Comments Add Comment

उपनिर्वाचन मंसिर १४ गते तोकियो

१७ साउन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ ।

आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ ।

यस्तै, प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली भएको हो ।

स्थानीय तहको उपनिर्वाचनको मिति सरकारले बिहीबार नै घोषणा गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा आयोगसँगको परामर्शमा सरकारले मिति घोषणा गर्ने व्यवस्था छ ।

स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन् । उपनिर्वाचन मिति घोषणा गर्नुअघि आयोगले १८ दलसँग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment