१ असोज, मनाङ । मनाङको लाइफलाइनका रूपमा रहेको बेँसीसहर–चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ ।
बुधबार बिहान नासोँ गाउँपालिका–३ खोत्रोमा खसेको ठूला ढुङ्गासहितको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बुधबारदेखि सडक खुलाउने प्रयास भइरहेको बताए ।
‘बुधबार दिनभर र बिहीबार ब्लास्टिङ गरेर हटाउने प्रयास गरिएको छ तर ब्लाष्ट गर्दा पनि ठूलो चट्टान भएकाले फुटेन’, उनले भने, ‘डोजरसहितका उपकरणले पहिरो पन्छाउने प्रयास भइरहेको छ । योसँगै पुन: ड्रिल गर्ने काम पनि भइरहेको छ ।’
आज दिनभर सडक खुलाउने प्रयास जारी रहेको बताउँदै प्रजिअ खनालले शुक्रबार बिहानसम्ममा सडक सञ्चालन गर्नेगरी काम भइरहेको जानकारी दिए ।
‘ब्लास्टिङ गरेर पनि ठूलो चट्टान बीच सडकमा अड्किएकाले हटाउन सहज छैन,’ उनले भने ।
उनका अनुसार नेपाली सेनालगायत सुरक्षाकर्मी र स्थानीयको सहयोगमा फेरि ब्लास्टिङ गरेर सडक खुलाउने प्रयास भइरहेको छ ।
नासोँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले पालिका क्षेत्रमा चट्टानसहितको पहिरोले रोकिएको सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।
मर्स्याङ्दी करिडोरअन्तर्गतका यस सडकमा ठूला सवारीसाधन वर्षायाममा गुडाउँदा भासिने र पहिरोको जोखिम बढ्दै गएको छ ।
प्रतिक्रिया 4