Comments Add Comment

नेकपाले भन्यो- उपनिर्वाचनका उम्मेदवार कात्तिक १० भित्र सिफारिस गर

२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ ।

नेकपाको बुधबार बिहान बसेको सचिवालय बैठकको निर्णयअनुसार प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन-तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो । सो सिफारिसको आधारमा अन्तिम निर्णय केन्द्रले गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जहाँ निर्वाचन क्षेत्रीय कमिटी बनेको छैन, त्यहाँ जिल्ला कमिटी र प्रदेश कमिटीलाई नाम सिफारिस गर्न भनिएको छ । प्रदेश कमिटीको हकमा पनि त्यही कुरा लागू हुने प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर वा अध्यक्ष, उपाध्यक्षको हकमा सम्बन्धित गाउँ वा नगरकमिटी वा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवारको निर्णय गर्ने छ । वडाको हकमा भने सम्बन्धित वडा कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment