Comments Add Comment

कांग्रेस सांसद मोहम्मद आफताव आलम पक्राउ

२६ असोज, रौतहट । रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा सँलग्न भएको आरोपमा प्रहरीले उनलाई आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको हो ।

एक कार्यक्रममा सहभागी भएर आउदै गरेका सासंद आलमलाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा ल्याएको हो ।

के हो आरोप ?

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्र्षका ओसी अख्तरको मृत्यु भएको थियो । विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप लगाउँदै उनीहरुको परिवारका सदस्यहरु श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सोही मुद्दामा सर्वोच्च अदालतबाट २०६९ जेठ १६ गते मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने आदेश दिएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत ८ गते ताकेता गर्दै मुद्दा चलाउनका लागि पत्राचारसमेत गरेको थियो । सर्वोच्च अदालतको आदेशअनुसार आलमलाई पक्राउ गरेर अनुसन्धान कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए ।

जिल्ला अदालत रौतहतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई गौर आउने बाटोमा रहेको इद्रिस गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रौतहटमा गौरमा राखिएको उनले बताए । अदालतमा दायर भएको मुद्दा अनुसार घटनाका मुख्य अभियुक्त सासंद आलम रहेको र अन्यको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मुलुकी फौजदारी अपराध संहिता अन्तर्गत ज्यानसम्बन्धी कसुरको मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद लिइसकेको डीएसपी कार्कीले बताए ।

सुरक्षा व्यवस्था कडा

सासंद आलम पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले गौरको सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ भने अन्य जिल्लाबाटसमेत थप प्रहरी बल मद्दतका लागि बोलाइएको छ ।

कांग्रेसको विरोध

पूर्वमन्त्री तथा नेपाली कागे्रंसका नेता सासंद आलम पक्राउ परे पछि नेपाली काग्रेंसका नेताहरुले चर्को विरोध गरेका छन् । नेपाली काग्रेंसका नेता तथा परोहा नगरपालिकाका मेयर शेख वकिलले प्रहरीले अपहरण शैलीमा नेता आलमलाई पक्राउ गरेको आपत्ति जनाएका छन् ।

तरुण दलका सभापति शेख नौसादले पनि नेता आलमलाई बिना शर्त सकुशल रिहाइ नगरेमा चर्को आन्दोलनका कार्याक्रम गर्ने बताएका छन् । कांग्रेसकै नेता रामचन्द्र गिरीले साँसद जस्तो व्यक्तिलाई प्रहरीले बिना कुनै सूचना बाटो बाटै जबरजस्ती पक्राउ गरेको भन्दै विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment