Comments Add Comment

अफताब आलमबारे देउवाको ‘करेक्सन’

फौजदारी अभियुक्तलाई बचाऊ गर्न खोज्दा कांग्रेसको बदनामी

२ कात्तिक, काठमाडौं । बम बिस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस पोलेको आरोपमा पक्राउ परेका  रौतहटका कांग्रेस सांसद मोहम्मद अफताब आलमको बचाऊमा बोलेका कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अभिव्यक्ति सच्याएका छन् ।

शुक्रबार भक्तपुरको बोडेमा आयोजित नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा कांग्रेस सभापति देउवाले आलमको बचाउमा बोलेका थिए । देउवाको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा कांग्रेस नेताहरुमाथि चर्को आलोचना भइरहेको छ ।

सोसियल मिडियामा चर्को आलोचना खेपेपछि  कांग्रेस सभापति देउवाले शनिबार विज्ञप्ति जारी गरेर आलममाथिको अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने बताएका छन् ।

आलमबारे शुक्रबारको अभिव्यक्ति विवादमा तानिएपछि देउवाले ‘अस्पष्टता र अन्यौल निवारणार्थ’ भन्दै विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा आलममाथि पूर्वाग्रह र दबावबाट मुक्त रहेर अनुसन्धान हुनुपर्ने बताइएको छ ।

कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य अन्वेषणमा बाधा पुग्ने बताउँदै देउवाले विज्ञप्तिमा भनेका छन्, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर, कानुनी राज्यमा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’

आलमको मुद्दामा पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न कांग्रेसले सघाउने देउवाले बताएका छन् ।

पार्टी सभापति देउवाबाट जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।’

हेर्नुहोस् विज्ञप्ति

 

आलमको पक्षमा कांग्रेसको वकालत

गम्भीर हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका र सांसदबाट निलम्बनमा परिसकेका आलमको बचाउमा पार्टी सभापति देउवाले बोल्नु अगावै रौतहटमा कांग्रेस कार्यकर्ताले आलमको समर्थनमा जुलुस समेत निकालिसकेका छन् । पूर्वमन्त्री एवं कांग्रेस सासंद आलम पक्राउ परेपछि कांग्रेसका  जिल्ला नेताहरुले चर्को विरोध गरेका छन् । जिल्ला सभापति कृष्णा यादवले आलमको रिहाइ नभएमा चरणवद्ध आन्दोलन गर्ने चेतावनी नै दिएका छन् ।

अदालतमा दायर भएको मुद्दा अनुसार घटनाका मुख्य अभियुक्त सासंद आलम रहेको र अन्यको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । सासंद आलम पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले गौरको सुरक्षा व्यवस्था कडा बनाइरहेको छ । जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ भने अन्य जिल्लाबाट समेत थप प्रहरी बल मद्दतका लागि बोलाइएको छ ।

कांग्रेसका जिल्ला नेता तथा परोहा नगरपालिकाका मेयर शेख वकिलले प्रहरीले अपहरणकारी शैलीमा सांसद आलमलाई पक्राउ गरिएको  भन्दै आपत्ति जनाए । तरुण दलका सभापति शेख नौसाले आलमलाई विनाशर्त सकुशल रिहाइ नगरेमा चर्को आन्दोलन गर्ने धम्की दिए । कांग्रेसका अर्का नेता रामचन्द्र गिरीले सांसद जस्तो व्यक्तिलाई प्रहरीले विनाकुनै सूचना बाटोबाटै जवरजस्ती पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

गम्भीर फौजदारी अभियोगमा १२ वर्षपछि बल्ल पक्राउ गरेर भइरहेको छानविनमा सहयोग गर्ने वचन कांग्रेस नेताहरुले सुरुमै दिनुपर्नेमा शुक्रबार पार्टी सभापति देउवाले समेत आलमको बचाऊ गरेपछि कांग्रेसले बदनामी कमायो । अन्ततः देउवा शनिबार विज्ञप्ति जारी गरेर आफूलाई ‘करेक्सन’ गर्न बाध्य भए ।

जिउँदै मान्छे जलाएको अभियोग

रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस सासंद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई प्रहरीले १२ वर्षअघिको जघन्य आरोपमा यही असोज २७ गते पक्राउ गरेको छ । २०६४ चैत्र २७ गते जिल्लाको राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई रौतहटबाट नियन्त्रणमा लिएको हो । एक कार्यक्रममा सहभागी भएर आउदै गरेका सासंद आलमलाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा थुनेको हो । उनीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

२०६४ मा संविधान सभाको निर्वाचन हुनुभन्दा एक दिनअघि चैत्र २७ गते शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । आफताब आलमको घर नजिकैको सो स्थानमा विष्फोट हुँदा केही व्यक्तिहरु घाइते भएका थिए । यो बिस्फोष्ट सांसद आलमले गराएको आरोप छ ।

विष्फोटमा परी कतिजनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भए भन्ने यकिन हुन सकेको थिएन । तर सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको भन्दै दुबैका परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध उतिबेलै किटानी जाहेरी दिएका थिए ।

सरुअठाको घरमै बसिरहेका त्रिलोकप्रताप सिंहलाई चुनाव प्रचार–प्रसारका लागि जाउँ भन्दै सेख भदई बोलाउन आएका थिए । चुनावी प्रचारमा हिँडेका सिंह र अख्तर बम बनाइरहेको स्थानमा घाइते भएको र उनीहरुलाई घाइते अवस्थामै उपचारका लागि लाने भन्दै घाइते केही भारतीय नागरिक समेतलाई नजिकैको ईंटा बनाउने चिमनीमा हालेर जलाइएको आरोप सांसद आलममाथि त्यसैबेलादेखि  लाग्दै आइरहेको छ ।

अदालतले के भनेको थियो ?

२०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको सो विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै ईटाभट्टामा जलाइएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

तर, घटना भएको बखत तत्कालीन प्रहरी र सरकारी वकिलको कार्यालयबाट आलममाथि मुद्दा नचलाउने निर्णय गरिएको थियो । तर, पछि पुनः सोही मुद्दामा सर्वोच्च अदालतबाट २०६९ जेष्ठ १६ गते, मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानूनबमोजिम कारवाही गर्ने आदेश भयो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत्र ८ गते ताकेता गर्दै मुद्दा चलाउनका लागि पत्राचारसमेत गरेको थियो ।

अहिले बल्ल सर्वोच्च अदालतको आदेश अनुसार सांसद आलमलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्री बताउँछन् । जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सांसद आलमलाई गौर आउने बाटोमा रहेको इद्रीस गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय गौरमा राखी अनुसन्धान थालिएको हो।

घटनाका मुख्य अभियुक्त भनिएका आफताब आलम पक्राउ परेपछि उजुरीकर्ता श्रीनारायण सिंहले १२ वर्षपछि न्याय पाउने आशा पलाएको बताएका छन् ।

छोरा गुमाएका सिंहले भनेका छन् ‘सधैं पद र ओहोदाका कारण जोगिएर बसेका आलम पक्राउ परेको देख्दा देशमा अझै प्रहरी र कानून जीवित रहेछ भन्ने आभास भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment