Comments Add Comment

एनआरएनएको महासचिवमा कांग्रेस भर्सेस कांग्रेस !

कम्युनिस्ट र मध्यपूर्वको भोट तान्ने दाउमा डीबी क्षेत्री

२८ असोज, काठमाडौं । महिनौं अघिदेखि एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवारहरुको चर्चा चल्यो । बेलायतका डा. हेमराज शर्मा, अमेरिकाबाट डा.केशव पौडेल, मध्यपुर्वका डम्बरबहादुर (डीबी) क्षेत्री र बेल्जियम निवासी व्यवसायी जानकी गुरुङको नाम चुनावको दुई दिन अघिसम्म महासचिवका लागि चर्चामा रह्यो ।

अन्ततः सोमबार अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले जानकी गुरुङलाई महासचिवमा अघि सारेपछि चुनावी रोचकता झनै रोचक बनेको छ । किनभने, वामपन्थी प्यानलका अध्यक्ष कुमार पन्त समूहबाट उम्मेदवार बनेका डा. हेमराज शर्मा पनि प्रजातान्त्रिक विचारधारकै ठानिन्छन् भने जानकी गुरुङ पनि युरोपबाट कांग्रेसको राजनीतिमा सक्रिय छिन् ।

अर्थात्, यसपटक महासचिव पदका लागि मुख्य प्रतिस्पर्धा कांग्रेस भर्सेस कांग्रेसकै लडाइँ हुने देखिएको छ ।

आचार्य समूहलाई कांग्रेस निकटको आधिकारिक समूह ठानिएकाले पनि विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुले गुरुङलाई नै भोट गर्न सर्कुलेशन गर्ने सुत्रको दाबी छ ।

तर, अर्का प्रत्यासी डा. शर्मा प्रजातान्त्रिक पृष्ठभूमिका भए पनि कुमार पन्तको टीमबाट महासचिवमा उठेकाले उनले कम्युनिस्ट समर्थकको भोट तान्ने निश्चित छ ।
यो पनि पढ्नुहोस एनआरएनए महाधिवेशन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

अर्कोतर्फ जानकी गुरुङ महिला र आदिवासी–जनजाति समुदायकी भएकाले महिला र जनजातिको भोट उनले आकर्षित गर्न सक्ने विश्लेषण उनी निकटस्थहरुको छ ।

महासचिवमा तीनजना आकांक्षी भएकाले सहमति जुटाउन आचार्य समूह अप्ठ्यारोमा थियो । तर, महासचिवकै आकांक्षी डा. पौडेल उपाध्यक्षमा चुनाव लड्न तयार भएसँगै आचार्य समूहलाई केही राहत मिलेको देखिन्छ । तर, मध्यपूर्वका डीबी क्षेत्रीको नाम आचार्य समूहसँग जोडिँदै आएको भए पनि उनी सोमबार आचार्य समूहको पत्रकार सम्मेलनमा देखिएनन् ।

अहिलेसम्म एनआरएनएको महासचिवका लागि दाबी गरिरहेका तीन जनाको संक्षिप्त विवरण यस्तो छ:

डा. हेमराज शर्मा (बेलायत)

बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक डा.शर्मा एनआरएनए अभियानमा नछुट्ने नाम हो । डेढ दशक लामो संघको अभियानमा कुनै न कुनै रुपमा उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।

डा. शर्मासँग बेलायतको लोकप्रिय विश्वविद्यालय लिभरपुलमा सिनियर रिसर्च लेक्चरको अनुभव छ । सन् १९९७ मा उनले जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्ष गरेका थिए । सन् १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । डा. शर्माले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पीएचडी गरे ।

डा. शर्मा पूर्वअध्यक्ष जीवा लामिछानेका घनिष्ठ मित्र हुन् । लामिछाने अध्यक्ष हुँदा उनी संघका प्रवक्ता थिए ।

अध्यक्षका प्रत्यासी पन्तले आफ्नो कार्यसमितिमा बौद्विक महासचिव खोजी गरेकाले शर्मा पहिलो रोजाइमा परेका हुन् । नेकपा निकटकै उम्मेदवारलाई महासचिव बनाउन पन्तलाई दबाव आए पनि उनले त्यसलाई इन्कार गर्दै डा. शर्मालाई रोजेका छन् ।

डा. शर्मासँग गैरआवासीय नेपाली संघ जापानको महासचिव, दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र प्रवक्ता हुँदै विगत तीन कार्यकाल संघको सल्लाहकारमा रहेर काम गरेको अनुभव छ ।
यो पनि पढ्नुहोस एनआरएनएको कार्यालयमा ‘नेपाली पारा’ देखियो !

गत वर्ष सम्पन्न एनआरएनको प्रथम विश्व विज्ञ सम्मेलनको संयोजन पनि शर्माले नै गरेका थिए ।

सबैको एनआरएनए, सबल र बहुआयामिक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दीगो एनआरएनए, सीप, ज्ञान र नवप्रवर्द्धनका लागि एनआरएन तथा उत्तरदायी र पारदर्शी एनआरएनए भन्दै शर्माले सात निर्देशक सिद्वान्त अघि सारेका छन् ।

जानकी गुरुङ (बेल्जियम)

दुई दशकदेखि बेल्जियममा बस्दै आएकी व्यवसायी जानकी गुरुङ एनआरएनए अभियानमा सक्रिय महिला अभियन्ताका रुपमा परिचित छिन् ।

सन् २००५ देखि अभियानमा सक्रिय गुरुङले एनआरएनए बेल्जियमको नेतृत्वसमेत सम्हालिसकेकी छिन् । उनी दुई पटकसम्म आइसीसी सदस्य र युरोप उपसंयोजक हुँदै हाल केन्द्रीय सचिवको जिम्मेवारीमा छिन् ।

आठौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा जमुना गुरुङ समूहबाट सचिवमा चुनाव जितेकी उनी सो समूहबाट एकमात्र विजयी उम्मेदवार हुन् ।

यसपालि महासचिव पदमा गुरुङ बिजयी हुने उनी निकट स्रोतको दाबी छ । आदिवासी जनजातिहरुको समर्थन, महिला नेतृ अनि जनसम्पर्क समिति सम्वद्व एनआरएन प्रतिनिधिहरुको समर्थन रहेकाले उनी विजयी बन्ने दाबी गुरुङ निकट सुत्रको छ । तथापि वौद्धिक व्यक्तित्वसँगको गुरुङको प्रतिस्पर्धा निकै नै चुनौतीपूर्ण हुने देखिन्छ ।

डम्बरबहादुर (डीबी) क्षेत्री ,ओमान

एनआरएनएमा हजारे अभियान ल्याएकाले पनि डीबी क्षेत्री निकै चर्चित छन् । एनसीसी ओमानको दुई कार्यकालको अध्यक्ष, मध्यपूर्व क्षेत्रीय संयोजक हुँदै उनी गत अधिवेशनबाट केन्द्रीय सचिव पदमा निर्वाचित भएका हुन् ।

मध्यपूर्वलाई सधैं चुनावी अभियान बनाउने तर त्यहाँको प्रतिनिधित्वलाई नेतृत्वले पाखा लगाउँदै आएको दृष्टान्त एनआरएन इतिहासमा देखिन्छ । अहिले पनि त्यही परम्पराले नै निरन्तरता पाएको छ । अर्थात वर्तमान सचिवसमेत रहेका क्षेत्री अन्ततः दुवै टिमको रोजाइमा परेनन् ।

यद्यपि आचार्य समूहले उनलाई अन्य पदमा उठ्न लविङ गरिरहेको सुत्रहरुको दाबी छ ।

कुनै समूहको समर्थनविना नै मुख्य पदमा एनआरएनएको चुनाव जित्न लगभग असम्भव जस्तै छ । पन्त समूहवाट शर्मा र आचार्य समूहबाट गुरुङ आउने भएपछि मध्यपूर्वका नेता क्षेत्री अहिले दोधारमा देखिन्छन् ।

महासचिवमा नै उम्मेदवारी दिने वा अन्य पदका लागि चुनाव लड्नेबारे अनलाइनखबरको जिज्ञासामा उनले कुनै प्रतिक्रिया दिएनन् ।

भिडन्त त्रिपक्षीय होला कि द्विपक्षीय ?

अब डीबी क्षेत्रीले पनि महासचिवमै उम्मेदवारी दिए के होला ? वा नदिँदा चुनावी नतिजामा के फेरबदल हुन सक्ला ? यसबारे एनआरएन वृत्तमा अड्कलबाजीहरु सुरु भएका छन् ।

राजनीतिकरुपमा भने क्षेत्री नेकपा निकट ठानिन्छन् । उनको उम्मेदवारी परेमा मध्यपूर्व र पूर्वमाओवादी निकटस्थ प्रतिनिधिहरुको मत उनले बटुल्ने सुत्रको दाबी छ । यसले पन्त समूहका महासचिवका उम्मेदवार शर्मालाई धक्का लाग्न सक्छ भने गुरुङलाई फाइदा पुग्ने विश्लेषण प्रतिनिधिहरुले गरेका छन् ।

तर, क्षेत्रीले महासचिवमा उम्मेदवारी नदिएमा नेकपा निकटका प्रतिनिधिहरुको मत पन्त प्यानलमा रहेका डा. शर्मातर्फ सोझिने सम्भावना बढ्छ ।

तर, क्षेत्री महासचिवमा उठेमा उनलाई जिताउन सम्पूर्ण नेकपा निकट प्रतिनिधिहरु एक हुने प्रवासी नेपाली एकता मञ्चनिकट प्रतिनिधिहरुको दाबी छ ।

क्षेत्रीको सबल पक्ष के हो भने महासचिवका अन्य दुबैजना (शर्मा र गुरुङ) दाबेदारहरु कांग्रेस निकट हुन् र तीन प्रतिस्पर्धीमध्ये उनी एकमात्र प्रत्याशी हुन् ।

त्यसैगरी एनआरएनएमा मध्यपूर्व भर्सेस युरोप–अमेरिका जस्तो स्थिति देखिएका बेला क्षेत्रीले मध्यपूर्वका प्रतिनिधिहरुको सहानुभूति आफूतिर केन्द्रित गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

महासचिवमा द्विपक्षीय वा त्रिपक्षीय भिडन्त के होला ? त्यो त भोलि हुने उम्मेदवार मनोनयन दर्ता प्रक्रियापछि नै थाहा हुनेछ ।
यो पनि पढ्नुहोस एनआरएनएका सारथी : यी हुन् ५ उपाध्यक्षका दाबेदार
एनआरएनएको चुनावमा पूर्वअध्यक्षहरुले कसलाई समर्थन जनाउँछन् भन्ने विषयले पनि महत्व राख्ने गर्दछ । महासचिव पदका लागि पूर्वअध्यक्ष समूहको मत बाँडिने प्रायः निश्चित छ । पूर्वअध्यक्ष जीवा लामिछाने डा.शर्मालाई जिताउन र पूर्वअध्यक्ष शेष घले गुरुङलाई जिताउन लागि पर्ने अनुमान गैरआवासीयहरुले गरेका छन् ।

पूर्व अध्यक्ष घलेले भने महासचिवका प्रत्यासी डा.शर्मालाई खासै रुचाउँदैनन् । घलेको कार्यकालमा विभिन्न मुद्दाहरुमा डा.शर्माले सार्वजनिकरुपमै खुलेर आलोचना गरेका थिए ।

अर्का पूर्वअध्यक्ष उपेन्द्र महतोले महासचिवलाई कसलाई समर्थन गर्छन् भन्ने प्रष्ट खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment