+
एनपीएल २०२५ :

सुदूर प्लेअफमा पुग्दा अन्य टोलीका लागि यस्तो छ समीकरण

२०८२ मंसिर  १५ गते २०:५५ २०८२ मंसिर १५ गते २०:५५
सुदूर प्लेअफमा पुग्दा अन्य टोलीका लागि यस्तो छ समीकरण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोयल्सले लगातार ५ खेल जितेर नेपाल प्रिमियर लिग क्रिकेटमा प्लेअफमा स्थान पक्का गरिसकेको छ।
  • विराटनगर किङ्स, काठमान्डु गोर्खाज र अन्य टोलीहरू प्लेअफका बाँकी ३ स्थानका लागि प्रतिस्पर्धामा छन्।
  • जनकपुर बोल्ट्स र कर्णाली याक्सको प्लेअफ पुग्ने सम्भावना न्यून रहेको छ।

१५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका १९ खेलहरू सकिएका छन् । अब लिग चरणमा ९ खेलहरू बाँकी छन् ।

हालसम्म प्लेअफमा पुग्ने एक टिमको मात्र टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स लगातार ५ खेल जितेर प्लेअफमा पुगिसकेको छ भने बाँकी ३ स्थानका लागि अझै पनि ७ वटै टिम प्रतिस्पर्धामा छन् ।

केही टोलीहरूको सम्भावना बलियो देखिँदा केही टोलीका लागि कठिन अवस्था बनिसकेको छ । एनपीएलमा सोमबार ब्रेक रहेको छ । यही सन्दर्भमा हालसम्म सम्पन्न भएका खेल र बाँकी खेलका आधारमा प्लेअफ समीकरणबारे संक्षिप्तमा चर्चा गर्दैछौं ।

सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिम रोयल्स २ खेल अगावै प्लेअफमा पुगिसकेको छ । सुदूरको नजर अब शीर्ष २ मा फिनिस गर्नेतर्फ हुनेछ जसको सम्भावना पनि बलियो देखिएको छ ।

सुदूरपश्चिम रोयल्सले काठमान्डु, पोखरा, कर्णाली, लुम्बिनी र जनकपुरलाई हराइसकेको छ । ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्षस्थानमा छ ।

सुदूरपश्चिमले अब चितवन राइनोज र विराटनगर किङ्ससँग खेल्न बाँकी छ । दुईमध्ये एकमात्र खेल जिते पनि सुदूरपश्चिम शीर्ष २ मा पर्ने निश्चित हुनेछ ।

काठमान्डु गोर्खाज

गत सिजन नेट रनरेटमा पछाडि परेर प्लेअफ मिस गरेको काठमान्डुले यसपटक नेटरनरेटमा भर पर्ने अवस्था सिर्जना हुनै नदिने किसिमले खेलिरहेको छ । काठमान्डु गोर्खाजले नेटरनरेटमा पनि ध्यान पुर्‍याउनुका साथै पर्याप्त जितकै साथमा प्लेअफमा पुग्ने सम्भावना बलियो देखिएको छ ।

६ खेलमा ४ जितसहित ८ अंक जोडेको काठमान्डु हाल दोस्रो स्थानमा छ । काठमान्डुले जनकपुर बोल्ट्सलाई हराएपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो भने त्यसयता लगातार ३ खेल जित्ने क्रममा लुम्बिनी, चितवन र कर्णालीलाई हरायो ।

काठमान्डुले‍ अब पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । उक्त खेल जितेमा काठमान्डु प्लेअफमा पुग्ने पक्का हुनेछ ।

काठमान्डु पोखरासँग पराजित भएपनि प्लेअफमा पुग्न सक्ने सम्भावना रहिरहने छ ।

विराटनगर किङ्स

गत संस्करण प्लेअफमा नपुगेको विराटनगर किङ्स यसपटक मार्टिन गप्टिलको निरन्तरतासँगै फाफ डुप्लेसी र मर्चेन्ट डे लाङजस्ता खेलाडीहरू अनुबन्ध गरेर प्रतियोगिता अगाडि नै चर्चामा थियो ।

विराटनगरले मैदानमा पनि राम्रो प्रदर्शन गर्दै ५ मध्ये ४ खेल जितेर प्लेअफ सम्भावना बलियो बनाएको छ । विराटनगरले पोखरा, काठमान्डु र जनकपुरलाई हराउँदा चितवनसँग पराजित भएको थियो भने त्यसपछि कर्णालीलाई हराएको थियो ।

विराटनगरले अब लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ ।

एकमात्र खेल जिते प्लेअफमा स्थान बनाउने विराटनगरले दुवै खेल जितेमा शीर्ष २ मै फिनिस गर्नेछ । दुवै खेलमा पराजित भएमा विराटनगर अन्य नतिजामा भर परेर प्लेअफमा पुग्न भने सक्छ ।

चितवन राइनोज

गत संस्करण प्लेअफ खेलेको चितवन राइनोजले यसपटक प्लेअफमा पुग्नका लागि अझै मेहेनत गर्नुपर्ने देखिएको छ । विदेशी खेलाडीमा बढी भर परेको चितवनले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ ।

चितवनले कर्णाली याक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने त्यसपछि विराटनगरलाई हराउँदा काठमान्डु गोर्खाजसँग पराजित भयो ।

चितवनले अब जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । ३ वटै खेल जितेमा चितवनको प्लेअफ सुनिश्चित हुनेछ । २ मात्र खेल जितेमा अन्य नतिजामा भर पर्नुपर्ने हुन सक्छ ।

लुम्बिनी लायन्स

गत संस्करणमा एक जित मात्र निकालेर पुछारमा रहेको लुम्बिनी लायन्सले यस संस्करणमा हालसम्म ५ खेल खेल्दा २ जित र ३ हारको नतिजासहित ४ अंक जोडेको छ ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यसपछि कर्णाली याक्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । त्यसपछि पोखरा एभेन्जर्सलाई पराजित गर्‍यो ।

लुम्बिनीले अब विराटनगर किङ्स र जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ । दुवै खेल जितेमा लुम्बिनी ८ अंक जोडेर प्लेअफको सम्भावना कायमै राख्नेछ । यस्तोमा अन्य नतिजामा निर्भर भएर नेट रनरेटको कुरा आउन सक्छ ।

पोखरा एभेन्जर्स

पोखरा एभेन्जर्सले हालसम्म ४ खेल खेल्दा १ जित मात्र निकालेको छ । पोखराले विराटनगर र सुदूरपश्चिमसँग पराजित भएपछि जनकपुर बोल्ट्सलाई हराएको थियो भने त्यसपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

पोखराले अब कर्णाली, काठमान्डु र चितवनसँग खेल्न बाँकी छ । अब सबै खेल‌ जित्नुपर्ने दबाब छ । एक मात्र खेलमा पराजित भएपनि पोखराले प्लेअफ मिस गर्न सक्छ ।

पोखराले २ मात्र खेल जितेमा कुनै एक टोली ६ अंकभन्दा अगाडि जानु हुँदैन ।

कर्णाली याक्स

कर्णालीले ५ खेल खेल्दा १ खेल मात्र जितेको छ । पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको कर्णाली याक्सले त्यसपछि लुम्बिनी लायन्सलाई हराएको थियो ।

त्यसपछि फेरि सुदूरपश्चिम, विराटनगर र काठमान्डुसँग हार बेहोरेको छ । कर्णालीले पोखरा र जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ । प्लेअफ पुग्नका लागि दुवै खेल जितेर पनि अन्य टोली ६ भन्दा अगाडि नजाने समीकरण बन्नुपर्छ ।

कर्णालीले मंगलबार पोखरा एभेन्जर्ससँग खेल्दा पराजित भएमा एक खेल अगावै बाहिरिने पक्का हुनेछ ।

जनकपुर बोल्ट्स

साविक विजेता जनकपुर यस संस्करणमा खेलेका सबै ४ खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको छ ।

जनकपुरले अब चितवन, लुम्बिनी र कर्णालीसँग खेल्न बाँकी छ । सबै खेल जितेर अन्य नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ । जनकपुरको झिनो सम्भावना मात्र बाँकी देखिन्छ ।

मंगलबार हुने खेलमा चितवन राइनोजसँग पराजित भएमा जनकपुर २ खेल खेल्नुअघि नै बाहिरिनेछ ।

***

यसरी हेर्दा सुदूरपश्चिम रोयल्सले शीर्ष २ मै फिनिस गर्ने सम्भावना बलियो देखिएको छ भने विराटनगर किङ्स वा काठमान्डु गोर्खाजमध्ये एकले शीर्ष २ मा फिनिस गर्ने संकेत छ ।

जनकपुर बोल्ट्स र कर्णाली याक्सको प्लेअफ पुग्ने सम्भावना एकदम न्यून देखिएको छ । सुदूर प्लेअफ पुगिसकेको अवस्थामा बाँकी ३ स्थानका लागि मुख्यत: विराटनगर किङ्स, काठमान्डु गोर्खाजको सम्भावना बलियो देखिँदा चौथो स्थानका लागि चितवन राइनोज, लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच अंकगणितिय लडाइँ हुने सम्भावना धेरै देखिन्छ ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय