Comments Add Comment

एमटी १५ : गज्जबको लुक्स र पर्फर्मेन्ससहित फिचर्सको प्याकेज (रिभ्यू भिडियो)

२८ असोज, काठमाडौं । नेपाली युवा पुस्ता बाइकमा क्रेजी छ । यो पुस्ता जस्तो पायो उस्तो उत्पादनमा चित्त बुझाउँदैन । त्यसैले जापानीज ब्रान्ड यामाहाले एफजी सिरिजमार्फत प्राप्त गरेको सफलतामा अर्को इँटा थप्ने गरी एमटी सिरिजलाई नेपालमा उतारेको छ । एमटी सिरिजलाई ल्याएर यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ठूलो युवा जमातको एउटा अर्को सपना पुरा गरिदिएको छ ।

नेपालमा एमटी सिरिज भित्रिने खबर सुन्नासाथ जति बाइकप्रेमीहरु जति उत्साहित उत्साहित थिए, त्योभन्दा बढी यसको चर्चा चलिरहेको देखेर कम्पनीमा आत्मविश्वास भरिएको थियो ।

बहुप्रतिक्षित एमटी सिरिज अन्तरगत पहिलो बाइक नेपाल आयो, एमटी १५ । नेपालमा एमटी १५ सार्वजनिक भएकै दिन ठूलो समूहले कार्यक्रम स्थलमै चावी बुझ्यो । यसले नै झल्काउँथ्यो कि एमटी सिरिजको प्रतिक्षा नेपालमा कति ब्यग्र बनेको थियो ।

एमटी १५ लाई ‘द डार्क वारियर’ उपनाम दिइएको छ । यो वर्षको नाडा अटो शोमा एमटी १५ आकर्षणको केन्द्रमा नै रह्यो ।

भिडियो हेर्नुस्

लुक्सको चर्चा

यो बाइक मुख्य रुपमा लुक्सका कारण बढी चर्चामा छ । हाइपर नेकेड प्लेटर्फममा बनेको हो, एमटी १५ । यो बाइकको अगाडिको लुक्स निकै आक्रमक खालको देखिन्छ । पछाडिबाट हेर्दा पनि यसको बनोट लोभलाग्दो छ ।

ओभरअल लुक्स र फिचर्सलाई हेर्दा यो बाइक नेपाली बजारको बलिो योद्धाजस्तो देखिन्छ । हालको युवा पुस्ताले खोजिरहेको डिजाइन र फिचर्ससहित आएको छ एमटी १५ ।

यो अघि, पछि वा दायँबायाँ जता बाट हेर्नुस्, गज्जबकै लाग्छ । स्मार्ट र युनिक डिजाइन थिमहरुले यसलाई फरक रुपमा उभ्याइदिएको छ ।

एमटी १५ को डिजाइन र प्रविधि एमटी डीएनएबाट प्रभावित छ । डेल्टा बक्स फ्रेममा बनेको हो, यो बाइक । कहिल्यै यामाहाका बाइक नचढेकाहरुले पनि यसलाई आँखा लगाउन सक्छन् । किनभने अब्बल लुक्स र प्रतिस्पर्धात्मक मूल्यले एकपटक सबैलाई यो बाइकमा चढ्ने रहर जगाइदिन सक्छ ।

पि्रमियम बाइकमा हुने धेरै किसिमका फिचर्स लोड भएकाले पनि नेपाली युवापुस्ताको चासो यसमा छ । सानो देखिने ‘बाई फंक्सनल’ हेडलाइट, भर्टिकल टेललाइटसहितको छोटो टेल र अन्य ‘ग्राफिक्स’ तथा ‘फिनिस’ले एमटीको ‘एग्रेसिभ’ स्टाइललाई झल्काउँछ ।

शक्तिको गुरु

यो बाइक निकै शक्तिशाली पनि छ । नयाँ एमटी १५ मा लिक्विड कुल्ड इन्जिन छ । ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ र ६ स्पिड ट्रान्समिसन छ ।  १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिनमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ र ‘असिस्ट एन्ड स्लिपर’ क्लच लगायतका अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ ।

१३८ किलोग्राम वजनको यो मोटरसाइकलको ग्राउन्ड क्लेयरेन्स १५५ एमएम छ । त्यसैले पनि अफरोडमा यसले जादु नै छर्छ । यो बाइक शहर र राजमार्गदेखि पाखापखेराका कच्ची सडकमा पनि सजिलै आफ्नो क्षमता देखान सक्ने खालको छ ।

यसमा ‘इन्जिन वार्म अप टाइम’ कम गर्न थर्मोस्ट्याट् कुलिङ सिस्टम जडान गरिएको छ । ‘हाई आरपीएम’मा स्पष्ट आवाजका लागि तीन तह भएको मफ्लर प्रयोग गरिएको छ । यसले राइडरलाई बाइक चलाइरँदा सुसूचित गराइराख्छ ।

कम्पनीको भाषामा भन्दा ‘एमटी’को पूर्ण रुप ‘मास्टर अफ टर्क’ हो । यसमा भएको इन्जिनले १०००० आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ एमटी १५ मा प्रयोग भएको भीभीए प्रविधिले कम र मध्यम ‘आरपीएम’मा पनि टर्कमा कुनै सम्झौता गदैन । अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्दै राइडरलाई जस्तोसुकै बाटोमा पनि गज्जबको अनुभव दिलाउँछ  ।

नयाँ एमटी १५ फूर्तिलो ‘एक्सिलेरेसन’, शानदार तथा सजिलो ‘ह्यान्डलिङ’ र ‘एड्भान्सड डिजाइन’को सबैभन्दा उत्कृष्ट फ्युजन हो । जसलाई बाइकमा जुन ‘टर्क’ र ‘एक्सिलेरेसन’ अनुभव गर्न मन छ, त्यो राइडरलाईलाई एमटी १५को विकल्प कमै उपलब्ध छ ।

यसै पनि एमटी सिरिजका बाइकहरु ‘पावर’ र ‘एजाइलिटी’का लागि लोकप्रिय छन् । त्यसमाथि एमटी १५मा प्रयोग गरिएका फिचर्स अन्य यसै सेमगन्टका बाइकमा बिरलै पाइन्छन् ।


यसको इन्जिनको बास्तविक पर्फमेन्स सडकमा बाइक लिएर उत्रिनेलाई मात्र थाहा हुन्छ, शब्दमा वर्णन गर्दा त्यो पर्याप्त हुन सक्दैन ।

एमटीमा ‘ए एन्ड एस क्लच’मार्फत गियर परिवतन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउन खोजिएको छ । त्यसको सकारात्मक प्रभाव यो बाइकमा परेको देखिन्छ ।

वैज्ञानिक बनोट

बाइकमा सिटको अरेन्जमेन्ट गज्जबले गरिएको छ । सिट र ह्यान्डलबीचको दूरीको संयोजन वैज्ञानिक छ । त्यसैले यो बाइक यात्राका लागि सजिलो पनि छ । यसको टर्निङ रेडियस पनि राम्रो छ । मोडहरुमा यसले गज्जबको टर्निङ अनुभव दिन्छ ।

एमटी १५ मा १४० एमएमको रियर टायर छ । यसले बाइकलाई दमदार बनाउन भूमिका खेलेको छ । २८२ एमएमको सिंगल च्यानल एबीएससहित प|mन्ट डिस्क छ, यसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइदिएको छ ।

नेपाली राइडरहरु अहिले ‘स्पिड’ र ‘कन्ट्रोल’प्रति निकै चनाखो भएकाले मोटरसाइकलिङको नयाँ ट्रेन्ड स्थापित हुुँदैछ । प्रयोगहरु गर्न रुचाउने राइडरहरुको लागि एमटी १५ उत्कृष्ट विकल्प बन्न सक्ने क्षमता देखिन्छ ।

यामाहाले एमटी सिरिजलाई ‘डार्क साइड अफ जापान’ ट्याग दिएर प्रचारप्रसार गर्छ । जसरी जापानलाई एउटा पारम्परिक, शिष्ट र अनुशासन बोक्ने बोक्ने समाज मानिन्छ, त्यसरी नै त्यहाँ नयाँ फेसन र आइडियाको उत्पादन गर्ने गतिशिल धार पनि विकसित छ ।

त्यहिँ अँध्यारो र अपारम्परिक तर सिर्जनशील पाटोबाट एमटी प्रभावित छ, जसले राइडरलाई रोमाञ्चक उर्जा, अविश्वसनीय चुस्तता र आक्रामक डिजाइनको अनुभव गर्ने मौका दिन्छ । एमटी १५ त्यसकै एउटा संयोजन हो ।

विकल्पहीन विकल्प

एमटी १५सँग लामो यात्रा पनि आरामदायी हुन्छ । किनभने यसको फ्रन्टमा टेलिस्कोपिक र्फक र रियरमा स्वीङ्ग्राम सस्पेन्सन सिस्टम छ । यसमा डिजिटल कन्सोल, पास स्वीच, क्लक लगायतका फिचर्स पनि छन् । एलईडी हेडलाइट र टेल लाइट प्रयोग गरिएको छ । यसमा डिजिटल टेकोमिटर, स्पीडोमिटर र फ्युल गेज छ ।


माइलेजको मामिलामा पनि यो सशक्त छ । यसले अधिकतम् ११८ किलोमिटर प्रतिघण्टाको गति दिन्छ । यसमा १० लिटरको फ्युल ट्यांक छ । बाइकको उचाई ८१० एमएमको छ ।

यति धेरै विशेषतासहित आएको एमटी १५ को मूल्य पनि प्रतिस्पर्धी छ । ४ लाख २४ हजार नौ सय रुपैयाँमा यसलाई आफ्नो बनाउन सकिन्छ । रंगहरुको विकल्प पनि छन्, ‘मेटालिक ब्ल्याक’ र ‘डार्क म्याट ब्लु’ गरी दुई एक्साइटिङ कलरमा एमटी उपलब्ध छ ।

समग्रमा एमएडब्लुले एटी १५लाई नेपाली युवा पुस्तामाझ एउटा आकर्षक र भरपर्दो बाइकका रुपमा प्रस्तुत गरेको छ । जस्तोसुकै बाटोमा बाइक चलाइरहँदा पनि आत्मविश्वास, सुरक्षितपना र रोमाञ्चकता अनुभव गर्ने हो भने एमटी १५ विकल्प बजारमा सायदै उपलब्ध होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment