+
+
Shares

गैरआवासीय नेपालीको सम्मेलनमा लगानीको चर्चा

पत्याएनन् सरकारका कुरा !

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ असोज २८ गते १९:२१

२७ असोज, काठमाडौं । सरकारले लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै फेरि गैर आवासीय नेपालीलाई लगानी ल्याउन आग्रह गरेको छ ।

राजधानीमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आह्वान गरिन् । नेपालमा लगानीका लागि आन्तरिक र बाह्य दुबै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको उनले बताइन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल उच्च आर्थिक वृद्धिको दिशामा अघि बढेको उल्लेख गरे र समृद्धिको यात्रामा सरकारसँग सहकार्य गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । तर, राष्ट्रपति भण्डारी र परराष्ट्रमन्त्री ज्ञवालीको भनाइलाई एनआरएनएका प्रतिनिधि र उद्योग वाणिज्य महासंघका प्रतिनिधिले विश्वास गरेनन् ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले आफूहरुले उठाएका विषय सरकारले संबोधन नगरेको बताए । ‘गैरआवासीय नेपालीहरु कहिल्यै थाक्दैनन् र उर्जावान पनि छन् । हामी हाम्रो जन्मभूमिको विकास र समृद्धिका लागि सहकार्य गर्न तयार छौं । तर, सरकारले हामीले उठाएका कुराहरुलाई सम्बोधन गर्नुपर्यो, मात्र प्रतिवद्धता आएर पुग्दैन’ एनआएनएका अध्यक्ष भवन भट्टले भने ।

एनआएनएका पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपालीहरुले आफ्नो आयको ठूलो हिस्सा नेपालमा खर्च गर्ने गरेको बताए । ‘हामीले मातृभूमि प्रतिको दायित्व सम्झेर आफ्नो आयको ठूलो हिस्सा नेपालमा खर्च गर्ने गरेका छौं’, घले अगाडि भन्छन्, ‘लगानी अनुसारको प्रतिफल सुनिश्चित हुनुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गैरआवासीय नेपालीको अनुभव र स्रोतको उपयोग गर्न सरकारलाई सुझाव दिइन् ।

अष्ट्रेलियामा ट्राफिक ट्रान्सपोर्ट इन्जिनियरका रुपमा कार्यरत अनन्त कार्की भने नेपालमा ठूला आयोजनामा विदेशी वा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने वातावरण बनिनसकेको बताउँछन् ।

‘सानो स्केलमा लगानी अहिले पनि भइरहेको छ । तर मेगा प्रोजेक्टको लागि लगानीको वातावरण बन्ने कुरा प्रोससमै छ भन्ने लाग्छ’ अनलाइनखबरसँग कार्की भन्छन्, ‘गैरआवासीय नागरिकता दिने संवैधानिक प्रावधान कार्यान्वयनमा आएपछि लगानीको वातावरण थप सहज बन्नेछ ।’

एनआरएनएको आशा र अपेक्षा

सम्मेलनमा भाग लिन बिभिन्न ८१ देशबाट करिब २५ सय प्रतिनिधि नेपाल आएका छन् । उनीहरुले नयाँ नेतृत्वसँग केही ठोस आशा र अपेक्षा राखेका छन् । मुख्यगरी गैरआवासीय नेपाली नागरिकता, सुरक्षित रोजगारी र कामदारको जीवनरक्षा छन् ।

जर्मनीबाट प्रतिनिधित्व गरेर सम्मेलनमा सहभागी हुन काठमाडौं आएकी देवी न्यौपाने भन्छिन्, ‘विदेशमा काम गर्न सजिलो छैन । अनेकन दुख झेल्नुपर्छ । त्यसकारण सुरक्षित रोजगारी र कामदारको जीवनरक्षा विदेशमा रहेका नेपालीहरुको मुख्य चासो र चिन्ता हो । साथसाथै सरकारसँग हातेमालो गर्दै देशलाई अगाडि बढाउन नयाँ आउने नेतृत्वले सहयोगीको भूमिका खेल्छ भन्ने अपेक्षा पनि गरेको छु ।’

एनआरएनए बेल्जियमका कोषाध्यक्ष प्रकाशराज गिरीलाई भने सरकारको बोली र ब्यबहार पन परेको छैन । सरकारले ‘नेपाल भिजिट २०२० घोषणा गरेको छ । तर, त्यसलाई सफल पार्न आवश्यक पूर्वाधारको विकास र भएका पूर्वाधारलाई ब्यवस्थित गर्न नसकेको उनको गुनासो छ ।

हेर्नुहोस् भिडियो

‘मञ्चमा भाषण ठूला ठूला हुन्छन् । तर, ब्यबहार भएन’ उनी भन्छन् । चिनियाँ राष्ट्रपति आउँदा रातारात काठमाडौं सफा भयो उदाहरण दिँदै उनले पर्यटकीय क्षेत्रलाई त्यसैगरी सफा र ब्यवस्थित गरिदिन सरकारलाई सुझाव दिए ।

सम्मेलनमा भाग लिन जर्मनीबाट खड्ग न्यौपाने राष्ट्रपति र परराष्ट्रमन्त्रीको नेपालमा लगानीको वातावरण बनेको अभिव्यक्तिबाट आफूहरु भावनात्मक रुपमा उत्साहित भएको बताउँछन् । तर, भावना मात्रै भएर नहुने उनको प्रतिक्रिया छ ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारासहित सुरु सम्मेलन नयाँ नेतृत्व चयन गर्दै पर्सि सकिनेछ । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा सुरू सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

नेतृत्व चयनको  राजनीति 

एनआरएनएको नयाँ नेतृत्वका वामपन्थी समूहबाट कुमार पन्त र प्रजातान्त्रिक समूहबाट कुल आचार्य मैदानमा छन् । दलीय आस्थाका आधारमा नयाँ नेतृत्वका लागि चुनाव हुँदै गर्दा कतिपय गैरआवासीय नेपालीहरुले यसलाई अस्वाभाविक भनेका छन् ।

संघमा राजनीतिक ध्रुवीकरण बढेको भन्दै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नवौं सम्मेलन नै बहिस्कार गरे ।

तर कतिपयले एनआरएनएमा भएको दलीय आस्थालाई स्वभाविक भनेका छन् । एनआरएनए बेल्जियमका पूर्वसचिव राकेश कर्मचार्य भन्छन्, ‘अलि–अलि सपोर्ट त भइहाल्छ । दलहरुले यसलाई सपोर्ट गर्ने भन्ने त भइहाल्छ ।’ तथापि, बाहिर भनिए जस्तो दुई ध्रुवमा गैरआवासीय नेपालीहरु नबाँडिएको पनि उनको जिकिर थियो ।

‘गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने, लगानी सुरक्षित गराउने लगायतका विषयमा दुबैको प्रतिवद्धता राम्रो छ’, उनी भन्छन्, ‘कार्यानवयन कसले गर्न सक्छ भन्ने हो ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?