दा पूर्वराष्ट्रपति डा. यादवले अनलाइनखबरसँग भने, ‘सरकारले आफ्नो कर्तव्य निभाएको हो, यसमा म के भनौं, म सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

 *  (नोट-  यसअघि प्रकाशित समाचारमा पूर्वराष्ट्रपति डा. यादव अस्पतालमा भर्ना भएको भन्ने गलत विवरण पर्न गएकोमा क्षमा याचनासहित सच्याइएको छ – सम्पादक ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment