Comments Add Comment

चिनियाँ राष्ट्रपति नेपाल आउँदा संसारभर तरंग : नेता नेपाल

३ कात्तिक, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा संसारभर तरंग पैदा भएको बताएका छन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल आएर चीनले नेपालको महत्व स्वीकार गरेको उनको भनाइ छ ।

नेकपा वीरगञ्ज महानगरपालिका कमिटीले दिपावली र छठ पर्वको अवसरमा आइतबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा उनले चीनले मात्रै नभएर संसारका ठूला देशले नेपालको महत्व स्वीकार गरेकाले नेपालले त्यसबाट फाइदा लिन सक्नुपर्ने बताए ।

‘हाम्रो पालो छ सम्बन्धलाई हाम्रो देशको हित र प्रगतिमा प्रयोग गर्न, सद्भावलाई नेपाली जनताको चाहना पूरा गर्न प्रयोग गर्न’ उनले भने ।

नेपालका हिमश्रृङ्खलाहरुले टावरको काम गरिरहेको बताउँदै उनले त्यसबाट देश र जनताको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताए । नेता नेपालले भने ‘हामीसँग सगरमाथा छ, संसारको सबैभन्दा अग्लो एन्टेना, त्यसले नै संसारभर खबर पठाइरहेको छ । ११ वटा ठूला हिमशिखरमध्ये नेपालमा ८ वटा नेपालमै छ । त्यसैले सबैले मन पराउँछन् । हामी पनि सबैसँग मित्रता चाहन्छौं, अरुलाई सम्मान गर्छौ तर हाम्रो पनि सम्मान हुनुपर्छ ।’

विकासको विशाल सम्भावना भएको वीरगञ्जको विकास हुन नसक्नु दुःखद भएको बताउँदै उनले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न ठेकेदारसँग आग्रह गरे । ‘अब ढिलो भयो, निर्माण व्यवसायीलाई भन्न चाहन्छु, अब ढिला नगर्नुस्, सरकारले साँच्चै समस्या छ भने चाँडै समाधान गर्नुपर्छ, बाहनाबाजी गरेर पैसा बढाउने ठगीधन्दा गर्न खोजेको हो भने कडा कारबाही गर्नुपर्छ ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, निजगढ काठमाडौं द्रुतमार्गजस्ता योजना छिटो सम्पन्न गर्न सरोकारवाला एक हुनुपर्ने नेता नेपालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment