+
+
Shares

पार्वत गुरुङ प्रकरण : पहिले काटाकाट, अहिले चाटाचाट !

‘उद्योग गर्ने’ लाई पूर्जी, ज्यानै मार्नेलाई छुटपूर्जी ?

गौरव पोखरेल गौरव पोखरेल
२०७६ असोज ३० गते २२:०६

३० भदौ, काठमाडौं । झण्डै दुई दशकको अन्तरालपछि भएको स्थानीय चुनावको उत्सवमा मुलुक होमिइरहँदा दोलखाको गौरीशंकर गाउँपालिका–१ का गोरेबहादुर तामाङको परिवारमा भने बज्रपात आइपर्‍यो । तत्कालीन नेकपा एमालेबाट वडा सदस्य पदमा उम्मेवार बनेका तामाङका छोरा कुलबहादुर चुनाव हुनु ५ दिनअघि मृत भेटिए ।

प्रत्यक्षदर्शीको वयान र अनुसन्धानबाट चुवानी प्रचारका बेला विपक्षी माओवादी केन्द्रका कार्यकर्ताले रेशम डाँडामा २६ वैशाख ०७४ मा राति भाला र अन्य धारिलो हतियार प्रहार गरेर तामाङको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्यो ।

ज्यान गुमाउने तामाङ घटनाको केही दिनअघि मात्र माओवादीको भातृ संगठन वाईसीएल छाडेर एमाले प्रवेश गरेका थिए । त्यसैले पनि उनी माओवादीको तारो बनेका थिए ।

घटनापछि तामाङ परिवारले माओवादीबाट राज्यमन्त्री बनिसकेकी देवी खड्का, नेता विशाल खड्का, गंगा कार्की, विमर्शराज कार्कीसहित ४० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय, चरिकोटमा किटानी जाहेरी दर्ता गरायो । जाहेरी परेसँगै गाउँमा रहेका माओवादी नेताहरु भागेर शहर पसे ।

यद्यपि, प्रहरीले एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ, गोपाल तामाङ, निलम जिरेल, प्रेमबहादुर तामाङसहित ९ जनालाई पक्राउ गर्‍यो ।

तर, पर्याप्त प्रमाण नभएको भन्दै जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठले उनीहरुलाई साधारण तारेखमा छाड्न आदेश दिए ।

अहिले जिल्ला अदालतको फैसलाविरुद्ध तामाङ परिवार सरकारी वकिल कार्यालय उच्च अदालत, पाटनमा पुनरावेदनका लागि गएको छ । तर, हालसम्म पुनरावेदन दर्ता भने भइनसकेको दोलखाका अधिवक्ता राजेन्द्र श्रेष्ठ बताउँछन् ।

०००

जिल्ला अदालतले तारेखमा छाड्न आदेश दिएपछि काठमाडौं आएका मृतकका परिवारले पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘अभियुक्तले घटनामा संलग्नता स्वीकार गर्दागर्दै पनि अनुचित प्रभावमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउने काम नभए हामी आफैं समातेर प्रहरीमा बुझाउन बाध्य हुनेछौं ।’

परिवारले जारी गरेको सार्वजनिक अपीलमा पनि लेखिएको थियो, ‘हामीले सरकार र प्रहरी प्रशासनको ध्यानाकर्षण गराउन हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई आफैं समातेर पनि बुझाउने कामको थाली गर्नुपरेको छ । यो हाम्रै लडाइँकै निरन्तरता हो ।’

अपीलमा प्रयोग भएको ‘बुझाउने कामको थालनी’ भन्ने वाक्यांश गौशालामा भएको एउटा घटनासँग सम्बन्धित थियो ।

स्थानीय चुनाव लगत्तै हत्या आरोप लगाइएका वीरध्वज खड्का गौशालामा फेला परे । त्यहाँ एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेर नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त, गौशालामा बुझाए ।

अदालत पुगेर रिहा भएपछि खड्काले हालका सांसद पार्वत गुरुङ र गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामीको निर्देशनमा आफूमाथि कुटपिट भएको दाबी गर्दै काठमाडौं प्रहरी परिसर, टेकुमा उजुरी दिए । त्यसबेला काठमाडौं प्रहरी परिसरको नेतृत्वमा एसएसपी छविलाल जोशी थिए ।

काठमाडौं प्रहरीले प्रत्यक्षदर्शीको वयानलाई समेटेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझायो । तर, पर्याप्त प्रमाण अभावमा अनुसन्धान फितलो बन्यो ।

प्रहरीले सांसद गुरुङ र गाउँपालिका उपाध्यक्ष थामीसहित मीनबहादुर तामाङ, कारसाङ भन्ने कर्ण तामाङ, जीवन तामाङ, सागर तामाङ र सविन तामाङलाई पक्राउ नगरी फरार प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

जिल्ला अदालत, काठमाडौंले सांसद पार्वत गुरुङ, गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष थामीसहित मीनबहादुर तामाङ, कारसाङ भन्ने कर्ण तामाङ, जीवन तामाङ, सागर तामाङ र सविन तामाङविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ

तर, उक्त उजुरीबारे सांसद गुरुङ त्यतिबेला अनविज्ञ रहेको उनी निकटस्थहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय, दोलखाले ८ असोजमा घरमा आएर पक्राउ पूर्जीको म्याद तामेल गरेपछि मात्र आफूले त्यसबारे थाहा पाएको सांसद गुरुङ बताउँछन् । ‘यो राजनीतिक मुद्दा हो, म अदालत उपस्थित हुन्छु र मेरो कुरा राख्छु’, गुरुङले अनलाइनखबरसँग भने ।

जिल्ला अदालत, काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले २९ वैशाख २०७६ मा दर्ता भएको मुद्दामा ७ जना फरार देखिएपछि पक्राउ पूर्जी जारी गरिएको अनलाइनखबरलाई बताए । ‘अहिले ३ वर्षभन्दा बढी सजायँ हुने मुद्दा भए फरार प्रतिवादीलाई पक्राउ पूर्जी जारी गर्नुपर्ने व्यवस्था छ’, श्रेष्ठले भने, ‘त्यहीअनुसार ७ जनैविरुद्ध पूर्जी जारी भएको थियो ।’

यद्यपि, प्रहरीले उनीहरुलाई फेला नपारेपछि दोस्रो पटक अदालतमा हाजिर हुन ३५ दिने सूचना घरमा टाँसिएको श्रेष्ठले बताए । ‘विपक्षीले धारिलो हतियार प्रहार गरेर हत्या गर्न खोजेको तर, तेस्रो पक्षको इन्टरभेन्सनका कारण ज्यान जोगिएको आशय उहाँको छ’, श्रेष्ठले थपे ।

पूर्वएमाले र माओवादीबीच जुँगाको लडाइँ !

माओवादी नेताहरु देवी खड्का, विशाल र गंगाको गाउँ जुहु माओवादीका लागि पकड क्षेत्र मानिन्थ्यो । तर, जुहु पर्ने निर्वाचन क्षेत्रमा भने एमालेबाट पार्वत गुरुङ सांसदमा निर्वाचित भएका थिए ।

त्यसैले दुई पक्षबीच जुँगाको लडाइँ पनि देखिने गरिएको स्थानीय बताउँछन् । जुहुका वडाध्यक्ष झलककुमार कार्की भन्छन्, ‘काठमाडौंमा मृतकका भाइ कर्णले एक आरोपितलाई देखेपछि समातेर प्रहरी कहाँ बुझाउनुभएको थियो । त्यही मुद्दामा प्रतिशोधले सांसदज्यूविरुद्ध पनि मुद्दा हालिएको हो ।’

तत्कालीन माओवादी नेताहरु भने यस विषयमा खुलेर प्रतिक्रिया दिन चाहँदैनन् । पूर्वमन्त्रीसमेत रहेकी देवी खड्का भन्छिन्, ‘उजुरी त्यतिबेलाको प्रसंगमा गरिएको हो । तर, अदालतमा जारी पूर्जीका विषयमा मैले कुरा गर्न मिल्दैन ।’

अहिले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर हत्या आरोपी र पीडित परिवार एकैपार्टीको छाँयामुनि बसेका मात्र छैनन्, मृतकका दाजु गोरे तामाङ वडा सदस्य छन् भने हत्या आरोप लागेकी माओवादी नेतृ खड्का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य छिन् ।

अर्का आरोपित विशाल खड्का नेकपाबाटै प्रदेशसभा (क) बाट सदस्य निर्वाचित भइसकेका छन् । ‘उहाँहरु अहिले एउटै पार्टी मात्र होइन, एकै गुटमा पनि हुनुहुन्छ’, जिल्लाका एक नेता भन्छन्, ‘पुरानो मुद्दाले समस्या भएजस्तो देखिएको मात्र हो ।’

यो स्थितिमा नेकपाकै कार्यकर्ता वीरध्वजलाई पार्टीले मुद्दा फिर्ता लिन लगाउँछ वा यथावत् रहन्छ ? भन्ने दृश्यचाहिँ रोचक हुनेवाला छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मृतक तामाङको परिवार

मृतकका परिवारविरुद्ध पनि पक्राउ पूर्जी

अहिले समयले यसरी कोल्टो फेरेको छ कि दुई वर्षअघिसम्म न्याय खोज्दै भौंतारिइरहेका मृतक तामाङका परिवारविरुद्ध नै पक्राउपूर्जी जारी भएको छ ।

कुलबहादुरका हत्यारालाई कारबाही गराई छाड्ने परिवारको लडाइँ यथावत् छँदैछ, भाइ कर्ण आफैं अहिले ज्यान मार्ने उद्योगका आरोपित बनेका छन् । उनी दुखेसो पोख्छन्, ‘राजनीति भनेको पैसावालको मात्र रहेछ, गरीब दुःखीको के चल्नु र !’

बुबा गोरे वडा सदस्य भए पनि पढे, लेखेको नभएकाले अन्यायमा परेको उनी बताउँछन् । वीरध्वजसँग चाबहिलमा जम्काभेट भएको दृश्य उनको मनमा अझै आलै छ ।

‘त्यतिवेला चाबहिल चोकमा उहाँलाई भाइ जीवनले देखेको थियो’, उनले सुनाए, ‘म पनि त्यहाँ पुगेँ । उनले आउनु अंकल भन्दा नमानेपछि तानेर प्रहरीलाई दिएका थियौं ।’

त्यहीबेला सादा पोशाकका प्रहरीकै अगाडि एक थप्पड लगाएर चोक छेऊकै कार्यालयमा बुझाएको उनी बताउँछन् । ‘पुलिसकै अगाडि हामीले किन मार्न खोज्थ्यौं होला र ?’, उनी प्रश्न गर्छन् ।

वीरध्वजको प्रश्न– पार्टी मिल्दैमा मन मिल्छ ?

सांसद गुरुङसहित ७ जनाविरुद्ध जोहरी दिएका वीरध्वज खड्का भने आफूलाई अत्याश लाग्दो तरिकाले कुटपिट गरिएको बताउँछन् । तत्कालिन लुहु गाविसमा कांग्रेसबाट निर्वाचित पूर्ववडाध्यक्ष समेत रहेका उनी घटना हुँदा माओवादी केन्द्रमा प्रवेश गरिसकेका थिए ।

‘राजनीतिकरुपमा फरक आस्था हुँदा चुट्नुसम्म चुट्ने अनि अहिले पार्टी एकीकृत भयो भन्दैमा मन र व्यवहार पनि एकै हुन्छ ?’, उनी प्रश्न गर्छन् ।

अहिले ५८ वर्ष पुगेका वीरध्वजले अनलाइनखबरको केही जिज्ञासाको जवाफ यसरी दिए–

पहिले बेग्लाबेग्लै पार्टीमा हुँदा सांसद पार्वत गुरुङ विरुद्ध उजुरी दिनुभएको रहेछ । पूर्वएमालेहरु अहिले पार्टी मिल्यो, मन पनि मिलिसक्यो भन्दारहेछन् नि ?

– राजनीतिकरुपमा फरक आस्था हुँदा अरुलाई पिट्ने र चुट्ने भन्ने कुरा हुँदैन होला । फेरि, पार्टी एकीकृत हुँदैमा मन र व्यवहार पनि एकीकृत हुँदैन । मलाई निष्पक्षता चाहिएको छ । पहिले तिनीहरुले मलाई अनाहकमा मुछेर अभियोग लगाए । वास्तवमा कुलबहादुरको हत्या भएको दिन म घटनास्थलमै थिइनँ । म घरमै थिएँ ।

त्यसोभए यो पूर्वएमालेले भनेजस्तो यो राजनीतिक विषय होइन.. ?

– त्यतिबेला मेरी आमा बिरामी हुनु भएकाले म काठमाडौं आएको थिएँ । आमालाई हस्पिटल लान म कपनामा रहेको बहिनीको घर जान लागेको थिएँ । सूर्यविनायकबाट गाडी चढ्दा उर्मिला दिदी (हालकी उपाध्यक्ष) ले मलाई देख्नुभएको थियो । छोटो कुरा गरेर म गाडीको पछाडि लास्ट सिटमा बसेको थिएँ ।

चाबहिल चोकमा पुगेपछि केही मान्छे छिरेर मलाई घोक्र्याउन थाले । कपालमा समातेर तानातान गर्न थाले । मलाई कुट्न, पिट्न थाले ।

त्यहाँ मैले उजुरीमा लेखेका व्यक्तिहरु थिए । त्यहाँ पिटाइ खाएका कारण म अस्वस्थ भएँ । कान पनि सुन्निएको थियो ।

म जेलबाट छुटेपछि पनि सांसदज्यूसँग पनि भेट भएको छ । तर, कहिल्यै तपाईंलाई अन्याय भयो भन्नुभएन – उजुरीकर्ता विरध्वज

पिट्नेमा सांसद पार्वत गुरुङ पनि हुनुहुन्थ्यो ?

– मान्छे बसभित्र छिर्नेवित्तिकै मलाई शंका लागेको थियो । मासले किन यसो गरेको भन्दा गाउँमा ज्यान मारेर भागेको छ… नछोड… नछोड… भने ।

तिनीहरु कसरी मकहाँ एक्कासी आइपुगे ? मैले कसरी थाहा पायौ भनेर सोध्दा ‘हामी जोरपाटीमा खाना खाँदै थियौं । उर्मिला मेडमले यति नम्बरको गाडीमा चढिरहेको छ भन्नुभएको थियो’ भन्ने जवाफ पाएँ । त्यसपछि ट्याक्सी चढेर आएका रहेछन् ।

कुट्ने केही केटाहरुलाई पनि पुलिसले समातेको रहेछ । पार्वत र उर्मिला आइपुगेपछि उहाँहरुलाई डीएसपीले छाडिदियो । तर, मचाहिँ हिरासतमै भएँ ।

कुटपिट गर्नेबेला चाहिँ धेरै मान्छे थिए । सबै यकिन छैन ।

तपाईले उजुरीचाहिँ कतिबेला दिनुभयो ?

– म अस्तव्यस्त भएकाले पुलिसले केएमसीमा पुर्‍याएको रहेछ । बिहान पत्रकारले किन कुटपिट गर्नेलाई छाडियो भन्दा आवश्यक परे हाजिरमा गराउँछु भन्थ्यो पुलिसले । मलाई चाहिँ दोलखा लगेर बयान गरायो । फेसबुकतिर जताततै मलाई पिटेको फोटो थियो ।

धेरै आफन्तले फोन गर्नुभयो । मलाई साह्रै चित्त दुख्यो अनि जेलबाट छुटेपछि उजुरी दिएँ ।

जेलबाट छुटेपछि सांसद वा उपाध्यक्षज्यूसँग केही कुरा भएन ?

उजुरी त दिएँ । तर, म निम्न वर्गको मान्छे हुँ । त्यसैले उजुरी दिएपछि चुप लागेर बसेको थिएँ । एकपटक खोई किन हो, अदालतबाट बोलाएको थियो । जान पनि पाइएन । अहिले पूर्जी जारी भएको छ रे ।

म जेलबाट छुटेपछि पनि सांसदज्यूसँग पनि भेट भएको छ । तर, कहिल्यै तपाईंलाई अन्याय भयो भन्नुभएन । दुःख लाग्यो भनेर भन्नुभएन । केही पनि सोध्नुभएन ।

उर्मिला म्यामसँग पनि धेरैपटक भेट भइसक्यो । मैले नमस्कार पनि गरिनँ, किनकि उहाँसँग चित्त दुखाइ थियो । म्यामले पनि एक वचन सोध्नुभएन ।

अहिले पार्टीका नेताहरु कसैले तपाईंलाई फोन गर्नुभएको छैन ?

– छैन ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?