+
+
Shares

खाद्य सुरक्षामा अपेक्षित सुधार गर्न सकेनौं : कृषि मन्त्री खनाल

खाने बानीमा आएको परिवर्तनले व्यवधान

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १०:२०

२९ असोज, काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले समग्र खाद्य सुरक्षामा अपेक्षित सुधार गर्न नसकिएको स्वीकार गरेका छन् ।

२०७३ मा गरिएको नेपाल जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको सर्भेक्षणले देशको आधाभन्दा बढी जनसंख्या खाद्य असुरक्षामा रहेको औंल्याएको थियो । कतिपय हिमाली र दुर्गम पहाडी भूभागमा पर्याप्त खाद्यवस्तुको उत्पादन नहुँदा यस्तो अवस्था आएको भन्दै यसतर्फ ध्यान दिन पनि सर्भेक्षणले सुझाएको थियो । गरिबी र यातायातको असुविधाले पनि खाद्य संकट निम्त्याएको प्रतिवेदनको सार थियो ।

यद्यपि, यसमा अझै सुधार नभएको कृषि मन्त्री खनाल स्वयं बताउँछन् । कृषि विकासको क्षेत्रमा सुधार गर्दागर्दै पनि जनसंख्याको उच्च वृद्धि र नेपालीको खानेबानीमा आएको परिवर्तनलगायतले यो समस्यालाई गिजोलिरहेको मन्त्री खनालको स्वीकारोक्ति छ ।

‘कृषि विकासको क्षेत्रमा सरकारले थालेको सुधारको फलस्वरूप खाद्य उत्पादन बढिरहेको भएता पनि खाद्य सुरक्षामा अपेक्षित सुधार गर्न सकिएको छैन’, ३९ औं विश्व खाद्य दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘जनसंख्याको उच्च वृद्धि, गरिबी, खाद्यान्न वितरण प्रणालीमा रहेको समस्या र हाम्रो खाने बानीमा आएको परिवर्तनलगायत कारणले समाधानमा व्यवधान पुर्‍याइरहेको छ ।’

विश्वभर मनाइँदै दिवस

३९ वर्षअघिदेखि विश्व खाद्य दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन स्थापनाको सम्झनामा मनाउन थालिएको यो दिवस हाल १५० देशमा मनाइन्छ ।

नेपालसहित विश्वभर यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वव्यापी रूपमा खाद्य सुरक्षा तथा पोषणको महत्त्वबारे चेतना जगाउनु र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई सहयोग गर्नु रहेको छ । त्यसैले नेपालसहित विश्वभर आज विविध कार्यक्रम गरेर दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा कृषि विभागले बुधबार बिहान विशेष कार्यक्रम आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?