Comments Add Comment

मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण

२९ असोज, म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सीधा यातायात सञ्जालमा जोडिएको छ ।

यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सीधा सवारी सञ्चालन हुने गरेको थियो । पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छुसाङका मुखिया विनोद गुरुङले जानकारी दिए ।

कालीगण्डकी नदीबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको छ । ७७ दशमलव २ मिटर लामो पुल ११ मिटर फराकिलो छ । ‘पुल बनेपछि जोमसोमदेखि लोमान्थाङसम्म सीधा यातायात सेवा सञ्चालन भएको छ,’ मुखिया गुरुङले भने, ‘सडक यातायात सहज भएपछि देशका विभिन्न ठाउँबाट उपल्लो मुस्ताङ भ्रमणमा आउनेहरुको संख्या बढेको छ ।’

पुल बनेपछि जोमसोमदेखि उपल्लो मुस्ताङको दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । दैनिक उपभोग्य, खाद्यान्न र निर्माण सामग्री ढुवानी सहज भएको छ । डोलिडारले पुल निर्माणका लागि लुम्बिनी बिल्डर्ससँग चार करोड ७३ लाख ८८ हजार ६८ रुपैयाँमा वि.सं. २०७३ असार ११ मा सम्झौता गरेको थियो । गलत डिजाइनका कारण पुल निर्माणका क्रममा बस्तीतर्फ कटान हुने र खोला एकातिर पुल अर्कोतिर बन्ने अवस्था सिर्जना भएपछि अलपत्र बनेको थियो ।

वि.सं. २०७४ मा सांसद प्रेमप्रसाद तुलाचनको पहलमा डोलिडारका अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयवासीबीच पुलको डिजाइन परिवर्तन गरेर बस्तीलाई असर नपर्ने र प्रयोग हुने गरी डिजाइन परिवर्तन गराउने सहमति भएपछि पुल निर्माण अघि बढेको थियो ।

छुसाङको बस्ती संरक्षणका साथै पुल निर्माण भएपछि कोरला नाकासम्मको सडक पहुँच सहज भएको सांसद तुलाचनले बताए । ‘उपल्लो मुस्ताङ सीधा यातायात सञ्जालमा जोडिएका छुसाङ र पाण्डाखोलामा मोटरेबल पुल बनिसकेको छ’, तुलाचनले भने, ‘जोमसोम-कोरला खण्डको ११० किलोमिटर सडक सात प्याकेजमा स्तरोन्नतिसँगै विभिन्न ठाउँका खोलामा मोेटर चल्ने पुल बनाउने काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment